बैंकमा रकम सकिएपछि सेवाग्राही निराश

जाजरकोट, ५ कात्तिक । नेपाल बैंक लिमिटेड शाखा कार्यालय जाजरकोटमा रकमको चरम अभाव भएको छ । रकम अभाव भएपछि सेवाग्राही रित्तै फर्कन बाध्य छन् । नेपाल राष्ट्र बैंकले आवश्यकताअनुसार रकम नपठाउँदा बैंकमा रकम अभाव भएको प्रबन्धक मनोजकुमार श्रेष्ठले बताए ।
दसँैका बेला बैंकमा रकम नहुँदा जिल्लाबासी मारमा परेका छन् । यो बेला बैंकमा २२ देखि २५ करोड रकम आवश्यक पर्ने जानकारी सम्बन्धित निकायमा गरे पनि राष्ट्र बंैकले २५ असोजमा १० करोड रकम मात्र पठाएको श्रेष्ठले जानकारी दिए ।
बैंकको पुरानो मौज्दात रकम सकिएको र राष्ट्र बैंकले समयमा पैसा नपठाउँदा समस्या भएको प्रबन्धक श्रेष्ठले बताए । ‘कोलेनिका हुँदै सम्बन्धित निकायमा हामीले समयमै लिखित खबर गरेका हौँ,’ प्रबन्धक श्रेष्ठले भने, ‘२५ करोड चाहिने बेला १० करोड मात्र आएको कारण समस्या सिर्जना भएको हो ।’
दसैँ अगावै तत्काल रकम पठाउन नसकिने राष्ट्र बैंक अधिकारीले बताएका छन् । हाल एउटा मात्र हेलिकोप्टर भएको र त्यही पनि अग्रिम ‘प्याक’ भएकाले जाजरकोटमा दसैँ अगावै रकम पठाउन नसिकने राष्ट्र बैंकको भनाइ उद्धृत गर्दै नेपाल बंैक लिमिटेड जाजरकोट शाखाले जनायो । योसँगै सवा करोड रुपियाँ भएको एउटा ‘सेफ’को ताला नखुलेपछि झनै समस्या थपिएको बंैक अधिकारले बताए । सेफको तालामा खिया लागेकाले ताला खोल्न नसकिएको तर प्रयास भने जारी रहेको बैंकले जनाएको छ । ताला खोलिएपश्चात सो रकमले केही राहत हुने भए पनि त्यो हात्तीका मुखमा जिरा सिवाय अरू नहुने स्वयं बैंकका कर्मचारी स्वीकार्छन् ।
जिल्लाको एक मात्र बैंकमा रकम नहुँदा सम्पूर्ण आर्थिक कारोबार प्रभावित भएको छ । बैंकमा रकम नभएपछि शिक्षक, कर्मचारीलगायत तलब, भत्तासमेत रोकिएको छ । दसैँ खर्चका लागि गाउँगाउँबाट आएका सर्वसाधारण बैंकमा रकम नपाउँदा अलपत्र परेका छन् । रकम नभएपछि बैंकले ‘मोटो’ चेक फिर्ता गर्ने गरेको छ ।
रकम अभावले गाविसले वितरण गर्ने सामाजिक सुरक्षाबापत रकम (भत्ता) समेत बाँड्न सकिएको छैन । सम्बन्धित गाविसले बैंकमा रकम नभएपछि निकासा दिन नसकेको भन्दै सेवाग्राही रित्तै फर्किएका छन् ।

प्रतिक्रिया