अनुमतिविना सञ्चालित विद्यालयलाई अन्तिम मौका

बाग्लुङ, १४ कात्तिक । अनुमतिविना म्याग्दीमा सञ्चालित विद्यालयलाई शिक्षा कार्यालय नियमको परिधिमा आउन अन्तिम मौका दिएको छ । अनुमतिविना अटेर गरी कक्षा सञ्चालन गरेका विद्यालयलाई गल्ती सच्याउन अन्तिम मौका दिइएको शिक्षा कार्यालयले जनाएको छ ।

गत शैक्षिक सत्रदेखि निजी विद्यालयको अनुगमनलाई तीव्रता दिएको कार्यालयले पटक–पटक लिखित तथा मौखिक चेतावनी दिँदासमेत केही विद्यालयले अटेर गरेकाले सच्चिन अन्तिम मौका दिइएको शिक्षा अधिकारी विष्णुनारायण श्रेष्ठले बताए ।
‘अनुमतिविना कक्षा सञ्चालन गर्दा विद्यार्थीको भविष्यमा गम्भीर असर पर्छ,’ उनले भने, ‘जबर्जस्ती नियम विपरित सञ्चालन गर्ने विद्यालयलाई कारबाहीको दायरामा ल्याइन्छ ।’ शिक्षा कार्यालयले दसैँ–तिहारलगत्तै विद्यालयको अनुगमन गरी अन्तिमपटक सचेत बनाउने जनाएको छ । अनुगमनपछि पनि अटेर गरे कारबाहीस्वरूप नियमविपरीत सञ्चालन भएका कक्षा बन्द गरिने उनले बताए । ‘यो निजी विद्यालयविरुद्ध भन्दा पनि कानुनी प्रक्रियामा ल्याउने प्रयास हो,’ उनले भने । कार्यालयले अभिभावकलाई अनुमतिविना सञ्चालित विद्यालयको पहिचान गरी त्यस्ता कक्षामा विद्यार्थी भर्ना नगर्न र विद्यालयलाई स्रोत केन्द्रमार्फत सम्बन्धित विद्यालयमा ध्यानाकर्षण पत्रसमेत पठाएको छ । विद्यालय अनुगमन क्रममा अनुमतिविनाका विद्यालय बन्द भएको तथा अनुमति लिएर बन्द भएका नाम किनेर सञ्चालन गरेको भए पनि अनुमतिभन्दा बढी कक्षा सञ्चालन गरेका केही विद्यालयले अटेर गरिरहेको शिक्षा कार्यालयले जनाएको छ ।
म्याग्दीमा सञ्चालित ३३ संस्थागत विद्यालयमा अनुमति प्राप्त नगरी कक्षा सञ्चालन भएका पाँच विद्यालय बन्द भइसकेका छन् । अनुमति भन्दा माथि कक्षा सञ्चालन गर्ने विद्यालयको तथ्यांक अद्यावधिक भइरहेको शिक्षा कार्यालयले जनाएको छ ।
अनुमतिविना कक्षा सञ्चालन गरी सामुदायिक विद्यालयबाट प्रवेशिका परीक्षामा सामेल गरिरहेकाले निरुत्साहित गर्ने रणनीतिसमेत कार्यालयले बनाइएको छ । यता, निजी विद्यालयको छाता संगठन प्याब्सन म्याग्दीले शिक्षा कार्यालय एकोहोरो निजी विद्यालयमाथि खनिएको आरोप लगाएको छ । ‘शिक्षा नीति नै गलत छ,’ प्याब्सन म्याग्दीका सचिव राजकुमार थापाले भने, ‘अनुमतिविना सञ्चालन गर्न दिने हाम्रो पनि नीति होइन तर नीति परिमार्जन गर्न जरुरी देखिएको छ ।’

प्रतिक्रिया