बर्सादी सांझ र मदिराको मात

पिउनेहरू सबैलाई थाहा छ मदिराको स्वाद मीठो हुँदैन …†
मैले कहिल्यै पनि रक्सीको स्वाद मीठो मानेर पिइनँ । चाहे त्यो घरपालुवा कोदोको रक्सी होस् चाहे ह्विस्की, रम, भोड्का, जीन, ब्रान्डी या बियर नै किन नहोस् । तर, पिएपछिको मात या नशा भने मलाई असाध्यै मीठो लाग्छ ।
म दिनहुँ र नियमित रक्सी पिउने गर्दिनँ । पिउनका लागि मलाई पूर्वनिर्धारित समय चाहिन्छ । जतिबेला पायो त्यतिबेला वा जहाँ पायो त्यहीँ पिउन सक्दिनँ र मन पनि पर्दैन । बुधबार पिउनु छ भने सोमबारदेखि नै मुड बनाएर बस्न मन लाग्छ । बुधबार पिउन जाने ठाउँ, पिउने कुरा, पिउँदा साथ दिने साथीको चयन र पिउँदा गरिने कुराका विषय अगाडि नै छनोट गर्न मन लाग्छ । मलाई पिउनेबेला चर्को उज्यालो मनपर्दैन र निस्पट्ट अँध्यारो पनि मन पर्दैन । पिउने बेला हल्ला, झगडा, अर्काको कुरा काट्ने काम, तर्क–वितर्क आदि गर्न मन लाग्दैन ।
०४२ सालतिर म पोखराबाट लुम्ले कृषि केन्द्रमा काम गर्ने सिलसिलामा त्यहाँ पुगेथेँ । केन्द्रभित्र क्वार्टर खाली नभएकाले केही समय बाहिर कोठा लिएर बस्नु पर्‍यो । वैशाखको महिना हरेक साँझ प्राय: पानी परिरहन्थ्यो । म काँडेको एउटा होटलमा खाना खान्थेँ । अफिसबाट ४ बजे फर्केपछि भाउजु (होटल मालिक्नी) ले चिया दिनुहुन्थ्यो । मैले त्यो चिया पिइसकेर त्यही गिलासमा रक्सी थाप्थेँ । राती ९–१० बजेसम्म पिउने क्रम चलिरहन्थ्यो । त्यतिबेला काँडेमा बिजुलीको लाइन पुगेको थिएन । कहिले लालटिनको उज्यालो र कहिले मैनबत्तीको उज्यालोमा बस्थेँ । कसैसँग बोलाचल हुन्थेन । चुपचाप–चुपचाप एक्लैएक्लै रक्सी पिउँदै गीत लेख्थेँ म । मेरा अधिकांश गीतहरू पिउने बेला नै लेखिएका हुन् । एउटा बानी यस्तो पर्‍यो कि म करिब १८ महिना काँडेमा बस्दा नियमित वा भनाँै दिनहुँजसो पिउने गर्थें । नेपालकै सबैभन्दा बढी पानी पर्ने ठाउँ हो लुम्ले । वैशाख जेठमा पनि सिरक ओढेर सुत्नु पर्ने ठाउँ ।
पोखरामा यदाकदा गीत लेखे पनि काँडेको बसाइले मलाई गीत लेख्ने प्रेरणा दियो । त्यतिबेला काँडे लुम्लेलाई नेपालको दार्जिलिङ पनि भनिन्थ्यो । मलाई भेट्न र लुम्ले घुम्न भनेर पोखराका र काठमाडौंका कवि साथीहरू लुम्ले आइरहन्थे । पिउँदै उनीहरूको रचना सुन्नु र पिलाउँदै आफ्ना रचना सुनाउनुको आनन्द बेग्लै हुन्थ्यो ।
मेरा लागि मदिरा कहिल्यै मन बहलाउने विषय भएन । सिर्जनात्मक विषय बनेको छ मदिरा । मदिरा पिएपछि म केही न केही लेख्न बस्छु । गीत, गजल, कविता मुक्तक या लेख । केही नभए डायरी भए पनि लेख्न बस्छु । त्यसैले मलाई साथीसँग बसेर पिउनुभन्दा एक्लै बसेर पिउन आनन्द लाग्छ । साथीसँग बसेर पिउँदा गफ हुन्छ । राम्रा नराम्रा कुरा हुन्छन् ।
कतिले रक्सी पिउनका लागि मात्र पिउँछन् । कति मात्नका लागि पिउँछन्, कति पिर भुलाउने बाहनामा पिउँछन्, कति खुसी मनाउन पिउँछन् । कति झगडा गर्ने निहुँमा पिउँछन् र कति आदतको बसमा परेर पिउँछन् । म ती कुनै पनि कुराले पिउँदिन ।
