मलाई माफ देऊ

टाउको किचिसक्दा पनि लिरिक्–लिरिक् पुच्छर हल्लाइरहेको सर्पले झैँ समवेदना मरिसकेको काठजस्तो मन फेरि एकपल्ट झल्याँस्स भएर बौरियो, तर्सियो । कल्पनै नगरिएको, नसोचिएको, नचिताइएको समाचारले लास पनि बौरिँदोरहेछ क्यारे र लासै त भइसकेको छौँ नि हामी । हामीलाई दुख्न छोडेको, ऐया हुन छोडेको कत्ति भइसक्यो र सहनु भनेको पनि असहनुको अनुभूतिको विपर्यास हो । असह्यता नै नरहेपछिको सहनु भनेको शब्दकै मृत्यु भइसक्नु हो । कति देखियो देखियो मृत्यु, कति भोगियो भोगियो, आफ्नै देशमा, आफ्नै घर–आागनमा । आफ्नै घरभित्र भएका हत्या, बलात्कार र विभत्सताहरूले सुकेका आासु र अस्ताएको मन बोकेर नमरिरहेका हामीलाई अझै दुख्छ होला, ऐया हुन्छ होला, छटपटाहट आउँछ होला भन्ने नै लागेको थिएन मलाई ।
तर, जब एकाएक सञ्चार माध्यमहरूले आतंकपूर्ण रूपमा यो समाचार प्रसारण गरे कि वैदेशिक रोजगारीका लागि खाडी क्षेत्रमा लगिएका बाह्र नेपाली युवालाई झुक्याएर इराक छिराउँदै गर्दा त्यहाँका आतंककारीहरूले अपहरण गरी एघार दिनपछि निर्मम सामूहिक हत्या गरे । सुन्दासुन्दै आकाश घुम्यो, वरिपरिको वातावरण सुनसान भयो, हावा रोकियो, आँखामा उज्यालो हरायो, एकपल्ट नमिठो गरी मुटु गाँठो पर्‍यो । छि सधौ त यी कानहरू पनि सुनिनु राम्रो होइन रहेछ †
हिमाल हेरेर हाँस्थ्यौँ हामी । पहाडको चुचुरोमा उभिएर सुसेली माथ्र्याैं । अनिकालमा बाँडेर खान्थ्यौँ, सानो शोकमा सबै रून्थ्यौँ । अत्याचारविरूद्ध एक हुन्थ्यौँ, शत्रुहरू डराउँथे । दु:खलाई उपहार ठानेर पनि सहअस्तित्वको जीवन भोगेकै थियौँ । डाँडापाखाहरू हाम्रै थिए, भिरका ढुंगाहरू हाम्रा साथी थिए । दु:खले कहाँ आत्तिएका थियौँ र हामी । हाम्रै जडीबुटी, खोरिया र कपास हाम्रा थिए । सपनाहरू पनि धेरै ठूला–ठूला थिएनन् । सानै सुखलाई ठूलो प्राप्ति ठान्थ्यौँ हामी । तर, हामीलाई संसारतिर डोहोर्‍याएर लोभ्याउने दृश्यहरूले आँखामा उज्यालोको टक पारेर आफ्नै वरिपरि देख्न नसक्ने बनाउन थाले । हामीलाई भौतिक सुख र सुविधाको सपना देखाएर दासताको आधुनिक संगीत सुनाउन थाले । महत्त्वकांक्षाका आकर्षक विच्छी डसाइहरूले हामी घाइते हुादै गयौँ । आफ्नै आँखाअघि आफ्नै देश पनि परदेशजस्तो लाग्न थाल्यो । हामी विदेशीहरूका ब्वाासे सहानुभूतिले सम्मोहित भएकाहरू आत्मदाहको कहालीलाग्दो यात्रामा होमियौँ । हामीले हाम्रो परम्परा, संस्कृति र आदर्शमा युगको सुनौलो रंग पोत्ने सोचेनौँ । एउटा घाँसको डालो देखाएर डोहोरिएको पशुझैँ हामी डोहोरिँदै गयौँ, दुष्टहरूको घिनलाग्यो षड्यन्त्रहरूमा ।
