पिता हारे, छोरा र छोरी च्याम्पियन

काठमाडौं : अमृत थापाले आºना गुरु एवं पिता हीराबहादुरलाई ३–१ ले हराउँदै ‘श्रेष्ठ कन्सट्रक्सन कप’ खुला स्क्वास प्रतियोगिताको पुरुष एकलको उपाधि शनिबार जितेका छन् । अमृतले राष्ट्रिय च्याम्पियन हीरालाई फाइनलमा १२–१०, ७–११, ११–७ र ११–९ ले पाखा लगाउँदै नयाँ च्याम्पियन बने । यससँगै सन् १९९४ देखि पुरुष एकलको कुनै पनि उपाधिमाथि एकछत्र राज गरेका हीराको यात्रामा पूर्णविराम लाग्यो । अमृतको दस वर्षे खेल करियरमा उनले हीराविरुद्ध खेलेको उक्त फाइनल नै पहिलो हो ।
हीराले फाइनलपछि प्रतिक्रिया व्यक्त गर्दै अमृतले प्रशिक्षणमा पनि राम्रो गरेको र फाइनलमा मेहनत गरेर खेलेकाले उपाधि जितेको बताए । ‘ट्रेनिङमा पनि अमृतले राम्रो गरेको थियो । आज पनि मिहिनेत गरेर खेल्यो,’ हीराले भने, ‘चेन्नाईकमा उसले प्रतियोगिताका साथै ट्रेनिङ पनि लिएकाले एक्सपोजर पनि पायो । अझ एक्सपोजर पाए उसले धेरै राम्रो गर्न सक्छ । उसमा (अमृत) ‘ट्रिक सट’ खेल्ने खुबी ज्यादै राम्रो छ ।’
उपाधि विजेता अमृतले जितमा खुसी व्यक्त गर्दै भने, ‘राम्रो खेलेकाले जित सम्भव भयो । चेन्नाईमा खेलेको प्रतियोगिता र ट्रेनिङले पनि फाइदा मिल्यो ।’ अमृतले ११ हजार तथा हीराले ७ हजार नगद पुरस्कार पाए । तेश्रो भएका प्रवीणसिंह कंसाकार र सुदीपबहादुर सिंहले ५/५ हजार नगद पुरस्कार हात पारे । महिला एकलको उपाधि पनि हीराकै छोरी कृष्णाले जितिन् । सातदोबाटोस्थित नेपाल स्क्वास एकेडेमी भवनमा भएको राउन्ड रोबिन लिगको अन्तिम खेलमा कृष्णाले क्षितिज गुरुङलाई ११–७, ११–० र ११–० ले सहजै पराजित गरिन् । शत प्रतिशत जित निकालेकी कृष्णाले १५ अंक जोडिन् । १२ अंकसाथ क्षितिज दोस्रो भइन् भने ९ अंक जोडेकी निलिमा मल्लले तेस्रो स्थानमा चित्त बुझाइन् । उक्त स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमश: ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्राप्त गरे ।
पुरुष एकलको प्लेटतर्फ छविलाल पाइजा पुन: पहिलो भए । फाइनलमा उनले दिलीपनरसिंह अधिकारीलाई ११–५, १२–१४, १२–१० र ११–९ ले पाखा लगाए । छविले ३ हजार तथा दिलीपले २ हजार नगद पुरस्कार जिते । किरण महर्जन र राजेन्द्र शाक्य संयुक्त रूपमा तेस्रो भए । उनीहरूले समान १–१ हजार नगद पुरस्कार पाए । विजेतालाई कलाकार मदनकृष्ण श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । विश्व स्क्वास दिवसको उपलक्ष्यमा नेपाल स्क्वास एन्ड र्‍याकेट्स संघद्वारा आयोजित पाँचदिने प्रतियोगिताको पुरुषमा २६ तथा महिलामा ६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । (सौस)

प्रतिक्रिया