लुम्लेबाट फेरि पोखरा फर्केपछि मेरो मदिरा पिउने बानीमा फरक व्यवहार आयो । रक्सी पिउनुभन्दा अगाडि सकभर नुहाएर, नभए हातमुख धोएर, सफा कपडा लगाएर, अगरबत्ती जलाएर, भगवान् तथा पुर्खाहरूको स्मरण गरेर पिउँदाको क्षण अत्यन्त आनन्ददायक लाग्यो र त्यसै गर्न थालेँ । यो मेरो बहुलठ्ठीपन होइन । पिउनेहरूले पनि यसरी नै पिइदिनुभयो भने रक्सीको वास्तविक स्वाद र वास्तविक आनन्द प्राप्त गर्नु हुनेछ ।
रक्सी अर्थात् मदिरा, मदिरा अर्थात मात, मात अर्थात नशा कहिल्यै पनि नराम्रो कुरा र अखाद्य वस्तु होइन । यो त परापूर्वकालदेखि अर्थात् पौराणिक कालदेखि नै प्रचलनमा आएको कुरा हो । मदिरा पिउनका लागि कलिलो, मलिलो र भरिलो मन बनाउनु पर्छ । अनिमात्र रक्सी रक्सीजस्तो मिठास बनेर आउँछ ।
मैले पिउन थालेको पनि ३४/३५ वर्ष भयो । यति लामो अवधिमा न मैले पिएर कसैसँग झगडा गरेँ, न मैले कसैलाई दुर्वाच्य बोलेँ, न मैले पिएर कसैलाई दुव्र्यवहार नै गरेँ । न त कसैलाई दु:ख, कष्ट वा पीडा दिएँ । पिउनेबेला जहिले पनि मायालु मन बनाएर पिएँ ।
मलाई मन पर्ने ब्रान्डेड मदिराभन्दा कोदोको रक्सी हो । बजारतिर शुद्ध कोदोको रक्सी नपाइने हुँदा म महिना/दुई महिनामा पोखरा नजिकका गाउँ धम्पुस, काँडे, ढिकुरपोखरी, मलाम, मुग्दी पुग्ने गर्छु र एक/दुई रात त्यतै बिताएर फर्किने गर्छु । कोदोको नपाउँदा बजारतिर ब्रान्डेड पनि चलिहाल्छ ।
धरैले मलाई भन्छन् कि मेरा गीत/गजलहरूमा सुरा र सुन्दरीका कुरा मात्र पाइन्छ । हो, म स्वीकार गर्छु । मात मेरा लागि प्यारो छ भने म मातका या सुराका गजल किन नलेखूँ ? मेरा रचनामा मेरी प्रेमिकाको प्रेरणा छ भने म सुन्दरीका गजल किन नलेखूँ ?
म मात पिएर देश दु:खेको कविता लेख्न सक्दिनँ । धेरैजसो कवि सिरक ओडेर जागेको कविता लेख्छन् । टन्न अघाएर भोकको कविता लेख्छन् । काठमाडौं बसेर जुम्लाको कविता लेख्छन् । मलाई त्यस्तो आडम्बरी सिर्जना गर्न मन लाग्दैन । त्यसैले म ढुक्कैसँग र मस्तसँग सुराको गजल लेख्छु र सुन्दरीका गीत लेख्छु ।
आज पनि मलाई जबजब साँझमा पानी पर्छ अनि पिउन मन लाग्छ र लेख्न मन लाग्छ । यो मेरो आदत बनेको छ । धेरैले रक्सीलाई नराम्रो कुरा हो भन्छन् । रक्सी नपिउनेहरूको परिभाषा हो यो । या रक्सी पिएको निहुँमा दिइने यातनाबाट प्रताडित हुनेहरूको अथ्र्याइ हो यो । मेरो अनुभावमा त वास्तविक रक्सी पिउनेहरूको मन कमलो हुन्छ र दयालु हुन्छ ।
जब रक्सीको नशा सिर्जनात्मक हुन जान्छ त्यतिबेला यसको अनुभूति र परिणाम प्रीतिकर बन्न जान्छ । हामीले पोखरामा कतिपय कार्यक्रमको आयोजना पिएकै बेला बनाएका थियौँ र सफलपूर्वक सञ्चालन पनि गरेका थियौँ ।
म मदिराको प्रवक्ता होइन । मदिरा सेवक मात्र हुँ । म मदिरालाई अत्यन्त प्रिय साथी सम्झन्छु र आजसम्म मलाई मदिराले पनि घनिष्ट साथी सम्झेको छ । बस्, हाम्रो मित्रताको सम्बन्ध यसरी नै कायम रहिरहोस् †

तिम्रो हातले पिलाउँदा पानी परोस् साँझ पख
आँगनमा पूर्णिमाको जुन झरोस् साँझपख ।

दियो बलोस् मझेरीको खोपाभित्र मधुर–मधुर
सुकन्याको अधरले मुस्कान छरोस् साँझपख ।

आँखै आँखा बोलिरहुन् भाषा बनोस् आकर्षणको
देब्रे छातीभित्र प्रीति भाव चलोस् साँझ पख ।

रित्तियो कि गिलास मेरो– सिद्धियो कि मीठो सितल
स्नीग्ध कञ्चन सुराहीले गिलास भरोस् साँझपख ।

आज सायद हामी दुईको मनको इच्छा पूरा हुन्छ
ल है आज इष्टदेवले भलो गरोस् साँझपख ।

प्रतिक्रिया