गरिबी त हाम्रो पैतृक अनुभूति नै थियो, त्यसलाई जित्न हामीले यहीँका पाखा–भित्ता खन्नु पथ्र्याे । यहीँको ढुङ्गा–माटो खोस्रिनु पथ्र्याे । हामीले हाम्रो उचाइमा अग्लिन खोज्नु पथ्र्याे । हाम्रै शब्दहरूले गीत रच्नु पथ्र्याे । हामी किन आँखा टिप्ने उज्यालोतिर आकर्षित भयौा ? किन आफैँले टेकेको पाइलामाथि प्रेम गरेनौँ ? जब–जब म यस्ता समाचारहरू सुन्छु, त्यसै बाउँडिएर आउँछ मन । प्रत्येक दिन त्रिभुवन विमानस्थलबाट सयौँ नेपाली युवा आफ्नैी आमालाई ढोक्दै देशको आकासे सीमा काटिरहेछन् । प्रत्येक दिन बाकसमा बन्द हुँदै तिनका दुर्गन्धित लासहरू जेटबाट उत्रिरहेछन् । आफ्नै छोराहरूको यस चिहानघारीमा बसेर कति रोइरहनु हामीले ? कति ? जसका पाखुरीहरूको यहाँ खाँचो थियो, जसको पसिनाले यहाँको माटो सिँचिनु पथ्र्याे, तिनीहरूलाई गाड्दै र रुादै बस्नुपर्ने यो सुनसान धर्ती हामी किन रुङ्न बाध्य छौँ ? आफ्नैो घरबार, जग्गा–जमिन सबै बेचेर, धितो राखेर लक्का जवान छोरो, जसले अब विधवा आमाको, टुहुरा भाइबहिनीको र देशको सेवा गर्नु पथ्र्याे । त्यसलाई जेटविमान चढाएर विदेशी डलरको ऐठनलाई कसले सपना बनाइदियो हामीलाई ? जसले कस्तै दु:खमा पनि खाली पेट बसेन, खाली खुट्टा हिँडेन, स्कुल गयो, राम्रै लुगा लगायो जीवनमा । पढ्ने छोरो जसले कठिन श्रम पनि गरेन बाल्यकालमा । शारीरिक श्रम गर्न पटक्कै बानी नभएको त्यस छोरोलाई जेटविमान चढाएर प्रसन्न मन लिई डलरको सपना देख्ने हे… बाबुहरू, हे… आमाहरू र आज किन रुने छोराको मृत्युमा उसको लास हेरेर ? के त्यसले उहाँ तीस तला अग्लो घरको बाहिरी भित्तामा रंग दल्दै गरेको, सर्पै–सर्पको जंगलमा आरा चिर्दै गरेको, पचास डिग्रीभन्दा बढी तापक्रम भएको मरूभूमिमा भेडा हेर्दै गरेको तिमीले यहाँ बसेर देखेका थियौ ? सानैदेखि घरमा हुर्किएको बहरलाई पनि बेच्दा आँखामा आँसु आउँछ तर, आफ्नैो मुटुको टुक्रालाई अर्काको दास बनाउन रमाइ–रमाइ जेट चढाएर हाास्ने तिमी बाबुले आज उसको लास बुझ्दा किन रुनू ?
धिक्कार छ हामी नेपालीलाई, जो आफैँ सन्तान बेचेर सम्पन्नताको जीवन बाँच्न चहान्छौँ र धिक्कार छ हामीलाई, जसले आफ्नै मुटुमा किला ठोकेर पनि हाँस्न चहान्छौँ र अनि धिक्कार छ, त्यो देश र त्यस देशको सरकारलाई पनि जो आफ्नैो युवाहरू कौडीको भाउमा अर्काको देशको लागि कुल्ली बनाई बेच्दछ र त्यसको राजस्वबाट यहाँ रात्रिभोज गर्दछ । मासुका लागि एउटै ट्रकमा दर्जनौँ भैँसी खाँदेर काठमाडौं लगिरहेको दृश्य मेरो आँखा अघि नाच्दछ र नाच्छन् मेरा भाइहरू । यसै गरी कुनै दलालको बन्दी भएर कुनै कालकोठरीमा आफैँ पैसा तिरी दास भएको दृश्य ।
पढेथँे, धेरै अघि दक्षिण अफ्रिकाबाट गोराहरूले हप्सीहरूलाई बााधेर युरोपतिर ल्याई किनबेच गर्थे, दास बनाउाथे । तर, आज एक्काएसौँ शताब्दीको नेपालमा सरकारले नै छोरा बेच्ने दास बिक्री पसलहरूलाई स्वीकृति दिएर व्यापार गरिरहेछ र छोरीहरूलाई बम्बै पुर्‍याएर फर्कनेहरू, छोराहरूलाई इराकका कसाहीका हातमा सुम्पेकाहरू आज काठमाडौंमा महल बनाएर सिरान तलाबाट सडकमा भड्किएको दंगा हेरिरहेका छन् । के हामी कुनै ठूलो घरेलु व्यवसायीले पालेको