कक्षा ६, ७ र ८ को पाठ्यक्रम फेरिने

काठमाडौं, १३ कात्तिक । सरकारले आगामी शैक्षिक सत्रदेखि कक्षा ६, ७ र ८ को पाठ्यक्रम परिवर्तन गर्ने भएको छ । नयाँ पाठ्यक्रम विद्यार्थीका लागि रोजगारीमूलक हुनेगरी तयार पारिएको छ ।

मन्त्रिपरिषद्बाट नयाँ पाठ्यक्रम स्वीकृत भइसकेकाले आगामी शैक्षिक सत्रबाटै लागू गरिने पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक बालकृष्ण रञ्जितले जानकारी गराए । विद्यार्थीलाई स्वावलम्बी र आर्थिक उपार्जनमा सक्षम बनाउन पेसा, व्यवसाय र प्रविधि विषय थप गरिएको छ । विद्यार्थीको आचरण सुधार्ने उद्देश्यले नैतिक शिक्षा पुन: लागू गरिने भएको छ ।
पाठ्यक्रम विकास केन्द्रले जनसंख्या तथा वातावरण विषयलाई टुक्रयाएर विज्ञान र सामाजिक विषयमा गाभेको छ । विज्ञानमा वातावरण मिसाएर विज्ञान तथा वातावरण र सामाजिकमा जनसंख्या मिसाएर सामाजिक तथा जनसंख्या बनाइएको हो ।विद्यार्थीले पेसा, व्यवसाय र प्रविधि तीनैवटा मिसाएर बनाएको विषयमा ५० पूर्णांक सैद्धान्तिक र ५० पूर्णांक प्रयोगात्मक पढ्नेछन् । नैतिक शिक्षा सय पूर्णांक र स्वास्थ्य तथा शारीरिक शिक्षा ५० पूर्णांकको हुनेछ  । कक्षा ६ देखि नै विद्यार्थीलाई व्यवसायतर्फ उन्मुख गर्न पेसा, व्यवसाय र प्रविधि विषय राखिएको केन्द्रका उपनिर्देशक रञ्जितले जानकारी गराए । अहिलेको शिक्षाले बेरोजगार मात्रै उत्पादन गरेकाले कक्षा ६ देखि नै व्यवसायउन्मुख विषय राखेको उनको भनाइ छ ।
विद्यार्थीले अब ६ कक्षादेखि नै विभिन्न रोजगारीमूलक पेसा, व्यवसाय र नयाँ–नयाँ प्रविधिबारे अध्ययन गर्नेछन् । पेसामा परम्परागत पेसा, व्यवसायमा स्थानीय स्तरमा सञ्चालित तरकारी खेती, फलफूल खेती, जडीबुटी आदि र प्रविधिमा इमेल, अनलाइन, विद्युतीय वाइरिङजस्ता कुरा समावेश गरिएको छ । व्यवसायअन्तर्गत व्यापार कसरी गर्ने भन्ने जानकारीका साथै स्थानीयस्तरमा सञ्चालित व्यवसायबारे सूचित गरिनेछ ।
‘अन्य देशको शिक्षाको तुलनामा हाम्रो कमजोर भएकाले व्यावसायिक शिक्षा लागू गर्न लागिएको हो,’ रञ्जितले भने, ‘विद्यालयदेखि यस्ता कुरा सिकेर गए माथिल्लो तहमा सजिलो पर्छ ।’
विद्यार्थी अनुशासनहीन हुन थालेकाले नैतिक शिक्षा राखिएको बताइएको छ । नैतिक शिक्षामा अनुशासन, मानवीय मूल्य–मान्यता, दायित्वजस्ता कुरा समावेश गरिएको छ । यस्तै, स्वास्थ्य तथा शारीरिक शिक्षामा तेस्रोलिंगीबारे पनि विद्यार्थीले पढ्नेछन् । दक्षिण एसियामै पहिलोपटक नेपालमा यस्तो विषयलाई विद्यालय पाठ्यक्रममा राखिएको हो । विद्यार्थीले यौन तथा योग शिक्षा पनि पाउनेछन् । विद्यार्थीलाई यौनिकतासम्बन्धी भ्रम र वास्तविकता जानकारी गराउन यौन विषयलाई पाठ्यक्रममा समावेश गरिएको हो । सरकारले यी विषय सञ्चालन गर्न अहिलेको शैक्षिक सत्रमा १८ जिल्लाका सय विद्यालयमा नमुना परीक्षण गरिसकेको छ ।
कक्षा ११ मा स्पोर्टस एन्ड साइन्स थप
यसैबीच, उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ र १२ मा स्पोर्टस एन्ड साइन्स विषय थप्न लागेको छ । खेलकुद क्षेत्रको विकासका लागि व्यावहारिक तथा सैद्धान्तिक विकास गर्न परिषद्ले पहिलोपटक स्पोर्टस एन्ड साइन्स विषय थप्न थालेको हो ।
विद्यार्थीले ५०/५० पूर्णांकको सैद्धान्तिक र प्रयोगात्मक विषय पढ्नेछन् । नेपाल र विश्वमा चलेका खेल पाठ्यक्रममा राखिएको पाठ्यक्रम शाखा प्रमुख रामचन्द्र पाण्डेले जानकारी दिए । पाठ्यक्रम भने अझै तयार भइसकेको छैन । परिषद्ले कवर्डहल भएको ठाउँमा मात्र उक्त विषयको अध्यापन अनुमति दिने भएको छ । ‘विद्यार्थीले खेलकुदको प्रयोगात्मक अभ्यास गर्नुपर्ने भएकाले कवर्डहल भएको ठाउँमा मात्र अनुमति दिइनेछ,’ उनले भने ।
नेपाल खेलकुद परिषद्ले ११ र १२ मा खेलकुदसम्बन्धी विषय थपको माग गरेको थियो । यसैगरी, परिषद्ले ५ विषयको पाठ्यक्रम परिमार्जन गरेको छ । परिषद्ले आमसञ्चार र पत्रकारिता, नेपाली, एकाउन्ट, अर्थशास्त्र र स्वास्थ्य तथा शारीरिक विषयको पाठ्यक्रम परिमार्जन गरेको हो ।

प्रतिक्रिया