मूल्यवृद्धि अकासियो

काठमाडौ , ५  कात्तिक । चालु आर्थिक वर्षको दोस्रो महिनामा मूल्यवृद्धि ११ दशमलव २ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ मसान्तसम्मको देशको वर्तमान स्थितिले मूल्य बढेको देखाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ८.५ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा वार्षिक विन्दुगत आधारमा खाद्य तथा पेय पदार्थको मूल्य सूचकांकको वृद्धिदर १०.४ प्रतिशत रहेको छ भने गैरखाद्य तथा सेवा समूहको सूचकांकमा ११.९ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहको मूल्य सूचकांकमा क्रमश: १०.१ प्रतिशत र ७.२ प्रतिशतले वृद्धि भएको थियो ।
समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहमा पर्ने वस्तुमध्ये चिनी तथा मिठाइ उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांकको वृद्धिदर सबैभन्दा बढी अर्थात् २३.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस उपसमूहको मूल्य सूचकांकमा ५.७ प्रतिशतले वृद्धि भएको थियो । अघिल्लो वर्षको सोही अवधिमा १०.२ प्रतिशत र ११.४ प्रतिशतले वृद्धि भएको घिउ तथा तेल र सूर्तीजन्य पदार्थ उपसमूहको मूल्य सूचकांक समीक्षा अवधिमा क्रमश: २१.५ प्रतिशत र १७.९ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, समीक्षा अवधिमा दलहन र मदिराजन्यपदार्थ उपसमूहको विन्दुगत मूल्य सूचकांक क्रमश: १८.० प्रतिशत र १२.१ प्रतिशतले वृद्धि भएको छ ।
क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा ११.९ प्रतिशत, तराईमा ११.२ प्रतिशत र पहाडमा १०.५ प्रतिशतले मूल्य सूचकांकमा वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त क्षेत्रमा यस्तो मूल्य सूचकांकको वृद्धिदर क्रमश: ६.७ प्रतिशत, ८.४ प्रतिशत र ११.० प्रतिशत रहेको थियो ।
थोक मुद्रास्फीति
समीक्षा अवधिमा थोक मूल्य सूचकांकको वार्षिक विन्दुगत वृद्धिदर १०.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धिदर ७.१ प्रतिशत रहेको थियो । थोक मूल्यअन्तर्गत आयातीत वस्तु, कृषिजन्य वस्तु, तथा स्वदेशमा उत्पादित वस्तुको मूल्य सूचकांक क्रमश: १२.८ प्रतिशत, १०.० प्रतिशत र ६.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यी वस्तुको थोकमूल्य सूचकांक क्रमश: १०.५ प्रतिशत, ३.९ प्रतिशत र १२.३ प्रतिशतले वृद्धि भएको थियो ।
समीक्षा अवधिमा कृषिजन्य वस्तुमध्ये नगदेबालीको थोक मूल्य सूचकांकमा ३०.९ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सूचकांकमा १८.३ प्रतिशतले वृद्धि भएको थियो । यसैगरी अघिल्लो वर्षको सोही अवधिमा ७.६ प्रतिशतले ह्रास भएको दलहनको थोकमूल्य सूचकांक समीक्षा अवधिमा १८.९ प्रतिशतले वृद्धि भएको छ भने अघिल्लो वर्षको सोही अवधिमा २० प्रतिशतले वृद्धि भएको फलफूल तथा तरकारीको थोक मूल्य सूचकांकमा समीक्षा अवधिमा ७.९ प्रतिशतले ह्रास भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ८.४ प्रतिशतले ह्रास भएको मसलाको थोक मूल्य सूचकांकमा समीक्षा अवधिमा पुन: १२.५ प्रतिशतले ह्रास आएको छ ।
बजेट स्थिति
