राष्ट्रपतिद्वारा कोइराला र खनालसँग परामर्श

काठमाडौं, १२ कात्तिक । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा राष्ट्रपति डा.रामवरण यादवले कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालसँग अलग/अलग परामर्श गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार विहान भएको भेटबार्तामा राजनीतिक गतिरोध अन्त्यको प्रयासका बारेमा कुराकानी भएको हो । डा.यादवले दलहरुलाई सहमति गरेर चुलिदै आएको गतिरोधको अन्त्य गर्न पटक–पटक आग्रह गर्दै आएका छन् ।
भेटपछि सञ्चारकर्मीसँग कुरागर्दै कांग्रेस सभापति कोइरालाले नयाँ निर्वाचनमा जान राष्ट्रपतिले सुझाव दिएको बताए । ‘निकासका लागि नयाँ निर्वाचनमा जान राष्ट्रपतिले सुझाव दिनु भएको छ,’ उनले भने, ‘कांग्रेस पनि नयाँ निर्वाचनकै पक्षमा छ ।’ उनले संविधानसभा पुनःस्थापना गर्ने विषय धेरै ढिला भएको भन्दै निकास त्यसले निकास नदिने बताए ।
शनिबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग परामर्श गरेका कोइराला र खनालले सो विषयमा पनि डा.यादवलाई जानकारी गराएका छन् ।
अध्यक्ष दाहालले संविधानसभा पुनःस्थापना र नयाँ निर्वाचनका लागि वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिने विषयमा औपचारिक प्रस्ताव गरेका थिए । प्रस्तावको कोइरालाले अस्वीकार गरिसकेका छन् भने खनालले पार्टीमा छलफल चलाउने जनाएका छन् ।

प्रतिक्रिया