तिमीलाई ‘क्रिस्टिना’ भनेर सम्बोधन गर्दै छु, किनभने यो नामले बोलाउँदा निकै खुसी हुन्थ्यौ र हाँस्दा तिम्रा सेता गालामा डिम्पल पर्थे । आज निकै समयपछि तिम्रो सम्झना गाढा भएर आएको छ । हामीले विचरण गरेका गल्ली र बाटामा विनालक्ष्य त्यसै भौँतारिएपछि तिमीलाई एउटा पत्र लेख्न बसेको छु । हिजो साँझ तिम्रो पत्र पाएदेखि म बेचैन भएको छु र त्यसको जवाफस्वरूप के लेख्ने भन्दै अल्मलिइरहेको छु ।
साँझ ढल्दै छ । कोठाको एउटा कुनामा बसेर म तिमीलाई यो पत्र लेखिरहेछु । काठमाडौंको व्यापक भागदौड र भीडबाट छुट्टिएर भर्खर कोठामा आइपुगेको छु । मेरो एल्बममा भएको तिम्रो त्यही एउटा पुरानो फोटो पनि अस्ति साँझ सल्केको सूर्य चुरोटले डढाएछ । तिम्रा काला चम्किला आँखा र हाँसिरहेको कलिलो ओठ बाँकी छन् फोटोमा, जो कहिलेकाहिँ मलाई एल्बमबाहिर निस्केर चिहाउँछन् । यी आँखा र ओठ साक्षी छन्, जसले मलाई पुराना ग्रिष्मकालीन चिसा साँझ र तिमी मुस्कुराएका भक्तपुरका पुराना गल्ली सम्झाउँछन् ।
अस्ताउँदो सूर्यमा तिमीलाई पहिलोपटक कलेजको दुबोले भरिएको चौरमा भेट्दा तिमी हाँसेकी मात्र थियौ । तिमीले हातमा बट्रेन्ड रसेलको बायोग्राफी लिएकी थियौ र पुन: मतर्फ एक मुस्कान फालेपछि पढ्न व्यस्त भयौ । त्यसै दिनदेखि तिम्रो र मेरो मित्रता गाढा हुन थालेको मलाई सम्झना छ । हुन त तिम्रो एक झलक नपाएको पनि आधा दशक पुग्नै लाग्यो । तर, तिमी रोएको, मुस्कुराएको साँझहरू सम्झन्छु । तिम्रो मुस्कान वर्षौंदेखि फोटोफ्रेममा भित्तामा टाँगिएकी मोनालिसाको जस्तै देखिन्थ्यो ।
वर्षौंपछि तिमीले हिजो पठाएको पत्रमा लेखेकी थियौ, ‘प्रिय साथी, एक वर्षे प्रणय लीलापछि मेरो ऊसँग विवाह भयो । ऊ अर्थात् एउटा सामान्य कलेजको लेक्चरर । हाम्रो विवाह भएको १० महिना पुग्नै लाग्यो । यसबीच हामीले कतिपटक ठूलै झगडा गर्याँै । र, म रातभरि रोइरहेँ । म उसलाई उसको स्थिर स्वभावका कारण प्रेम गर्छु र जब दुब्लो छातीमा समाहित हुन्छु, उसको न्यानो अनुभूति एकदमै मनपर्छ मलाई । र, आजकाल साँच्चै भन्ने हो भने मलाई छिट्टै आफ्नो वैवाहिक जीवनदेखि दिक्क लाग्न थालेको छ । पहिले म उसलाई जुन कारणले मनपराउँथे अहिले ती सबै वासना मरिसकेछन् । तिमीलाई थाहै छ, ‘म संवेदनशील नारी हुँ’ र मेरो भावना तथा सम्बन्धका कुरामा म अति भावुक छु । मलाई ‘रोमान्टिक’ क्षणको प्यास लाग्छ, जस्तो कि एउटी सानी बच्चीलाई चक्लेटको पोकोको रहर । तर, मेरो ऊ (श्रीमान्) ठीक उल्टो छ,, उसमा संवेदनशीलताको कमी छ, र हाम्रो सम्बन्धमा रोमान्टिक क्षण ल्याउने सीप उसमा छैन । त्यही चीजको अभावले म साह्रै द:ुखित छु ।
