“पैसा नहुनेलाई पनि उपचार दिन्छौं”

प्रभावकारी स्वास्थ्यनीतिको अभावमा स्वास्थ्यसेवा आमजनताको पहुँचबाहिर पुगेको देख्दा डा. भरत प्रधानलाई छटपटी भयो । सपना देख्थे– सबै जनताको पहुँचमा हुने गरी सस्तो र सुलभ स्वास्थ्यसेवा पुर्‍याउन पाए † आफूले हासिल गरेको ज्ञान र क्षमतालाई त्यही लक्ष्यमा प्रयोग गर्दै आएको उनी दाबी गर्छन् । र, अहिलेको काठमाडौं मोडल अस्पताल त्यही सपनाको उपज भएको सुनाउँछन् । निजी क्षेत्रको अग्रणी अस्पतालका रूपमा चिनिने काठमाडौं मोडलले ०६२/६३ को आन्दोलनमा निकै चर्चा कमाएको थियो । मुलुक परिवर्तनका आन्दोलनमा घाइते हुनेहरूलाई सेवा दिने मामिलामा मोडेल सधैँ चनाखो हुने गरेको प्रधान सुनाउँछन् । कुनै बेला मुलुकको स्वास्थ्यमन्त्रीको जिम्मेवारी पनि सम्हालेका भरत भन्छन्– ‘आफूले खोलेको अस्पताललाई अझ बढी सेवामुखी बनाउने योजनाबारे सोचिरहन्छु ।’ सानो आकारको मोडल अस्पताललाई अहिलेको विशाल संरचनासम्म पुर्‍याउने क्रममा कपाल सेताम्मे बनाइसके अस्पतालका यी कार्यकारी निर्देशकले । उनी सुनाउँदै छन्, स्वास्थ्य क्षेत्रमा बिताएका पलहरू :
विद्यार्थी अवस्थैदेखि मलाई समाज परिवर्तन गर्नुपर्छ भन्ने लाग्थ्यो । पढाइ सकाएपछि गाउँगाउँमा स्वास्थ्यशिविर सञ्चालन गर्ने अभियानमा लागेँ । सयौँ ठाउँमा शिविर चलाइयो । लाग्न थाल्यो– जनतालाई सेवा दिने नाउँमा दया पो देखाउँदै छौँ कि † अबुझ ग्रामीण जनतालाई आफूप्रति आश्रित पो गराइरहेका छाँै कि ? यसरी शिविरको भर पर्नु नपर्ने गरी जनतालाई सजिलै स्वास्थ्यसुविधा उपलब्ध हुने गरी उनीहरूकै सहभागितामा स्वास्थ्यचौकीको व्यवस्था गर्नुपर्ने आवश्यकता देखेँ ।
सुरुमा यो अभियानका लागि ललितपुरको टीकाथली उपयुक्त ठान्यौँ । उपस्वास्थ्यचौकीका रूपमा । स्थानीय युवा र महिलालाई तालिम दियौँ । समाजसेवीलाई समेटेर समन्वय समिति निर्माण गरी काम सुरु गरियो । त्यहाँ सबै स्थानीय समुदायले नै हेथ्र्यो । हप्तामा एक–दुई पटक डाक्टर गएर जाँच गरिन्थ्यो । त्यो कार्यक्रम निकै प्रभावकारी बन्यो ।
मोडल अस्पताल पनि हामीले सामुदायिक सेवाको सोचले नै सुरु गरेका हौँ । प्रारम्भमा यसको आकार सानो थियो । समाजका अन्य निजी स्वास्थ्यसंस्था भन्दा हाम्रो अस्पताल पृथक हुनुपर्छ भन्नेमा सचेत थियौँ । टीकाथलीमा जाँचेका बिरामी थप उपचारका लागि अरू स्वास्थ्यसंस्थामा जानु नपरोस्, हाम्रै कुनै एकाइले उनीहरूलाई समेट्नुपर्छ भन्ने मान्यता थियो । अन्यथा, हामी आफ्नो उद्देश्यप्रति जिम्मेवारीविहिन भएको ठहर्छ ।
अस्पताल सुरु गर्दा बागबजारमा एउटा कोठा भाडामा लियौँ, मासिक तिन–चार हजार तिर्ने गरी । मलाई साथ दिने डाक्टर सरोज धिताल थिए । सुरुमा ओपिडी मात्रै थियो, बिस्तारै चाप बढ्दै गयो । अवस्था हेरी बिरामी भर्ना पनि गर्न थालियो । पन्ध्र शय्याबाट सुरु गर्‍यौँ । मोडललाई यहाँसम्म पुर्‍याउनुअघि धेरै सोचविचार गरियो । विद्यार्थीजीवनमा छँदा मलाई अस्पताल होइन, स्वास्थ्यशिविरजस्ता जनताको प्रत्यक्ष संलग्नता रहने कार्यक्रम नै गर्नुपर्छ भन्ने लाग्थ्यो । स्वास्थ्यसंस्था व्यवसायी हुनु हुँदैन भन्ने मेरो मान्यता हो ।
अहिले पनि मोडललाई निजी अस्पतालका रूपमा मात्र हेरिन्छ । अरू निजी अस्पताल र मोडललाई हेर्ने दृष्टि एउटै हुनु हुँदैन । मोडेल नाफामुखी संस्था होइन । सरकारको दायित्वमा थप सहयोग पुर्‍याउनुपर्छ भनेर आएका हौँ । चाहेका भए हामीले पनि विदेशी सहयोगमा यसलाई नाफामुखी रूपमा विस्तार गर्न सक्थ्यौँ । हाम्रो नैतिकताले त्यस्तो गर्न दिँदैन, आत्मसम्मानको पनि कुरा आउँछ । गैरसरकारी स्तरमा भएको यो सेवाकारी अभियानलाई सरकारले उचित मूल्यांकन गर्नुपर्ने हो तर गर्न सकेको छैन ।
