छाला र काँचो मासुका परिकारबाट बढी खतरा

 

काठमाडौं, ५  कात्तिक । राम्रो र व्यवस्थित तवरले मासु खाने हो भने स्वास्थ्यका दृष्टिले मासु पोषिलो खानेकुरामा पर्दछ । तर, मासु खाने पर्वका रूपमा लिइएको दसैँको समयमा अधिकांशले व्यवस्थित रूपमा मासु नखाँदा विभिन्न रोगको सिकार हुने गरेका छन् ।
चिकित्सकका अनुसार मासुमा प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पानीको मात्रा रहेको हुन्छ । तर, त्यही मासु अस्वस्थ र मासुलाई राम्ररी नपकाउँदा मासुमा हुने परजीवी नमर्ने र त्यस्तो मासु खाँदा मानिसको मस्तिष्कलगायत शरीरका अन्य भागमा हानि पुर्‍याई रोगी बनाउने बताउँछन् ।
दसैँको समयमा धेरैका घरमा मासुका मीठा परिकार तयार पार्ने गरिन्छ । मानिसले आ–आफ्ना रुचिअनुसार मासुलाई विभिन्न परिकार बनाएर खाने गर्छन् । तर, मासुका विभिन्न परिकारमध्ये छालासहितको मासु र काँचो मासुबाट बनाइने परिकार भने खान नहुने चिकित्सकले बताएका छन् । वीर अस्पतालका डा. ध्रुवप्रसाद सिंहका अनुसार छाला र काँचो मासुका परिकार रोगका घर हुन् । ‘छाला र काँचो मासुको परिकार खानु रोगलाई निम्त्याउनु हो,×’ डा. सिंहले भने, ‘छालामा फोहोरका सिस्ट हुने भएकाले रोग लाग्छ भने काँचो मासुमा पनि धेरै ब्याक्टेरिया हुन्छन् ।’
काठमाडौं महानगरपालिकाका जनस्वास्थ्य विभाग प्रमुख डा. बाबुराम गौतमका अनुसार अझै पनि मानिसमा छालासहितको मासु खानुपर्छ भन्ने भ्रम छ । तर वास्तवमा छालासहितको मासु खानु रोग पनि खानु हो । ‘छालासहितको मासु र काँचो मासु खाँदा मानिसलाई इपिलेप्सी अर्थात् छारेरोग तथा हिस्टेरिया र अन्य ब्याक्टेरियल रोग लाग्ने गर्छ,’ उनले भने, ‘काँचो मासुबाट बनाइने कचिला सबैभन्दा बढी खतरनाक हुन्छ । काँचो मासुमा भएका ब्याक्टेरियाका कारण पाचनप्रणाली, क्षयरोगदेखि दिमागसम्मका छारेरोग लाग्ने गर्छ ।’ उनका अनुसार हाम्रो समाजमा अझै पनि धर्म तथा संस्कृतिको नाममा काँचो मासु खाने चलन छ तर त्यही कारण मानिसलाई रोगी बनाइरहेको छ ।
दसैँमा धेरै मासु खाने प्रचलन रहे पनि आफ्नो स्वास्थ्यलाई ख्याल गरी मासु खान चिकित्सकले सुझाएका छन् । चिकित्सकका अनुसार अस्वस्थ्यकर मासुको सेवनबाट मात्र नभई भान्सामा बनाइने मासुका परिकारबाट पनि धेरै रोग लाग्न सक्दछ । डा. गौतमका अनुसार धेरै मात्रामा चिल्लो हालेर बनाइने मासुका कारण मुटुका रोग, उच्च रक्तचापका समस्या देखिन सक्छ भने धेरै दिन सुकाएर राखेको, सुकुटी बनाएको र धेरै तेल र मसला प्रयोग गरेको मासुले पनि स्वास्थ्यमा अनेकौँ समस्या उत्पन्न गराउँछ । उनले मासुलाई राम्रोसँग पकाएर खाने गरेमा तथा खानेकुरा किन्दा उपभोक्ता स्वयंले पनि केही सावधानी अपनाएमा ठूला बेफाइदाबाट जोगिन सकिने बताए ।
‘हामी आफैँ सचेत भएर व्यवस्थित बधशालाको मासु, बासी, सडेगलेको र झिँगा भन्केको माछामासु सेवन नगरी छालासहित मासुभन्दा छालारहित मासु सेवन गर्न सक्छौँ,’ डा. गौतम भन्छन्, ‘खरिद गरी ल्याएको माछामासु चिस्यान (फ्रिज) मा राखेर प्रयोग गर्दा धेरैजसो हानिकारक जीवाणुको वृद्धिमा कमी आउने हुँदा सम्भव भएसम्म १२ घन्टा र नभएमा कम्तीमा १ घन्टा चिस्यानमा राखेर मात्र पकाएर खाने बानी बसाल्ने हो भने केही हदसम्म बच्न सकिन्छ ।’ उनका अनुसार जनावर स्वस्थ भए पनि बध गरिसकेपछि सफा पानीले सफा नगर्ने, ढुवानी गराउने साधन उपयुक्त नहुने, मासु राख्ने ठाउँ सफा नहुने र मासुलाई धुलो र झिँगाबाट जोगाउन रातो कपडाले छोपेर नराख्ने हो भने मासु अशुद्ध हुने गर्छ । यस्तो मासुको प्रयोगबाट तात्कालिक असरअन्तर्गत झाडापखाला, हैजा, फुड पोइजनजस्ता असर देखा पर्छन् भने दीर्घकालीन रूपमा ज्यान जान सक्ने रोग लाग्छन् ।
दसैँलगत्तै स्वास्थ्य संस्थामा मासुजन्य रोगका कारण मानिसको भिड लाग्ने गरेको डा. सिंहले बताए । दसैँको हुलमुलमा बिरामी पशु तथा राम्रो सरसफाइको व्यवस्था नभएको पसलमा किनेको मासु खाने तथा राम्रोसँग नपकाइएको मासुका परिकार खाँदा रोगजन्य कीटाणुका कारण उपभोक्तालाई टाइफाइड, झाडापखाला तथा पेटका अन्य समस्या बढी देखिने गरेको उनको भनाइ छ । ‘अस्वस्थकर मासु तथा रोगी पशुको मासु सेवन गर्दा मानिसलाई जुनोटिक रोग बर्डºलु, स्वाइनºलु, एन्थ्राक्सलगायत रोग लाग्न सक्छ,’ उनले भने, ‘यसका साथै पशुपक्षीलाई विभिन्न रोग लाग्न सक्छन् र त्यस्ता रोगी पशुपक्षीको मासु सेवन गर्नाले मानिसलाई पनि त्यही रोग लाग्ने सम्भावना धेरै हुन्छ ।’ उनका अनुसार अस्वस्थ माछामासुको सेवनबाट क्षयरोग, आउँ, पेट फुल्ने, मिर्गाैलाको रोग, फुड पोइजनिङ समस्या पनि धेरैमा हुने गरेको छ ।
चिकित्सकका अनुसार अस्वस्थकर मासुको अत्यधिक प्रयोगले दीर्घकालीन रूपमा हुने अल्सर, उच्च रक्तचाप, मुटुरोग, तल्लो आन्द्राको रोग, मिर्गौलाले काम नगर्ने, क्यान्सरलगायत रोग देखा पर्ने गर्छ । प्रेसरकुकरमा उच्च तापमा राम्ररी पकाएको मासु मात्र खानयोग्य हुन्छ । प्रेसरकुकरको प्रयोगका कारण मासुबाट महामारी फैलिने सम्भावना निकै कम रहेको हुन्छ । यसका साथै दसैँमा मासु खानेले आफूमा भएको रोगको पनि ख्याल गर्नुपर्छ । मासुबाट एलर्जी भएका, युरिक एसिड भएका, ब्लडप्रेसर, मुटु रोग भएकाले मासु खाँदा ध्यान दिन आवश्यक छ ।

प्रतिक्रिया