हप्ताअघिको साँझको कुरो, मैले उसलाई आफूले पारपाचुके गर्न खोजेको निर्णय सुनाउने अठोट गरेँ । ‘किन ?’…उसले सोध्यो । ‘म दिक्क भइसकेँ एउटै लयको जिन्दगीदेखि । फेरि, संसारमा सबै कुराको पछाडि केही कारण हुनैपर्छ भन्ने पनि त छैन,’ मेरो जवाफ थियो । त्यसपछि ऊ एक शब्द पनि नबोली कोठाबाट उठेर हिँड्यो र त्यस रात कोठामा आएन । तिमीलाई सम्झेँ र लोडसेडिङको कालो रातबीच ‘क्यान्डल लाइट’मा तिमीलाई यो पत्र लेख्दै छु । आफ्नो साँचो अवस्था पनि अभिव्यक्त गर्न नसक्ने मान्छेसँग मैले के आशा राख्नु ? तिमी मेरो पहिलो प्रेम हौ, तिमीलाई हेर्नु वा स्पर्श गर्नु मेरो लागि उच्च किसिमको आनन्द हो, ल त निद्रा पर्न लाग्यो, शुभरात्रि ।’
–तिम्रो पुरानो साथी,
क्रिस्टिना
प्रिय, तिम्रो यो पत्र पढेको साँझ मैले कफीहाउसमा सिग्रेट सल्काउँदै कफीको घुट्कोसँग केही घन्टा बिताएँ । मध्यरातमा कोठामा पुगेर पल्टिएँ । हामीबीच केही पत्र आदानप्रदान भएको तिमी सम्झन्छौ ? हामी कफीहाउसमा घन्टौँ बस्थ्यौँ । कहिलेकाहीँ तिमी घोप्टो परेर नमज्जाले रुन्थ्यौ । तिमी निकै किताब पढ्थ्यौ । भन्थ्यौ, ‘किताबको अध्ययनले मलाई नयाँ ऊर्जा प्रदान गर्छ ।’ मेक्सिम गोर्की, गाब्रियल गार्सिया मार्खेज, दोस्तोयब्स्की केही यस्ता नाम थिए, जसको पहिलो परिचय तिमीबाटै सुनेर मैले पाएको हुँ । हुन त, कसैको व्यक्तित्व बदल्नु भनेको साह्रै गाह्रो काम भनिन्छ । तिमी के चाहन्छौ, तिमीलाई नै थाहा छैन, तिमी आफ्ना लक्ष्य र सपनाबीच अल्मलिएकी छौ ।
बिस्तारै हामीलाई एकअर्काप्रति विश्वास घटेकोझैँ लागेको थियो । त्यस दिन तिम्रो मुड निकै अफ थियो । एक साँझ दरबारमार्गमा निकै भावुक हुँदै तिमीले मलाई एउटा प्रश्न सोधेकी थियौ, ‘मानिलेउ कुनै ठाडो भीरमा एउटा फूल फुलेको छ र मलाई त्यही फूल चाहियो । खास कुरा त के भने त्यो फूल टिप्नेबित्तिकै तिम्रो मृत्यु हुन्छ । के तिमी मेरा लागि त्यो फूल टिप्छौ ?’ मैले केही जवाफ दिन सकिनँ र त्यसरात तिमीलाई यस्तो बेहोराको पत्र लेखेको थिएँ, गिजिङमिजिङ अक्षरमा कालो मसिले । जुन पत्र एकप्रति मेरो थोत्रो डायरीमा अझै सुरक्षित छ–
‘प्रिय, तिम्रो लागि म त्यो फूल चुँडेर ल्याउन सक्दिनँ । र, नल्याउनुको कारण यस्तो छ । तिमीले डायरीमा कविता लेख्दा जाडो महिनामा तिम्रा हात कक्रक्क पर्छन् । र, त्यसपछि पातलो डायरीमाथि टाउको राखेर रुन थाल्छौ । त्यो समयका लागि मैले मेरा यी खिरिला औँला हिफाजत गरेर राख्नुपर्छ ताकि तिमीले भनेको कविता लेखिदिनँ सकूँ अनि तिम्रो आँसु पुछ्न सकूँ । तिम्रो आदत नै छ, सधैँ घरको साँचो छाडेर बजार हिँड्छौ । त्यति वेलाका लागि मैले आफ्ना खुट्टा जोगाएर राख्नुपर्छ ताकि दौडादौड गरेर पहिले घर पुगूँ र तिम्रा लागि मसँग भएको अर्को साँचोले ढोका खोल्न सकूँ ।
