११ स्थानमा चेकजाँच

राजविराज : सप्तरी प्रहरीले चाडपर्वका अवसरमा ११ स्थानमा चेकजाँच गरेको छ । चाडपर्वका बेला हातहतियार तथा विस्फोटक पदार्थ र गैरकानुनी समान भित्रन सक्ने खतरा रोक्न सुरक्षा सतर्कतामा अपनाइएको प्रहरीले जनाएको छ ।
मंगलबार डिएसपी गोविन्द अधिकारीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सप्तरीले जिल्लाका ११ स्थानमा एकैपटक छड्के चेकजाँच गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत भारदह, कञ्चनपुर, रूपनी, कल्याणपुर, कदमाहा तथा राजविराजका कुनौली मोड, रूपनी मोड, सखडामोड, राजदेवी मोड, गजेन्द्र चौक र राजविराज–भारदह सडकखण्डअन्तर्गत हनुमाननगर चोकमा एकैपटक सवारी चेकजाँच गरिएको प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
हातहतियार, विस्फोटक पदार्थ, गैरकानुनी मोटरसाइकललगायत अन्य विभिन्नखाले अवैधानिक सामान ओसारपसारलाई रोक्न तथा नियमविपरीत सञ्चालनमा रहेका सवारीसाधनलाई निरुत्साहित गर्न प्रहरीले चेकजाँच सुरु गरेको जनाइएको छ । ‘प्रहरी सक्रियता सर्वसाधारणको सुरक्षाका लागि हो,’ डिएसपी अधिकारीले भने, ‘हामी आफ्नो काम निरन्तर बढाउँछौँ ।’ आवस्यकता अनुसार जुनसुकै बेला र जुनसुकै स्थानमा प्रहरीको उपस्थिति र चेकजाँच हुनसक्ने उनको भनाइ छ । यसका साथै हरेक इलाका र चौकीबाट ‘लङरेन्ज गस्ती’ समेत सुरु गरिएको डिएसपी अधिकारीले जानकारी दिए । ‘एउटा टोलीले अर्को टोलीको एरियासम्म आफ्नो गस्तीलाई निरन्तरता दिनेछ,’ उनले भने, ‘भारतीय सिमानामा यस्तो गतिविधि थप कडाइ गरिनेछ ।’
यसैबीच, एकसाता अघि सरुवा भएर आएका एसपी सञ्जयसिंह बस्नेतको दबदबाका कारण सप्तरीमा प्रहरी सक्रियता बढेर गएको सर्वसाधारणले लख काटेका छन् । बाहिर मात्र नभई प्रहरी युनिटभित्र समेत एसपी बस्नेतको प्रभाव यतिखेर अत्यधिक बढेर गएको प्रहरीकै भनाइ छ । निजी गाडी, रिक्सा, साइकल तथा पैदल छड्केमा निस्कने गरेका एसपी बस्नेतले जुनसुकै बेला आफ्नो निगरानी गरिरहेको हुनसक्ने भन्दै प्रहरीभित्र खैलाबैला मच्चिएको छ । ‘सर्वसाधारणको सुरक्षार्थ खटिनुपर्ने समयमा एसपीको गोठालो गर्नुपरेको छ,’ एक असईले भने, ‘अलिकति पनि कमजोरी भेटिए फोटो खिचेर कारबाही सुरु भइहाल्छ ।’ (सौस)

प्रतिक्रिया