राष्ट्रपति गुहार्दै नयाँ मोर्चा शीतल निवासमा

काठमाडौं, २ कात्तिक । संघीय लोकतान्त्रिक मोर्चाले राष्ट्रपति डा.रामवरण यादवसँग भेटगरेर मुलुकलाई संवैधानिक र कानून बाटोमा ल्याउन आग्रह गरेको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटबार्तामा बाबुराम भट्टराई नेतृत्वको कामचलाउ सरकारले मुलुकलाई संवैधानिक संकट तर्फ लगेको भन्दै राष्ट्रपति डा.यादवको ध्यानाकर्षण गराएको मोर्चाका नेता शरत्सिंह भण्डारीले जानकारी दिए ।
उनले भने, ‘मुलुकलाई बाबुराम भट्टराई नेतृत्वको कामचलाउ सरकारका असंवैधानिक र अवैधानिक कार्यबाट जोगाउन आग्रह गरेका छौं ।’ जवाफमा राष्ट्रपति डा.यादवले मोर्चाका मागका बारेमा प्रमुख दलहरुसँग शुक्रबार हुने बैठकमा जानकारी गराउने आश्वासन दिएका छन् ।
तीन बुँदे ज्ञापन–पत्र समेत बुझाएको मोर्चाले संविधानसभा पुनःस्थापना गर्नु नहुने माग गरेको छ । उसले मुलुकको निकासका लागि वर्तमान सरकारलाई हटाएर सहमतीय सरकार मार्फत नयाँ निर्वाचनमा जानुपर्ने उल्लेख गरेको छ ।
‘प्रधानमन्त्री भट्टराईले संविधानसभा आफैले बिघटन गरेर फेरि संविधानसभा पुनःस्थापना माग गरेका छन्,’ भण्डारीले भने, ‘एमाओवादी पुनःस्थापनाको नाममा सरकारको आयु लम्बाउन लागेको छ ।’
भण्डरीका साथै मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, ताम्सालिङसहित पाँच पार्टी आबद्ध मोर्चाले राष्ट्रपतिलाई मोर्चा गठन र उद्देश्यका बारेमा जानकारी गराएको थियो ।

प्रतिक्रिया