तिमी बढीजसो घरभित्रै बस्छौ । त्यसैले तिमीलाई ‘इन्फ्यानटाइल अउटिज्म’ हुन्छ भन्ने मलाई डर छ । त्यतिखेरका लागि मैले आफ्नो मुख जोगाएर राख्नुपर्छ ताकि तिमीलाई कथा र सुन्दर कविता सुनाउन सकूँ र तिमीलाई दिक्क नलागोस् । तिमी सधैँ ल्यापटपमा घुरेर बस्छौ, जसले दिनानुदिन तिम्रो देख्ने शक्तिको खति भइरहेको छ । तर, मैले बुढेसकालका लागि आफ्ना आँखा जोगाएर बचाएर राख्नुपर्छ ताकि बुढ्यौलीले पहेँलिएका तिम्रा लामा नङ काट्न सकूँ र सेता कपाल उखेल्न सकूँ । त्यसका साथै कुनै साँझ नदीकिनार घुम्न निस्कँदा तिम्रो हात समातेर तिमीलाई सहारा दिन सकूँ र तिमी घमाइलो दिनमा बलौटे किनारको आनन्द लिन सकूँ । त्यतिखेर म तिमीलाई आकाशको, फूलहरूको इन्द्रेणीको बयान गर्नेछु ।
तिम्रा हातखुट्टाका जोर्नी महिनैपिच्छे करकर दुखिरहन्छन् र तिमी रोइरहन्छौ । त्यसबखतका निम्ति मैले मेरो हातलाई तयार राख्नुपर्छ । ताकि दुखिरहने तिम्रो खुट्टा मालिस गरेर तिमीलाई सञ्चो पार्न सकूँ । तिमी प्राय: यात्रा गर्न मन पराउँछौ । तर, नयाँ पुगिरहने सहरमा पनि सधैँ बाटो भुल्छौ । मैले मेरो आँखाको जतन गर्नुपर्छ ताकि तिमीलाई बाटो देखाउन सकूँ ।
–उही तिम्रो…
यो पत्र पढिसिध्याएपछि केही वर्षअघि तिमीले भनेकी थियौ, ‘क्या वाहियात †’ त्यसपछि महिनौंसम्म हाम्रो भेट भएन । तिमी सपनाको पछि लागेर आफ्नै गाउँ धनकुटा फर्कियौ र मलाई बिर्सियौ, सायद तिमी अरू कसैको बलिष्ठ पाखुरामा बेरियौ वा फेरि कसैको प्रेमको लहरामा लहरियौ । एक साँझ तिमीले भनेकी थियौ, ‘म आफ्नो सपनाको दुनियाँमा मस्त छु, अब, मलाई भेट्ने प्रयास कहिल्यै नगर ।’ त्यस दिनदेखि तिमी अलप भयौ दुस्वप्नले भरिएको यस सहरबाट । र, मैले पनि खोज्ने प्रयास गरिनँ । हिजो साँझ तिम्रो पत्रले फ्ल्यासब्याकमा पुर्याएको मात्रै हो ।
प्रिय, जीवनको एक एपिसोड गुम्यो र आज पनि सम्झन्छु त्यो अनौठो गाढा अन्धकार हुनै लागेको झिसमिसे साँझ हामी एउटा क्याफेमा थियौँ । तिम्रो जन्मदिनको खुसीमा हामी दुई प्राणीले सँगै बियर खाएका थियौँ र तिमीलाई त्यो अन्धकारमा मैले एउटा गाढा गुलाफ दिएको थिएँ, के तिमीले सम्झियौ ? खासमा प्रेम कहिले पनि आदर्शको रूपमा उभिन सकेको छैन । बरु, निरस र झर्कोलाग्दो स्वरूपमा यो भेटिन्छ । प्रेम सम्बन्धको सतहमा देखापर्ने र प्रयोग हुने कुरामात्रै हुन्, गुलाफ र रोमान्टिक छणहरू । तिमीले आफूलाई यी प्रिन्टेड अक्षरमा खोज्नु । अँ साँची, यो पत्र पढेपछि तिमी अर्को पत्र नलेख्नू, त्यसले त घाउमात्रै बल्झाउँछ ।
–तिम्रो ‘वेल विसर’
दीपक
प्रतिक्रिया