आमाले प्रतिभालाई सिरुकी बाख्री कथा पढेर सुनाउँदा रात निकै बितिसकेको थियो । आज बिजुलीबत्ती भएकाले आमालाई कथा पढ्न सजिलो भएको थियो । नत्र लोडसेडिङले पढ्न गाह्रो बनाउँथ्यो । रात परेपछि मैनबत्ती, लालटीन, टुकी वा कुपी बालेर बस्नुपथ्र्यो । बिजुली नभएका बेला प्रतिभालाई पनि पढ्न त्यति मन लाग्दैनथ्यो । बिजुली आएको मौकामा आमाले पढेर सुनाउनुभएको यो कथा लेख्ने कथाकार कल्पना प्रधान हुनुहुन्थ्यो ।
कथा सुनिसकेपछि प्रतिभाका आँखामा आँसु छचल्कियो । उनले आफ्नो बाख्रा मेमेलाई सम्झिन् । उनको मेमे सानो पाठोबाट ठूलो खसी हुँदै थियो । मेमे प्रतिभाको पछिपछि चौरमा चर्न जान्थ्यो । प्रतिभा पनि मेमेलाई खुबै माया गर्थिन् ।
सिरुकी बाख्री कथामा जस्तै आफ्नो मेमेलाई पनि कसैले काटेर खान्छ कि भन्ने उनलाई डर थियो । तर, कथामा सिरुकी आमा सौतेनी थिइन् । सौतेनी आमाले सिरुलाई सारै हेला गर्दथिन । खान दिन्नथिन् । बाख्राले सिरुलाई दूध खान दियो भन्ने रिसले सौतनी आमाले उनको बाख्रा काटेर खाएकी थिईन् । तर प्रतिभाकी आमा त सौतेनी हुनुहुन्नथ्यो । उनलाई निकै माया गर्नुहुन्थ्यो । यो कुराले प्रतिभालाई ढुक्क लाग्थ्यो । आमा मेमेलाई पनि निकै माया गर्नुहुन्थ्यो ।
प्रतिभा आमालाई भन्ने गर्दथिन्– ‘आमा, हाम्रो मेमेलाई नकाट्ने है ।’
आमा पनि ‘हुन्छ’ भनेर जवाफ दिनुहुन्थ्यो ।
दसैँ नजिक आउँदै थियो । प्रतिभाका बुबाले विदेशबाट पैसा पठाउने गर्नुहुन्थ्यो । तर, यसपालि उहाँ विदेशमा नै बिमारी भएर काम गर्न नसक्ने हुनुभएको थियो । त्यसैले पैसा पठाउन सक्नुभएन । पैसा नभएपछि घरमा दसैँका लागि कपडा र खानेकुरा किन्ने पैसा थिएन । केटाकेटीलाई कपडा र खानेकुरा केले किन्ने, आमालाई चिन्ता पर्न थाल्यो । आमाले प्रतिभालाई केही नभनी मेमेलाई बेचिदिनुभयो । प्रतिभालाई यो कुरा थाहा नै भएन ।
प्रतिभाले आमालाई सोधिन्– ‘आमा, हाम्रो मेमे खोइ ?’
आमाले प्रतिभालाई भन्नुभयो– ‘तिमीहरूको हजुरबुबाको घरमा छोडिदिएको छु ।’
यसरी आमाले प्रतिभालाई ढाँट्नुभयो ।
दसैँको रमझम सुरु भइसकेको थियो । प्रतिभालाई मेमेको वास्ता भएन । गाउँमा रोटेपिङ बनाइएको थियो । केटाकेटी रोटेपिङमा नै रमाउँथे । रोटेपिङ खेल्दाखेल्दै कसैले प्रतिभालाई सुनायो, ‘प्रतिभा, मेमेलाई त तिमीहरूको हजुरबुबाको घरमा काट्न ठीक पारिएको छ ।’ प्रतिभा यो सुनेर कुद्दैकुद्दै हजुरबुबाको घरमा आइन् । हजुरबुबाको आँगनमा मानिसहरू ‘खसी हरायो’ भन्दै खोज्दै थिए । प्रतिभाले थाहा पाइहालिन्– उनको मेमे बाँधेको ठाउँबाट फुस्केर भागेछ । प्रतिभालाई ठूलो चिन्ता पर्यो ।
‘अब मेमे कता गयो होला †’ उनी सोच्न थालिन् ।
पक्कै आफूले सधैँ चराउने ठाउँमा मेमे होला भन्ने उनलाई लाग्यो ।
उनी मेमेलाई खोज्दै स्कुलको पछाडिपट्टिको चौरमा गइन् । त्यहाँ मेमे चरिरहेको देखिन् । मेमेलाई देख्नेबित्तिकै अँगालो मारेर रोइन् । घर लगे काटिदिन्छन् भन्ने लागेपछि उनी मेमेलाई लिएर त्यही स्कुलको सानो कटारोमा बस्ने विचार गरिन् ।
मेमेलाई कटेरोमा बाँधिदिइन् । आफू पनि त्यही कटेरोको फलैचामा बसिन् । दिन बित्दै गयो । मनमा अनेकौँ कुरा खेलाउन थालिन् । घर लगे पक्कै हजुरबुवाले काटेर खानुहुन्छ भन्ने चिन्ताले सतायो । मेमे पनि भोकले कराउन थाल्यो । उनलाई घर जान पटक्क मन थिएन । सोच्दासोच्दै निदाउन पुगिन् ।
दिन बित्तै गयो । साँझ पर्न लाग्यो । घरमा सबै जना प्रतिभाको खोजी गर्न थाले । आमा गाउँका केही साथी लिएर प्रतिभालाई खोज्दै स्कुल आइपुग्नुभयो । प्रतिभा लुकेर बसेकी थिइन् । आमाले ‘प्रतिभा’ भनेर बोलाउनुभयो । प्रतिभा निदाएकी थिइन्, सुनिनन् ।
मान्छेको खैलाबैला सुनेर बाख्रा मेमे ‘म्याँ..म्याँ’ गर्दै कराउन थाल्यो । यो सुनेर सबै जना प्रतिभा र मेमे भएको ठाउँमा आइपुगे । मेमे जोडले कराउन थालेपछि प्रतिभा ब्युँझिइन् । प्रतिभा लुकेर बसेको कुरा आमाले थाहा पाइहाल्नुभो । छोरीको मेमेप्रतिको माया देखेर आमाको आँखाबाट आँसु भर्यो । प्रतिभालाई अँगालो मार्दै भनिन्– ‘छोरी, तिम्रो मेमेलाई काट्न दिन्नँ, हिँड घर जाऊँ ।’
अँध्यारो मुख लगाइरहेकी प्रतिभाले सोधिन्,– ‘पक्का हो आमा ?’ आमाले फेरि भन्नुभयो– ‘पक्का हो छोरी ।’ प्रतिभाले मेमेको डोरी खोलिदिइन् । आफूसँगै डोर्याउँदै हिँडिन् । मेमे र प्रतिभा दुवै रमाउँदै आमासँग घर फर्किए ।
प्रतिक्रिया