काठमाडौं, १२ कात्तिक । विपक्षी दल कांग्रेस र एमालेले संविधानसभा पुनःस्थापना र वर्तमान सरकारलाई राष्ट्रिय स्वरुप दिने एमाओवादीको प्रस्तावलाई अस्वीकार गर्ने निर्णय गरेका छन् ।
ललितपुरस्थित एमालेका एक नेताको निवासमा आइतबार बसेको दुई दलका शीर्ष नेताहरुको बैठकले यथास्थितिमा सहमति हुन नसक्ने निर्णय गरेका हुन् । उनीहरुले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा कुनै नयाँ विषय नरहेको भन्दै बाबुराम भट्टराई नेतृत्वको सरकारको बहिरगमन माग गरे ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै एमाले अध्यक्ष झलनथ खनालले एमाओवादीको प्रस्तावमा नयाँ कुनै कुरा नरहेको भन्दै वर्तमान सरकार यथावत रहँदा सम्म निकास आउन नसक्ने बताए ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भट्टराई सरकारको बहिर्गमन आवश्यक रहेको बताए । उनले यथास्थितिमा संविधानसभा पुनःस्थापना र नयाँ निर्वाचन गराउन नसकिने बताए ।
उता, एमाओवादी उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपति डा.रामवरण यादवसँग भेट गरेका छन् ।
भेटमा डा.यादवले दलहरु मिलेर मुलुकलाई निकास दिनुपर्ने सुझाव उपप्रधानमन्त्री श्रेष्ठलाई दिए । श्रेष्ठका अनुसार डा.यादव सकारात्मक रहेको बताए ।
प्रतिक्रिया