सिरहा : सुखचैनामा नेपालीको जग्गा मिचेर भारतीय पक्षले खनेको पोखरी २४ घन्टाभित्र पुरिदिन भारतीय पक्ष सहमत भएको छ ।
जग्गा मिचेर भारतीय पक्षले पोखरी खनेपछि सुखचैनाका चार किसानले सशस्त्र प्रहरी बेस क्याम्प माडरमा जानकारी गराएका थिए । त्यसपछि भएको छलफलमा पोखरी २४ घन्टाभित्र पुरिदिने सहमति भएको हो ।
दशगजा क्षेत्रमा रहेको पिलरभन्दा १५ फिट मिचेर सुखचैनास्थित भारतीय मधुवनी, कमलाबारी ग्राम पञ्चायत–३ मलाह टोलका बासिन्दाले पोखरी खनेका हुन् । माडरका सशस्त्र इन्स्पेक्टर मानबहादुर पाण्डेले भारतीय सीमा सशस्त्र बल सुरक्षा पोस्ट कमान्डर एचसी चन्दन सिंह, कमलाबारीका मुखिया भोला यादव र मलाह टोलका स्थानीयबासीसँग छलफल हुँदा खनेको पोखरी २४ घन्टाभित्र पुरिदिने सहमति भएको हो ।
नेपालतर्फका किसानले जग्गा मिचेको जानकारी गराएपछि भारतीय पक्षसँग छलफल गरिएको माडरका इन्स्पेक्टर पाण्डेको भनाइ छ । भारतीय पक्षले पोखरी खनेको जग्गा सुखचैनाका रामकृपाल यादव, रामसेवक यादव, धनिकलाल यादव, विजयलाल यादवको हो ।
भारतीय पक्षले दशगजा क्षेत्रमा रहेको २६५/२२ नम्बरको मझौला पिलर र २६५/२४ नम्बरको सानो पिलरदेखि १५ फिट नेपाली जग्गा मिचेर छ फिट गहिराइ, ५० फिट लम्बाइ र २५ फिट चौडाइ रहेको पोखरी खनेको नेपाली सशस्त्र प्रहरी बेसक्याम्प माडरले जनाएको छ ।
प्रतिक्रिया