मलेसियामा नेपाली कामदार आठ लाख पुगे

काठमाडौं, ५  कात्तिक । नेपाली कामदारको प्रमुख श्रमगन्तव्य मलेसियामा रोजगारीमा जानेको संख्या आठ लाख पुगेको छ । आर्थिक वर्ष ०५०/५१ देखि चालु आव ०६९/७० को भदौ मसान्त सम्म वैदेशिक रोजगारीका लागि मलेसिया जानेको संख्या सात लाख ९९ हजार आठ सय ९८ जना पुगेको हो ।
वैदेशिक रोजगार विभागअनुसार अहिले प्रतिवर्ष एक लाख नेपाली कामदार रोजगारीका लागि मलेसिया जाने गरेका छन् । चालु आवको दुई महिना अवधिमा २६ हजार ५८ जना कामदार रोजगारीका लागि मलेसिया गएका छन् ।
आव ०५०/५१ देखि ०६४/६५ सम्म मलेसिया सबैभन्दा बढी नेपाली कामदार जाने मुलुकको रूपमा रहेको थियो । तर, आव ०६५/०६६ देखि भने मलेसिया नेपाली कामदार जाने दोस्रो श्रमगन्तव्यको रूपमा आएको हो । सो आवदेखि कतारले आकर्षक सेवा–सुविधा र पारिश्रमिक दिन थालेको तथा रोजगारीका थप अवसर सिर्जना गरेपछि भने मलेसिया नेपालीका लागि दोस्रो श्रमगन्तव्य बनेको हो ।
विभागका अनुसार गत आव ०६८/६९ मा ९८ हजार तीन सय ६७ जना रोजगारीका लागि मलेसिया गएका छन् । यस्तै, आव ०६७/६८ मा एक लाख पाँच हजार नौ सय ६, आव ०६६/६७ मा एक लाख १३ हजार नौ सय ८२ र आव ०६५/६६ मा ३५ हजार ७० जना कामदार रोजगारीका लागि मलेसिया गएका छन् ।
साथै, आव ०५०/५१ देखि ०६२/६३ सम्म दुई लाख ९६ हजार ३२ जना रोजगारीका लागि मलेसिया गएको विभागले जनाएको छ । सो अवधिसम्म पनि मलेसियामा नेपाली कामदार कमै जाने गरेका भए पनि आव ०६६/६७ देखि भने यो संख्या अत्यधिक बढेको व्यवसायीको भनाइ छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव सुवर्ण श्रेष्ठ आव ०६६/६७ देखि मलेसियाले नेपाली कामदारको माग बढाएको र प्रतिवर्ष डेढ लाखको हाराहारिमा माग पठाउने गरेको बताउँछिन् । उनले पछिल्ला वर्ष मलेसिया नेपाली कामदारको दोस्रो श्रमगन्तव्य भए पनि अहिले सुरक्षा क्षेत्रमा समेत नयाँ अवसर सिर्जना गरेकाले आगामी वर्ष यो संख्या अझ बढी पुग्ने जनाइन् ।
मलेसियाले नेपाली कामदारलाई सुरक्षाक्षेत्रमा पुन: रोजगारी दिन थालेपछि विगतको भन्दा पारिश्रमिक बढी हुने र कामदार जाने संख्यासमेत बढ्ने श्रेष्ठको अनुमान छ । सुरक्षा क्षेत्रमा माग उच्च भएपछि मलेसियन सरकारले नेपाली कामदारलाई सो क्षेत्रमा रोजगारी दिन सुरु गरेको हो । तर, यसबाट नयाँ कामदारले भन्दा पनि त्यहाँ रहेका नेपालीले रोजगारीको अवसर पाउने छन् । यसअघि त्यहाँको सरकारले ल्याएको वैधता कार्यक्रमबाट पनि नेपाली कामदारले सुरक्षा क्षेत्रमा रोजगारी पाएका थिए ।
श्रम तथा रोजगार मन्त्रालयका अनुसार नेपाली कामदारको प्रमुख श्रमगन्तव्य मलेसियाले सुरक्षा क्षेत्रमा नेपाली कामदार लिने भएपछि नेपाली युवालाई थप रोजगारीको अवसर बढेको जनाएको छ । त्यहाँको सरकारले पनि योग्य सुरक्षा गार्ड अभाव भएपछि नेपालीलाई सो अवसर दिने निर्णयमा पुगेको हो । रोजगारदाताको मागअनुसार योग्य गार्डको अभाव झेल्दै आएपछि रोजगारदाताको आग्रहलाई ध्यानमा राखेर गत जुनदेखि सुरक्षाक्षेत्रमा नेपालबाटै कामदार ल्याउन अनुमति दिएको हो ।
योग्य गार्डको माग उच्च भएपछि आपूर्ति गर्न नसेर नेपाली कामदार लिने रोजगारदाताले सरकारलाई आग्रह गरेअनुसार अब केही समयमै सो माग पूरा हुनेमा उनीहरू विश्वस्त रहेको व्यवसायीको भनाइ छ ।
मलेसियाली सरकारले मागअनुसार कामदार आपूर्ति गर्न गत वर्ष आममाफी कार्यक्रमअन्तर्गत ल्याएको वैधता कार्यक्रममा अवैध रूपमा रहेका १० हजार बढी नेपालीलाई यस क्षेत्रमा रोजगारीको अनुमति दिएको जनाएको छ । अहिले मलेसियामा नयाँ होटेल, सुपर मार्केट, आवास गृहमा सुरक्षा गार्डको माग बढेको छ ।
मलेसियाले तत्काल करिब ६ हजार कामदार लिने जनाएको छ । रोजगारदाताका अनुसार अहिले पहिलो चरणमा करिब ६ हजार नेपालीले त्यो अवसर पाउने छन् भने यो क्षेत्रमा जाने कामदारले ५० हजारभन्दा बढी पारिश्रमिक लिने छन् । यसले पनि अब आगामी वर्षदेखि मलेसियाको माग र कामदार जाने संख्या बढ्ने छ ।
त्यसोत आव ०६३/६४ देखि आव ६८/०६९ को अवधिलाई हेर्ने हो भने पनि प्रतिवर्ष मलेसियाले नेपाली कामदारको माग बढाएको छ । सो अवधिमा मात्र चार लाख ७७ हजार नौ सय आठजना वैधानिक बाटो भएर रोजगारीका लागि मलेसिया गएका छन् ।

प्रतिक्रिया