चालु आवको दुई महिनामा सरकारी बजेट १३ अर्ब ३५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी बजेट १० अर्ब ९० करोडले बचतमा थियो । समीक्षा अवधिमा स्रोत परिचालनको तुलनामा सरकारी खर्च न्यून रहेकोले सरकारी बजेट बचतमा रहेको हो । समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च २१.४ प्रतिशतले वृद्धि भई २७ अर्ब ९३ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी खर्च १६.३ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा फ्रिज खर्चमा भएको उल्लेख्य वृद्धिको कारण कुल सरकारी खर्चमा विस्तार आएको हो ।
वैदेशिक व्यापार
आर्थिक वर्ष ०६९/७० को दुई महिनामा कुल वस्तु निर्यात ११.९ प्रतिशतले वृद्धि भई १३ अर्ब ९७ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १७.८ प्रतिशतले वृद्धि भई १२ अर्ब ४८ करोड रुपियाँ रहेको थियो । मासिक रूपमा हेर्दा चालू आवको भदौ महिनामा कुल वस्तु निर्यात साउन महिनाको तुलनामा ६.० प्रतिशतले ह्रास आएको छ ।
कुल वस्तु निर्यातमध्ये भारततर्फको निर्यात अघिल्लो वर्षको १८.५ प्रतिशत वृद्धिको विपरीत समीक्षा अवधिमा ०.४ प्रतिशतले घटेको छ । धागो, जस्तापाता, कत्था, एमएस पाइप, तयारी पोसाकलगायत निर्यात घटेको कारण भारततर्फको निर्यात समीक्षा अवधिमा ह्रास आएको हो । त्यस्तै, अन्य मुलुकतर्फको निर्यात अघिल्लो वर्षको सोही अवधिको १६.६ प्रतिशतले बढेको तुलनामा समीक्षा अवधिमा ३४.० प्रतिशतले बढेको छ । अमेरिकी डलरमा अन्य मुलुकतर्फको वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको १९.७ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा ९.७ प्रतिशले वृद्धि भई अमेरिकी डलर ६ करोड ७१ लाख रुपियाँ पुगेको छ । भारततर्फ मुख्यतया जिआई पाइप, जुटका बोरा, पोलिस्टर धागो, लत्ताकपडा र तारको निर्यात बढेको छ भने अन्य मुलुकतर्फ विशेषगरी दाल, छाला र तयारी छालाका वस्तुको निर्यातमा वृद्धि भएको छ ।
शोधनान्तर स्थिति
समग्र शोधनान्तर स्थिति ३ अर्ब ८२ करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत १७ अर्ब ६ करोड रहेको थियो । समीक्षा अवधिमा चालु खाता घाटा ६५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो खाता दुई अर्ब २० करोडले बचतमा रहेको थियो । खासगरी वस्तु आयातमा भएको उल्लेख्य वृद्धि तथा खुद सेवा आय घटेकाले समीक्षा अवधिमा चालु खाता घाटामा रहन गएको हो । अमेरिकी डलरमा समीक्षा अवधिमा शोधनान्तर बचत चार करोड ३० लाख डलर र चालु खाता घाटा ७३ लाख डलर रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर बचत २३ करोड ४६ लाख डलर र चालु खाता बचत तीन करोड एक लाख डलर रहेको थियो ।
विदेशी विनिमय सञ्चिति
चालु आवको भदौ मसान्तमा कुल विदेशी विनिमय सञ्चिति ०६९ असार मसान्तको चार सय ३९ अर्ब ४६ करोडका तुलनामा १.३ प्रतिशतले वृद्धि भई चार सय ४५ अर्ब दुई करोड पुगेको छ । ०६८ भदौ मसान्तमा यस्तो सञ्चिति ०६८ असार मसान्तको तुलनामा १०.३ प्रतिशतले बढेर तीन सय अर्ब आठ करोड रुपियाँ रहेको थियो । कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ०६९ असार मसान्तको ३७५ अर्ब ५२ करोड रुपियाँविपरीत ०६९ भदौ मसान्तमा १.० प्रतिशतले ह्रास आई ३७१ अर्ब ८० करोड रहेको छ । अमेरिकी डलरमा भने बैंकिङ क्षेत्रको कुल सञ्चिति ०६९ असारदेखि ०६९ भदौ मसान्तसम्म २.९ प्रतिशतले वृद्धि भई अमेरिकी डलर पाँच अर्ब १० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सञ्चिति ३.५ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया