अधिवक्ता डा. भीमार्जुन आचार्यलाई चिन्ने मान्छे थुप्रै छन् तर गीतकार अर्जुन मिलन छायामै छन् । खासमा यी दुवै व्यक्तित्व उनी आफैं हुन् । दिउँसो कानुनी बहसमा चर्किरहने आचार्य साँझबिहान शान्त बनेर हार्मोनियम थिचिरहेका हुन्छन्, गीत रचना गर्छन् । अधिवक्ता आचार्य गायक, संगीतकार तथा रचनाकार पनि हुन् । केही समयअघि ‘मौनताको सहर’ एल्बम सार्वजनिक गरेका उनी फेरि अर्को एल्बम ल्याउने तयारीमा छन् । आफूभित्रका यी दुई फरक व्यक्तित्वलाई कसरी व्यवस्थापन गरिरहेछन् त आचार्य ? उनकै शब्दमा :
स्कुल–कलेज पढ्दा साथीहरूबीच अटो साटासाट हुन्थ्यो । जहाँ म आफ्नो जीवनको लक्ष्य उल्लेख गर्थें– ‘अधिवक्ता र गायक’ । साथीहरू सोच्थे होलान्– ‘यो कसरी सम्भव छ ? विपरीतधु्रवजस्ता लाग्ने यी दुई लक्ष्यबीच कसरी मेल हुन सक्ला ?’ हुन पनि अधिवक्ता एउटा निरस पेसा । जहाँ भावना र हृदयको स्थान गौण हुन्छ । हुन्छ त केवल रुखा कानुनी धाराहरूको एकोहोरो रटान, जहाँ भावनात्मक बहकाइमा फसेर यताउता सोच्नु नियम उल्लंघन गर्नुबराबर हो । जे लेखिएको र देखिएको छ त्यसलाई त्योभन्दा बढी सोच्न र व्याख्या गर्न पाइने भावनात्मक स्वतन्त्रता त्यहाँ छैन ।
यता गायनको प्रकृति नै बिल्कुल फरक । जीवनलाई भावनामा चुर्लुम्म डुबाएर संगीत र मीठा शब्दले मन जित्ने काम । जहाँ भावनात्मक बहकाइ अधिक हुन्छ, स्रष्टालाई थोरबहुत पागलपन पनि देखाउने अलिखित अधिकार हुन्छ । त्यस्तै सिर्जनाले मानिसको मन छुन्छन्, हृदय भेदन गर्न सक्छन् । यता कानुनले त पागलपनलाई अयोग्यता मान्छ । पागललाई अपराध गर्नसमेत अयोग्य नागरिकको पहिचान दिन्छ । म भने यी दुवै फरक प्रवृत्तिलाई एकसाथ पेसा बनाएर दौडाउने योजनामा लागिपरेको छु ।
केही वर्षअघि मैले तय गरेका यी उद्देश्य अहिले मेरो यथार्थ बनेका छन् । संवैधानिक कानुनबारेमा गहिरो अध्ययन गरेर व्यावसायिक अधिवक्ताका रूपमा स्थापित भइसकेको छु । कानुनका ठेली पल्टाएर शब्दशब्दको व्याख्या गर्दै आफ्ना तर्क अदालतमा न्यायाधीशसमक्ष राख्दा कसैले मबारे सोच्दा हुन्– ‘कति निरश मान्छे ।’ हुन पनि हो, १५ वर्ष लामो अधिवक्ताको व्यावसायिक जीवनमा मैले कहिल्यै भावनामा डुबेर तर्क कमजोर बनाएको आभाष छैन । संविधान र कानुनका बारेमा व्याख्या गर्दै कुनै व्यक्तिलाई लागेको कानुनी दोषलाई तर्कसहित पुष्टि गर्नु वा ऊ निरपराधी भएको प्रस्ट्याउनु पेसा हो मेरो । अहिलेसम्म हजार बढी मुद्दामा आफ्ना तर्क पेस गरिसकेको छु । कालो कोट पहिरिएर कानुनी अधिकारीसमक्ष संविधान, कानुन अनि नियमावलीका बुँदा पल्टाएर आफ्नो पक्षलाई बलियो बनाउन कार्यालय समयभर मलाइ भ्याइनभ्याइ हुन्छ । यो चरित्रमा निरन्तर आफ्नै उद्देश्यअनुरूप बाँधिइरहेको छु । यसैमा दक्षतासमेत हासिल गरिसकेको छु । धेरैजसोले मलाई यही दक्षतासँग जोडेर चिन्ने गर्छन् ।
तर, मभित्रको अर्को पाटोलाई चाहिँ कमै मान्छेले चिनेका होलान् । ‘संवैधानिक कानुनविज्ञ भीमार्जुन आचार्य’ भन्दा निकै पर छ, मभित्रको अर्को व्यक्तित्व । जसले आफूलाई गीतकार, गायक अनि संगीतकार अर्जुन मिलन भन्छ । यसो हुनुमा गर्व पनि गर्छ । अदालतमा कालो कोट लगाएर तथ्य खोज्दै तर्क बलियो बनाउने भीमार्जुन आचार्यलाई गरिने सम्मानको मानकले त्यो अर्जुन मिलनलाई कहिल्यै भेट्न सक्दैन । बरु, भीमार्जुनले देखेको तथ्यले अर्जुन मिलनको भावनाबाट उर्लिएको तर्कलाई अवैधानिकको संज्ञा दिइरहेको हुन्छ । साँझको पहेँली घाम या बिहानीको लालीकिरणमा अर्जुन मिलन जीवनका भोगाइहरूलाई लाई कल्पिएर मीठो भावनामा डुबिरहेको हुन्छ । त्यही भावनाबाट रचना हुन्छ :
– सागर हो छाती मेरो, ढुङ्गा जस्तो मुटु होइन
हरपल सम्झिरहन्छु म त तिमी जस्तो निष्ठुर होइन …।
– आपैँmसँग बिरानोमा कहाँ रम्न जाउँ
जहिले पनि एक्लै हुन्छ मैले टेक्ने ठाउँ…..।
– मौनताको सहरमा हल्ला चलेको छ
हरदम किन किन जीवन साह्रै गलेको छ …..।
०००
दाङमा जन्मिएँ, एसएलसीसम्म उतै पढेँ । घरमा सांगीतिक वातावरण थिएन । हजुरबुबा नाच्ने/गाउने काममा फस्दा पढाइ बिग्रिन्छ भन्ने गर्नुहुन्थ्यो । तर, गाउँका मेरा समवयीहरू गीतसंगीत, साहित्यक कार्यक्रम रुचाउँथे । त्यही लहलहैमा मेरो आँतलाई पनि सांगीतिक रसले भिजायो । हामी स्कुले उमरदेखि नै गाउँमा विभिन्न सांगीतिक कार्यक्रम गथ्र्यौं । त्यही लहडमा मैले नौ कक्षामा पढ्दा साथीभाइबीच आफ्नो निकनेम राखेँ– ‘मिलन’ । अन्तत: भीमार्जुनबाट अर्जुन सापटी लिएर मिलनसँग जोडेँ । अनि सांगीतिक नाम बनाएँ– अर्जुन मिलन ।
बाल्यकलादेखि नै मलाई नारायण गोपालका गीत अति नै रुचिकर लाग्थे । कहिलेकाहिँ आफूलाई नारायणगोपाल बनेको मीठो परिकल्पनामा पनि डुबाउथेँ । त्यति बेला गायक वा कवि बन्न म्याचुअरिटी चाहिन्छ भन्थे साथीहरू । त्यसैले कति समय त दाह्री पनि काटिनँ, आफूलाई परिपक्व देखाउन । घाँटी बिग्रेला भनेर गलबन्दी बाँधेर हिँड्थेँ । कालीप्रसाद रिजाल, क्षेत्रप्रताप अधिकारी, दिनेश अधिकारीजस्ता गीतकारका गीत मलाई मन पर्थे । स्कुल पढ्दाता ‘आजभोलि त्यतै कतै हराएछ मेरो गाथा, मेलापात चौतारीमा घुम्थ्यो हाम्रो माया’ भन्ने गीत रचना गरेको थिएँ । अहिले लाग्छ– गीतका शब्द पनि समय–परिस्थितिअनुसार रचना हुने रहेछन् । अहिले देशभक्ति अनि जीवनदर्शन सम्बद्ध शब्दहरू मेरो छनोटमा पर्ने गरेका छन् ।
एसएलसीपछि दाङबाट नेपालगन्ज आएर कलेज पढ्न थालेँ । त्यही मेसोमा क्लासिकल म्युजिक पनि पढ्न थालेँ । जसरी कानुन अध्ययनलाई अगाडि बढाएँ, २०४६ सालयता गीतसंगीतको सिकाइ पनि त्यही रफ्तारमा अगाडि बढाएको छु । हरेक बिहान रियाज गर्ने क्रम अहिले पनि उसै गरी चलिरहन्छ । २०४६ सालमा भारतको लखनउबाट सेकेन्ड ह्यान्ड हार्मोनियम ल्याएर रियाज सुरु गरेको थिएँ । नेपालगन्जमै हामीले म्युजिक क्लब पनि खोलेका थियौँ, अध्यक्ष म नै थिएँ ।
२०४९ सालमा त्यही थोत्रो हार्मोनियम र दुई चारवटा किताब बोकेर काठमाडौं आएँ । यहाँ आएर कानुनको पढाइ त अगाडि बढाउनु थियो नै, संगीतकक्षा पनि छोडिन । सोही क्रममा अर्जुन मिलनको नामबाट रेडियो नेपालमा गीत पनि गाउने गरेको थिएँ । अहिलेसम्म डेढ–दुई सयवटा गीत रचना गरेँ । चालीस वटाभन्दा बढी गीतमा संगीत पनि दिइसकेको छु । एउटा एल्बम निकालेँ । अर्को एल्बम पनि छिट्टै बजारमा आउँदैछ । यही एल्बमा समेटिने ‘हिमालका कुरा गर्यौँ, गुँरासका कुरा गर्यौँ, देशभक्ति देखाउन सहिदका कुरा गर्यौँ’ बोलको गीतले यस वर्षको राप्ती म्युजिक अवार्ड पनि पाइसकेको छ । दिनेश अधिकारीले लेख्नुभएको यो गीतमा मेरै संगीत र स्वर छ ।
हुन त मान्छेले सोच्लान्– गायन भीमार्जुनको सामान्य सोख हो र त्यही पूरा गर्न लागिपरेको छ । तर, त्यस्तो होइन । म जसरी व्यावसायिक अधिवक्ता हँु, त्योभन्दा धेरै गायक वा संगीतकार पनि हुँ । यद्यपि, कानुनी पेसामा बढी लाग्नुपरेकाले स्थापित गायक भएर जम्न सकिनँ, त्यो आफ्नै ठाउँमा छ ।
०००
हरेक दिन नयाँ–नयाँ घटना मेरो कार्यालयमा आउँछन् । वकिल भएका कारण समाजका हरेक किसिमका समस्याको सुक्ष्म अध्ययन गरेर कानुनी अधिकारी प्रस्ट्याइदिने मेरो काम हुन्छ । तर, मैले लेखेका गीतमा यी घटना अटाउँदैनन् किनकि अदालती केस अध्ययन गर्दा मेरो कवि हृदय पग्लिँदैन । यति बेला पूरै कानुनी मानसिकतामा हुन्छु, तथ्यगत विचार मात्रै अगाडि ल्याउँछु । निर्दोष हुँदाहुँदै कानुनले सजाय दिइएका व्यक्तिको पीडा पनि पेसागत जीवनमा थुप्रै देखेको छु । तर, आफ्ना कवितामा त्यो घटनाको छाँट दिन सक्दिनँ ।
मेरो कवितालेखनको स्रोत आफ्नै जीवनको भोगाइ, अरूको भोगाइको अनुभूति र समकालीन समाजको चेतना हो । यद्यपि, पेशागत जीवनमा भोगिएका अनुभूतिलाई गीतमा ढालेँ भने पेसाको मर्यादालाई कवि हृदयले जित्छ भैँm लाग्छ । त्यसैले १०–५ को बहसमा भएका घटना त्यही व्यावसायिकतासँगै भुलिदिने कोसिस गर्छु । तैपनि, कहिलेकाँही घटनाका केही स्मृति सूक्ष्म मथिंगलबाट शब्दमा आइदिने रहेछन्, जस्तो मेरो एल्बम ‘मौनताको सहर’मा रहेको शीर्ष गजलको एउटा अन्तरा :
‘दोष लाग्नु एउटा कुरा, दोषी हुनु अर्कै कुरा
नखाएको विषले किन सपना ढलेको छ ?
जीवन पाउनु एउटा कुरा, यसलाई जिउनु अर्कै कुरा
अनायासै मन किन आज जलेको छ ?’
बिहान उठ्नासाथ मेरो मनले हार्मोनियम खोज्न थाल्छ । वर्षौंदेखि संगीतसाधनामा लाग्दा जिन्दगीले यसलाई बानी बनाइसकेछ । हरेक बिहान हार्मोनियमले मेरो स्वर परिमार्जन गर्छ । जीवनको मेडिटेसन यही गायनमा पाउँछु । दिउँसो कानुनको विज्ञ, फेरि साँझ गीतकार । मेरो जीवनको चक्र यसै गरी घुमिरहेछ । यिनै दुई पहिचान र चरित्र मभित्र वर्षौंदेखि स्थापित छन् । सामाजिक रूपमा स्थापित हुन कानुनले सघाएको छ । तर, ‘गायक’लाई ‘अधिवक्ता’ ओझेल पारिदिएको छ । म सन्तुष्टिचाहिँ बहसभन्दा गाउँदा वा गीत रचना गर्दा बढी पाउँछु । सायद साधनाले मान्छेलाई बढी सन्तुष्टि दिन्छ ।
प्रस्तुति : प्रतिमा सिलवाल
प्रतिक्रिया