“स्कुल नजान पेट दुखेको बहाना बनाउँथेँ”

भाइबहिनीहरू, तिमीहरूले ‘रत्न पुस्तक भण्डार’ को नाम सुनेका छौ ? २००३ सालमा स्थापना भएर ०४ सालदेखि पुस्तक प्रकाशन गर्न थालेको यस संस्थाले तिमीहरूलाई काम लाग्ने रमाइला–रमाइला बालसाहित्यका पुस्तक पनि सयौँ निकालिसकेको छ । कति पुस्तक त तिमीहरूले पढिसक्यौ पनि होला । यस संस्थाका सात दाजुभाइमध्ये म गोविन्दप्रसाद श्रेष्ठलगायत सबै जना सक्रिय भएर प्रकाशन व्यवसायमा लागिरहेका छौँ । मेरो जन्म वि.सं. २०११ साल असोज त्रयोदशीका दिन काठमाडौंको मखन टोलमा भएको हो । नौ दाजुभाइमध्ये (एक सानैमा निधन) म काइँलो हुँ । मेरा बुबा रत्नप्रसाद श्रेष्ठ प्रसिद्ध पुस्तक व्यवसायी र आमा गृहिणी हुनुहुन्थ्यो । रत्न पुस्तकको नाम बुबाकै नामबाट राखिएको हो ।
मेरो बाल्यकाल भोटाहिटीमा बित्यो । म सानो हुँदा भोटाहिटीमा फाटफुट मोटर, मोटरसाइकल र साइकल कुद्थे । सामान ओसार्ने ठेलागाडा अलि बढी देखिन्थे । मानिसको भीडभाड र घुइँचो भए पनि अहिलको जस्तो पेलमपेल र ठेलमठेल हुँदैनथ्यो । घर वा टोलका बाआमा, हजुरबा र हजुरआमा झ्यालबाट फालेको पानी कसैका थाप्लोमा नपरोस् भनेर सचेत गराउँदै नेपालभाषाको बडो प्रचलित नामी र दामी शब्द ‘बि ना बी’ (छोड है छोड) को प्रयोग गर्थे । नेवारहरूको घरमा पूजासामग्री लिएर कसैले भर्‍याङ चढ्दा वा ओर्लिंदा छोइएला भनेर, चर्पीमा कोही चुकुलै नलगाई बसेको छ कि भनेर अथवा सहर सफा गर्ने पोडेले राँगाको लामो हड्डी (फोहर उठाउने साधन) ले बटुवालाई चोट लाग्ला भनेर ‘बि ना बी’ भनी अरूलाई सावधान तुल्याउँथे । तरकारी बेच्ने खर्पने वा ठेला ठेल्ने ठेलावालाले पनि बाटोबाटोमा जताततै ‘बि ना बी’ कराउँदै हिँडेको सुनिन्थ्यो । अहिले बढ्दो आधुनिकताका कारण यो शब्द सहरबजारबाट लोप भइसक्यो ।
सानोमा हामी टोले फुच्चाहरू गुच्चा खेल्दै आनन्द उठाउँथ्यौँ । कमलाक्षी, असन र त्यौडतिर अल्लारेझैँ घुमफिर गथ्र्यौं । साथीहरू होहल्ला र ठट्टा गर्दै चुरोटको बट्टा जम्मा गथ्र्यौं । ‘यी हेर्, तेरोभन्दा बढी मेरो भन्दै बट्टाको खाप देखाएर धाक लगाउँदै ढ्याक फालेर खोपी पनि खेल्थ्यौँ । कमलाक्षीकै एउटा सानो स्कुलमा सुकुलमाथि बसेर साउँ अक्षरको चुकुल खोल्दै मास्टरले पाटीमा खरीले कखरा लेख्न र चिन्न सिकाउनुभयो । ३ कक्षादेखि चाहिँ आनन्दकुटी स्कुलमा बोडर्स बसेर पढ्न थालेँ ।
आकासे नीलो सर्ट, नीलै पाइन्ट, खुट्टामा छालाको कालो जुत्ता ढल्काएर १ मिनेटको दूरीमा रहेको स्कुलमा कसैलाई नकुरी दुवै हात हल्लाउँदै ५ बजे बिहान उठेर पढ्न जान्थेँ । किताबकापी तथा अन्य सामाग्री बाकसजस्तो खोल्ने, बन्द गर्ने डेस्कमा राख्थ्यौँ । कक्षामा म सबैभन्दा फुच्चे बच्चा भएकाले मलाई साथी तथा गुरुबाले साह्रै माया गर्नुहुन्थ्यो । अरू विषयमा मध्यमखाले विद्यार्थी भए पनि संस्कृत विषयमा मेरो बक नै फुट्दैनथ्यो । कक्षामा गुरुले पढाएको देखेर तीन छक्क पर्दै बस्थेँ ।
स्वयम्भूको डाँडोमा रहेको आनन्दकुटीको होस्टेलमा साह्रै जाडो हुन्थ्यो । ७–८ मा पढ्दा एकपटक स्कुल जाने बेलामा एक्कासि जोडसँग पेट दुख्यो । म ओछ्यानमा छटपटाएको देखेर साथीहरू आत्तिएछन् र दौडिँदै गएर गुरुबालाई बताएछन् । गुरुबाले ढिलो नगरी स्कुलको कम्पाउन्डरलाई खटाउनुभयो । कम्पाउन्डरले पेटमा ठाउँठाउँमा थिचेर निरीक्षण गर्नुभयो । उहाँले थिचेको ठाउँमा झन् बेस्सरी दुख्यो भनेर पेट समाउँदै ‘आइया बाबा, मरे बाबा’ भन्दै झन् कराउन थालेँ । कम्पाउन्डरले राम्ररी जाँचेपछि भन्नुभयो– ‘डराउनुपर्दैन, ग्यास्टिक बढेको रहेछ ।’ त्यो कुरो सुनेपछि बल्ल मलाई ढुक्क भयो । औषधिको गोली दिँदै ‘यसलाई तातो पानीमा घोलेर तीन दिन तीन टाइम खानु, ग्यास्टिक सन्चो हुन्छ’ भनेर उहाँ जानुभयो । ढिला भएकाले साथीहरू पनि हतार–हतार स्कुल गए, म चाहिँ खाटमा ओढ्ने ओढेर लमतन्न परी ठाँटले मस्त निदाएँ । कहिलेकाहिँ बिहानै स्कुल जान अल्छी लागेका बेला यसरी नै पेट दुखेको बल्छी थाप्थेँ ।
हरेक शुक्रबार स्कुलका विद्यार्थीलाई रमाइलो र ज्ञानवद्र्धक डकुमेन्ट्री फिल्म देखाउने चलन पनि थियो । स्कुलले हामीलाई खाजा पनि काइदाको दिन्थ्यो । कहिले बिस्कुट, पाउरोटी र चिया अनि कहिले मेकरोनीका साथमा खीर हुन्थ्यो । चार जनाको पंक्तिमा कुर्सीमा बसाएर भान्छे दाइ खाजा बाँड्दै आउँथे । बिस्कुट र पाउरोटी भएको दिन कहिलेकाहिँ एक हातमा खाजा थापेर अर्को हात झट्ट मुनिबाट छिराएर दोहोरो खाजाको फाइदा लिँदै मजा पनि लुट्थ्यौं । मीनपचासको बिदामा घर आएका बेला कौसीमा चढेर म आकाशगंगातर्फ हेर्दै खुबै चंगा उठाउँथेँ । साइकल सिक्दा र पौडी खेल्दा ‘ओ हो, धेरैपटक लडेको र डुबेको छु ।’ तर सपनामा । सानो छँदा आमालाई घरायसी कुरा किनमेल गरेर सघाउथेँ । बा, काका तथा पसलका सहयोगीहरूलाई नजिकको पसलबाट र कहिले घरबाटै ठूलो थर्मसमा चिया र झोलामा खाजा ल्याएर ख्वाउथेँ । चियाको जुठो गिलास मलेर सफा पार्थें ।
त्यसताका म ४–५ मा पढ्थेँ । हामी होस्टेलको ‘करुणा भवन’ मा ४० जना साथी लहरै सुत्थ्यौँ । कोठाबाट ट्वाइलेट टाढा भएकाले राति ट्वाइलेट जान डर लाग्थ्यो । डरैडरमा ट्वाइलेटबाट दौडिँदै आएर ओछ्यानमा घुस्रिएजस्तो लाग्थ्यो । तर, एकैछिनमा झसंग र खङ्ग्रंग भएर उठ्थेँ किनभने म हुस्सुले ओछ्यानमै सुसु गरिसकेको हुन्थेँ । बिहान हाउसकिपर दाइ सबैको तन्ना मिलाउँदै आउँथे । मेरो ओछ्याननजिक आएर नाकमुख बिगार्दै मैले भिजाएको तन्ना झिकेर धुने टोकरीमा फाल्थे । ममाथि ठूलो करुणा राखेर धन्न उनले साथीहरूका अगाडि मेरो पोल खोलिदिएनन् ।
कट्टु लगाएर हिँड्ने उमेरमा मात्र होइन, पछि ढड्डु उमेरमा पनि म निकै घोत्लिन्थेँ र रेडियो कसरी बजेको होला भनेर खुबै गम्थेँ । त्यसबाट सुरिलो आवाज कसरी आएको होला ? फोनमा कसरी कुराकानी हुन्छ ? मान्छेहरूको यत्रो भीडमा एकको अनुहार अर्कोसँग किन नमिलेको होला ? यस्ता कुरा सोच्दा–सोच्दै म एकदमै कायल हुन्थेँ, तर जवाफ भने फुस्सा ।
ठूलो भएपछि दिएको खर्चबर्चले नपुग्ने † अनि उही त हो, यो विषयको ट्युसन पढ्नुपर्‍यो, त्यो विषयको ट्युसन पढ्नुपर्‍यो भनेर घरबाट पैसा पनि चप्काउथेँ । स्कुले जीवनमा म फुटबलमा नामी र दामी खेलाडी थिएँ । डिफेन्सबाट खेल्थेँ र गोल हुनै दिन्नथेँ । फुटबल खेल्दा लडेर लागेको चोटको दाग मेरो खुट्टाका विभिन्न भागमा अझै ताजै छ ।
कुकुरदेखि मलाई साथै डर लाग्ने, अहिले पनि उत्तिकै डर लाग्छ । एकपटक एकजना साथीको घरमा गएको थिएँ । साथी कोठाबाट के गर्न निस्केका बेला उसको पालुवा कुकुर मनजिक आयो । आत्तिएर मेरो हंसले ठाउँ छाड्यो । मुटु खलाँतीझै चल्न थाल्यो, तै पनि साहस गरेर डराई–डराई कुकुरलाई चेइचेइ गर्न र मुसार्न थालेँ । कुकुर सन्चो मानेर मसँग बसिराख्यो । म साथी कोठामा कतिखेर आउँछ भनेर टुलुटुलु हेर्न थालेँ । त्यही मौकामा त्यस पड्केले मेरो हातमा टोकेर टाप ठोक्यो । म जिल्ल र निल्ल †
आनन्दकुटी स्कुलबाट २०२७ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरेपछि मेरो स्कुले जीवन सदाका लागि समाप्त भयो ।
प्रस्तुति : अनुक्रमराज

प्रतिक्रिया