अजारेन्कोलाई छैटौँ डब्लुटिए उपाधि


लिन्ज, २ कात्तिक । भिक्टोरिया अजारेन्कोले यस सत्रको छैटौँ डब्लुटिए उपाधि जितेकी छन् । मंगलबार राति भएको जलरल्ली लेडिज टेनिसको फाइनलमा उनले जुलिया जर्जेसलाई ६–३ र ६–४ ले पराजित गरिन् । पछिल्लो युएस ओपनको फाइनलमा पराजित भएयता उनले लगातार १३ खेलमा एक सेट पनि गुमाएकी छैनन् । टोकियोमा चोटका कारण क्वार्टरफाइनल खेल छाडेकी उनले त्यसपछि बेइजिङमा र अहिले लिन्जमा उपाधि जितिन् । ‘म मेरा सबै जित गनेर बस्दिन,’ खेलजीवनमा कुल १४औँ उपाधि जितेपछि उनले भनिन् । पहिलो सेटमा ५–३ स्कोर भएपछि जर्जेस यस प्रतियोगितामा बेलारुसकी अजारन्कोविरुद्ध एउटै सेटमा दुईभन्दा बढी गेम जित्ने पहिलो खेलाडी बनेकी थिइन् । ‘यो साता मैले आफू एकदमै उत्साहित हुनुका साथै शक्तिशाली भएको महसुस गरेकी छु,’ अजारेन्कोले सत्रको अन्तिम प्रतियोगिताको रूपमा इस्तानबुलमा खेल्नेछिन् ।
खेलको दोसं्रो सेटमा अजारेन्कोले उत्कृष्ट सुरुआत गरिन् । उनले ५–० को अग्रता लिइन् । त्यसपछि उनले लगातार चार गेम गुमाइन् । ‘त्यसपछि मैले केही गल्ती गरेँ साथै जुलिया एकदम बलियो भएर प्रस्तुत भइन्,’ अजारेन्कोले खेलपछि भनिन् । ५–० को अवस्थामा सर्भिस गरेकी अजारेन्को सर्भिस ब्रेक गरेपछि खेल ५–१ को अवस्थामा रहेको थियो । खेलजीवनमा दुई उपाधि जितेकी जर्जियस सत्र भने दुईपटक फाइनल पुगे पनि उपाधि जित्न असफल नै रहेकी छन् । उनी यसभन्दा अघि फेब्रुअरीमा दुबईमा फाइनल प्रवेश गरेकी थिइन् ।

प्रतिक्रिया