कृष्ण पाउरोटीका “केक बूढा”

यात्रासंस्मरण क्षेत्रमा आफ्नो छुट्टै नाम र पहिचान बनाएका छन् घनश्याम राजकर्णिकारले । उनी स्वनामधन्य वरिष्ठ उद्योगपति पनि हुन् । तर, यो उपलब्धिमा उनलाई घमन्ड पटक्कै रहेनछ । बातचितको मेसो अघि सार्दै पेसाव्यवसायबारे मीठो व्यंग्य पो गर्न थाले– ‘कलेज पढाउँदैमा लेक्चररले आफ्नो नाम अगाडि प्रा. लेख्नु हुन्न । नाडी छामेर औषधि दिँदैमा कम्पाउन्डरले आफूलाई डा. ठान्नु हुन्न । त्यसै गरी कारखाना चलाइहाल्दैमा कसैलाई उद्योगपति भनिहाल्नुहुन्न ।’ थप विनम्रता देखाउँदै उनले आफ्नो परिचय प्रस्ट्याए– ‘म उद्योगपति होइन, उद्यमी हुँ ।’ पाँच छोरीका यी पिता कमलपोखरीस्थित आफ्नै निवासमा बसेर बुढेसकाल कटाउँदै छन् । पाँचमध्ये चार छोरीको कन्यादान गरिसके । दुई नाति, दुई नातिनी अनि धर्मपत्नीसहितको हराभरा परिवार साथमा छ । रोटी खान मन पराउने यी उद्यमीलाई सात दशकभन्दा जेठो उमेरसम्म आइपुग्दा कुनै पनि रोगले छुने आँट गरेको छैन रे † बिहान ५:३० मा उठेर २५ मिनेट प्रात: भ्रमण गर्छन् नियमित ।

बुढ्यौलीमा बसेर कलिलो उमेरका कुरा सम्झिँदा बडो रमाइलो मान्दै छन् उनी । ८–१० वर्षे उमेरको कुरा रहेछ, घनश्यामकी आमा आफ्नै तालमा भान्छामा खाना पकाउँदै थिइन् । उनले त्यही छेउमा एउटा पोको देखे । नजिक पुगेर हेर्दा त्यहाँभित्र सेतोसेतो र सानोसानो खै केको चोक्टा देखे । बालजिज्ञासा मेटाउन उनले आमालाई सोधे– ‘के हो आमा यो ?’ झर्कंदै आमाले भनिन्, ‘ल ल खेल्न जा, यहाँ बसेर बढी केरकार गर्ने हैन ।’ बालहठ यति सजिलै कहाँ मेटिन्थ्यो र † उनले भान्छामा प्रयोग हुने लट्ठी ल्याएर पोकोभित्रको बस्तुलाई गिजोलगाजल पारेछन् । अनि लट्ठी नाकनिर लगी सुघेछन् । नाकै फुट्ने गरी अनौठो दुर्गन्ध आएछ । फुच्चे घनश्यामकी आमालाई बाल मनोविज्ञान के थाहा ? बिचरीले प्वाक्क भनिन्– ‘ए… ए त्यो नचला, त्यो त साँढेको मासु हो ।’ उनी आफ्नै ताल र चालमा उफ्रँदै बाहिर निस्किए अनि नेवारी भाषामा चिच्याई–चिच्याई गीत गाउन थाले–
‘द्वहँया ला नवोगु ला
द्वहँया ला नवोगु ला’
(साँढेको मासु गनाउने मासु
साँढेको मासु गनाउने मासु)
भान्छामा त्यही सेतो चोक्टा बेलाबेलामा पाक्थ्यो । १५–१६ वर्षको उमेरमा बल्ल घनश्यामले चाल पाए, आमाले त फुच्चे घनश्यामलाई ढाँटिदिनुभएको पो रहेछ । खासमा त्यो गन्हाउने कुरा विशुद्ध शाकाहारी तरकारी तामा रहेछ ।
