आज एकादशीका दिन पनि टीका लगाउने क्रम जारी

काठमाडौ, कार्तिक ९ । बडादसैँअन्तर्गत आज एकादशीको दिन राजधानीमा आफ्ना मान्यजन र आफन्तबाट टीका लगाउन र आशीर्वाद लिन हिँडिरहेका सर्वसाधारणको चहलपहल केही बढेको छ ।

सवारीसाधन पनि अन्य दिनको तुलनामा बढी चलेको देखिन्छ । कोजाग्रत पूर्णिमाको दिनसम्म टीका लगाउने प्रचलन रहेको छ । लामो समयसम्म भेटघाट नभएका आफन्तसम्म भेटघाटको ठूलो अवसर दसैँ भएको छ । यस पर्वले आपसी सद्भाव, विश्वास र भाइचारा अझ बढाउने गरेको छ । पहिले पहिले सरकारी बिदा नहुने गरेपनि पूर्णिमासम्म नै यस वर्ष इद र शनिबारको बिदा पनि परेकाले राजधानीबाट टीका लगाउन बाहिरिएकाहरूले  फर्कन हतार गर्नुपर्ने अवस्था छैन ।

निधारमा रातो टीका र जमरा लगाएका धेरैजसो यात्रु हिँडेर नै आफ्नो गन्तव्यतर्फ गइरहेका देखिन्छन् । राजधानी अहिले प्रदूषणमुक्त रहेको, धुवाँ र धुलोबाट सास्ती भोग्नु नपरेकाले पनि हिँड्न रमाइलो भएको बटुवाको भनाइ  छ ।

सार्वजनिक भाडाका सवारीसाधन कम चलेकाले ट्याक्सीले मनपरी भाडा असुल्ने गरेको गुनासो यात्रुको रहेको छ । नयाँ बानेश्वरबाट सामाखुसीसम्म जाँदा ट्याक्सीले रु पाँच सय पचाससम्म लिएको एक यात्रुले बताए । रासस

प्रतिक्रिया