बोइलर कुखुरा हौँ ? जो अन्डा पारिरहन्छौँ र मालिकले त्यसलाई बेचिरहन्छ ? के देश भनेको जनता बेच्ने पसल हो ? होइन भने अब सोच्नुपर्छ देशले, सोच्नुपर्छ सरकारले । देशभित्रै रोजगारीका संभावनाहरूको खोजी गर्नुपर्छ, विकल्पहरू उभ्याउनुपर्छ । काठमाडौंमा बसेर गोष्ठी र सेमिनारले देशको विकाराल समस्याको समाधान कहाँ हुन्छ ? अनन्त संभावनाहरू बोकेर हाासिरहेको धर्तीकै सबैभन्दा सम्पन्न प्राकृतिक यस देशलाई चिन्न नसक्नु हाम्रो अन्धता मात्र हो । यस नृशंस हत्याको समाचारले आतंकित हामीलाई आफ्नैो यथार्थताको धरातलबाट ब्युँझाउनु पर्छ अब । अब हामीले आफूलाई अडिने दह्रो किलोटुंगोको आड खोज्नुपर्छ । तर, आफ्नै देशभित्र असुरक्षित हामी विदेशमा सुरक्षित भएनौँ भनेर पनि किन रुनू ? देशभित्रै बाँच्न पाएको भए, आफ्नो सुतीखेती गरी खान पाएको भए, विदेश पनि किन जानु पथ्र्याे ।
हे मेरा भाइहरू, तिम्रा नाममा रुन आासु पनि आउँदैन मलाई, जब यही देशभित्र भइरहेका हत्या र बलात्कारका दृश्यहरू आँखाअघि नाच्छन् । माओवादीका नाममा मारिनेहरू र सुराकीका नाममा मारिनेहरू पनि त तिमीहरू नै हौ । अरे, यहाँ पनि घााटी रेटी–रेटी मार्ताेलले टाउकोमा बजारी–बजारी प्रत्येक दिन हत्या भइरहेकै त छ नि । यहाँ पनि लोग्नेलाई पाता फर्काई उसकै सामु स्वास्नीमाथि बलात्कार भइरहेकै त छ नि । यहाँ बसेकै भए पनि हे… र प्रकाश भाइ के तिमी सुरक्षित हुन्थ्यौ र ? हे मंगल भाइ के तिमी नरेटिने थियौ र ? हे ज्ञानेन्द्र, मनोजहरू । बुधन, ललन, संजयहरू । छोक, रमेश, जीतबहादुर र विष्णु । तिम्रा नाममा खस्नै लागेका आासुहरू आज त्यसै परेलीमै सुक्दछन् । हामी आत्मदाहको संघारमा छौँ भाइहरू र हामी देश बेच्ने प्रतिस्पर्धामा छौँ । हामीले देशलाई लिलाममा चढाइरहेछाँै । टाट पल्टिन लागेको भैँसीगोठजस्तो पारेका छौँ हामीले देशलाई । तिमी इराकमा पुगेर ती कसाहीका हातले किन सेरियौ थाहा छ तिमीहरूलाई ? किनभने तिमी कुनै पशुपालकका गोठको खसी थियौ । यदि तिमी देशको नागरिक थियौ भने तिम्रा निम्ति तिम्रो देश आज रुने थिएन, हिजो बोल्थ्यो । हिजो तिमीलाई मुक्ति दिन त्यहाँ पुग्थ्यो । एउटा–एउटा नागरिकले बनेका हुन्छन् अरू देशहरू । तर, हामी त देश बन्नै बााकीको भू–भागमा छौा, जहाा सरकार भन्ने एउटा गतिहीन ठग हुन्छ, जो प्रत्येक साँझ तिमीलाई बेचेको पैसाले किनिएका विदेशी रक्सी खान्छ र यदि यो देश हो भने, यहाँ सरकार छ भने, अझै अलिकति भरोसा छ भने देशलाई दास उत्पादक भूमिबाट मोक्ष गरिदेऊ, देशलाई नागरिकहरूको स्वाभिमानको धर्ती देऊ, हे राजनेताहरू र हे शासनसत्ताका सपना बेच्नेहरू, हामीलाई आफ्नै देशको नागरिक भई बााच्न देऊ, विदेशमा भुटिने तरकारी नबनाऊ र मैले भन्न जानिन भने हे ठूला मानिसहरू, मलाई माफ देऊ ।
(बाह्र नेपाली युवाको इराकमा हत्या भएको दिन लेखिएको ०६१ ।५। १५)

प्रतिक्रिया