मेवा र केरा मन पराउने घनश्याम बिएमा पढ्दा कहिलेकाहिँ ज्योतिषीका अघि हात पसार्थे । अनि सोध्थे रे– मेरी पत्नी कस्ती होलिन् ? भाग्य कस्तो छ ? एक दिन हात देखाएर अलिकति अगाडि के बढेका थिए, दुबै हात नभएको मान्छेलाई देखे । तत्काल उनको भाग्यभरोसाको भम्र पानी भयो । उनले चुरो कुरा बुझेछन्– ‘ज्योतिषीले मेरो भाग्य हातमा हेर्छ, के भाग्य हातमा हुन्छ ? अब यो हात नहुने मान्छेको भाग्य नै छैन त ?’ त्यसपछि हात देखाएर समयको नाश कहिले गरेनन् अरे । फुर्सदको बेलामा गाना सुन्ने कर्णिकारलाई खानामा मुगको दालसँग भात अनि चम्सुर र रायोको साग मन पर्दाे रहेछ । साँझ–बिहान १–१ घण्टा बडो मनोयोगका साथ विपश्यना व्यसन पनि गर्दा रहेछन् । पूजाकोठामा दीप प्रज्वलन गरेर प्रार्थना गर्नु पनि दिनचर्याभित्र नै पर्दोरहेछ उनको । ब्राउन राइस, च्याँख्ला पनि खान मन पराउने उनी सोडा पाउडरलाई दूध बनाएर ओट्स खाजा खाने बताउँछन् । कुकिज चाहिँ उनको बेस्ट खाजा रहेछ । फर्सीको मुन्टा र बोडी उनका मन पर्ने तरकारी ।
एउटा अचम्मको पोको खोल्दै कृष्ण पाउरोटी भण्डारका अध्यक्ष घनश्याम आफ्नो सकस र बाध्यता सुनाउँदै भन्छन्– ‘वि.सं. २००५ सालमा स्थापना भएको यस संस्थाले ६–७ थरीका सानो–ठूलो पाउरोटी बनाउँछ । अनि १०–१२ थरीका केक र कुकिज पनि । सानैदेखि एक प्रकारको बास्नामा खाइखेली हुर्केका उनी नजिकै आएर साउतीझैँ खासखुस गर्न थाले । अनि सुटुक्क सुनाए, ‘मलाई आफूकहाँ बनेको कुकिजको बास्नाले अमन भइसक्यो, त्यसैले अरूकहाँ बनेको कुकिज खान्छु ।’ यति भनेर उनी मजाले हाँस्न थाले ।
औद्योगिक व्यवस्थापनमा उच्च प्रशिक्षणका लागि ३ वर्षे कोर्स पूरा गर्ने छात्रवृत्ति पाएपछि कुनै बेला उनी देश र परिवारलाई छोडीे झिटीगुन्टा बोकेर जर्मनी पुगेछन् । एक दिन उनी जर्मनीको सडकमा बिहानै लम्कँदै थिए, २५ मिनेट टाढाको अर्को सहरमा बस्ने नेपाली साथीकहाँ पुग्न । हतारमा लतार भने भँैm होस्टेलबाट हिड्दा लघुशंका गर्न बिर्सेछन् । जर्मनीको चिसोमा त्यसै पनि लघुशंका छिनछिनमा आउने । अब साथीको ठेगानाभन्दा पनि जरुरी त उनलाई ट्वाइलेटको ठेगाना सोध्नु भयो । हातको ब्रिफकेस भुइँमा राख्दै चारैतिर नजर दौडाएछन्, कतै भेटिएन ट्वाइलेट । बाटोमा हिँड्दै हरेक युवायुवतीलाई ट्वाइलेट, लेटरिन, बाथरुमबारे सोधेछन्, तर कसैले बताउन सकेनन् । यता पिसाबले च्यापेर उनलाई कालो–नीलो बनाइसक्यो । एक मनले त लागेछ– जे त होला पाइन्टमै छल्काएर हिडूँ कि क्या हो । भारी जरिवानाको भागी हुने डरले त्यो आँट नै आएन रे फेरि । अलि पर खुला ठाउँ देखेछन् । मानिसको ओहोरदोहोर पनि कम थियो । कति विलम्ब नगरी उनी त्यस सुनसान ठाउँमा फस्नर खोल्दै पुगे । त्यहाँ पनि पिसाब गर्ने स्थिति नदेखेपछि ब्रिफकेस भुइँमा राखी दुबै घुँडा टेक्दै दुवै हात टाउकोमाथि लगेर खुइय लामो सुस्केरा हालेछन् । अचानक ब्रिफकेस खोलेर हेर्न थाले । पुलिस आएर झन्झट गराउने हो कि भन्दै खोतलखातल गर्न थालेछ, कुनै बट्टा वा थैलो भेटिन्छ कि भनेर । राखेको भए पो भेटिन्थ्यो । एकछिनपछि खुरुक्क ब्रिफकेस बन्द गरेर जुरुक्क उठ्दै बाटो तताएछन् । गर्नुपर्ने काम घुँडा टेकेर सामान खोजेस्तो गरेकै बेला भ्याएछन् ।
फुर्सदको टिभीमा समाचार र नेपाली हास्य कार्यक्रम हेर्ने तथा बिबिसी र संस्कार च्यानलको प्रवचन मन पराउने ७२ वर्षीय घनश्याम नुन कम खान्छन्, चिल्लोबाट टाढै बस्छन् । सम्पूर्ण शरीरको ओबरहलिङ गराउन वर्षको एकपटक दिल्ली जाने गर्छन् । गर्मीमा हप्ताको एकपटक स्विमिङ पनि गर्छन् तर साधारण पुलमा होइन, पाँचतारे होटेलमा । पहिला उनी साधारण पुलमै नुहाउन जान्थे । त्यहाँ सबैको नजर उनीमाथि नै हुन्थ्यो । कुनै जवान युवा घनश्यामतिर देखाउँदै अर्को युवालाई थर्काउँथ्यो– ‘तँ ठिटो भएर डराउँछस्, ऊ हेर त त्यो बुढो कस्तो मज्जाले पौडी खेल्दै छ ।’ उनी त्यतातिर हेर्दै हेर्दैनथे । कसैले ‘त्यो बूढो कति बेर खेलेको’ पनि भन्थे तर उनी नसुनेझै गर्थे । केही भन्थे– ‘जे होस्, बूढाको स्टामिनाचाहिँ छ ।’ यो सुनेर उनी मख्ख पर्न भ्याएकै हुन्थेनन्, अर्काले प्याच्च कुरा काटिहाल्थ्यो– ‘कहाँ स्टामिना, बुढोले रोटेसन सिस्टमको पूरा पैसा असुल गरेको हो नि †’
यस खालका टिकाटिप्पणी सुनेपछि साधारणबाट तारे स्विमिङ पुलमा पुगे उनी । जाडो बेलामा आफूलाई बफ्याउने पनि गर्दा रहेछन्, स्टिमबाथ, सोनाबाथ र जकुजी गरेर । एक दिन पसलमा उनी एक्लै बसेका थिए । मोटरबाट एउटा मानिस आफूतर्फ आउन इसारा गर्दै करायो– ‘ए केक †’ यो सुनेर घनश्यामको ब्रह्माण्ड तात्यो । तैपनि विनम्र स्वभावका उनी तुरुन्तै सेलाएर दुबै हात जोडी नमस्कार गरे, अर्डर टिपे र पसलमा हाँस्दै आए । उनलाई ‘केक’ भन्ने मानिस अरू कोही होइन, साहित्यकारहरूको न्वारन गर्ने प्रसिद्ध साहित्यिक पुरेत हास्य व्यंग्यकार ‘भूतको भिनाजु’ (वासुदेव शर्मा लुइँटेल) पो रहेछन् ।
म पनि ‘केकज्यू’लाई अभिवादन गर्दै उनैले लेखेको विज्ञापनगीत मनमनै गुनगुनाउँदै बाहिरिन्छु–
‘भैगो साथी खेल्दिनँ अब
म त जान्छु खाजा खान्छु
पाउरोटी कृष्ण पाउरोटी…।

प्रतिक्रिया