यही अभियानको अर्को प्रयासस्वरूप पुष्पलाल मेडिकल कलेज बनाउँदै छौँ । यसको निर्माणमा चाहिँ सरकारले वार्षिक सहयोग गर्दै छ । सेवा भन्दैमा सित्तैमा उपचार पाउनुपर्छ भन्नेमा चाहिँ हाम्रो आपत्ति छ । यो मानसिकताले मान्छेमा दास मनोवृत्ति विकास गराउँछ ।
मोडल अस्पताल बागबजारमा छ । प्राय: आन्दोलनका कार्यक्रम यसकै वरिपरि केन्द्रित हुन्छन् । त्यसैले पनि होला, आन्दोलनका घाइतेलाई हामीले सेवा दिन पाएको । विद्यार्थी हुँदै समाज परिवर्तनका लागि हामीले पनि केही योगदान गर्नुपर्छ भन्ने लाग्छ । समाज परिवर्तनका लागि समर्पित हुनेहरूलाई सेवा दिन पाउँदा आनन्द पनि लाग्छ । आन्दोलनमा मोडलले मलमपट्टी लगाएको मात्र होइन, आपैँm संस्थागत रूपमा हिँडेको पनि छ । कति संगठनसँगको हिसाब अझै बाँकी होला । सेवा पनि सकेजति गर्ने हो । धेरैले हाम्रो समस्यालाई बुझ्नुभएको छ । हामीले पनि समयअनुसारको समस्या बुझेका छौँ । आन्दोलनका घाइतेलाई दायाँबायाँ नहेरी उपचार गरेका छौँ । उनीहरूको मानसिकता र माहौलले पनि बोल्ने ठाउँ हुँदैन ।
परिवर्तनकामी बुद्धिजीवीहरूले हामीलाई विभिन्न रूपमा सहयोग गर्नुभएको छ । राजनीतिक रूपमा आउने दबाब पनि झेलेका छौँ । असहाय, दु:खीका लागि कोष छुट्याएर राखेका छौँ । बिरामीको परिवार हेरेरै थाहा हुन्छ, उसको आर्थिक अवस्था । गर्नुपर्ने दायित्व पूरा गरेका छौँ भन्ने लाग्छ । उपचार मात्र होइन, कत्तिलाई खल्तीमा पैसा हालिदिएर पनि पठाएका छौँ ।
चिकित्साविज्ञानमा दिनप्रतिदिन नयाँ कुरा आइरहेका हुन्छन् । विज्ञान र प्रविधिमा भइरहेको विकास आमनेपालीको सोच र चेतनाभन्दा माथि छ । त्यो सुविधा नेपालीले पनि उपयोग गर्न पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । आर्थिक विपन्नताका कारण थुप्रै नेपाली सुविधाबाट वञ्चित हुनुपरेकोमा दु:ख लाग्छ । राजनीतिक चेतनाले पनि यसमा प्रभाव पारेको हुन्छ । मैले बुझेको माक्र्सवादले मलाई यहाँसम्म ल्याएजस्तो लाग्छ । समयक्रममा माक्र्सवादलाई जसरी पुनव्र्याख्या गर्नुपथ्र्यो, त्यो भएजस्तो लाग्दैन । रुढीवादी, कठमुल्लावादी कुरा गरेजस्तै लाग्छ, एक्काइसौं शताब्दीमा पुग्दा पनि समयअनुसार चल्न नसक्नु ।
रोग लागेर बिरामी भएपछि मात्र स्वास्थ्यप्रति सचेत हुने वा अस्पताल पुग्ने भन्ने होइन । मान्छेलाई प्रभाव पार्न सक्ने स्वास्थ्यसम्बद्ध हरेक कुरामा पूर्वसचेतना र जानकारी लिन खोज्ने मानसिकताको विकास गर्नुपर्छ । फेरि डाक्टरको काम बिरामीलाई अवस्था हेरेर खानु यो नखानु भनेर पठाउने मात्र हो भन्ने भएको छ । डाक्टरले भनेको बिरामीले मान्छन् पनि । तर, डाक्टरले के बिरामी कस्तो परिवारको हो, कुन आर्थिक स्तरको हो, चेतनास्तर कस्तो छ भन्ने बुझ्ने प्रयास गर्दैनन् । बिरामीको समग्रतालाई बुझेर सुझाव–सल्लाह दिनुपर्छ भन्ने लाग्छ । यो पनि उपचारविधि नै हो ।
बिरामी परेर अस्पताल आउनुपर्दा हीनताबोध गर्ने मानसिकता छ नेपालीमा, आफ्नो स्वास्थ्यावस्था पत्ता लगाउन जाँदै छु भन्ने जाँगर बोकेर होइन । अब, डाक्टरले के–के जाँच गर भन्ने हुन्, घन्टौँ कुर्नुपर्छ, के झन्झट आइलाग्यो भन्ने मानसिकता छ । स्वास्थ्यलाई पनि अधिकारका रूपमा बुझून् भन्ने हामी चाहन्छौँ । हुन त, अहिले चलेको स्वास्थ्यसेवाको शैली पनि उस्तै छ । परम्परावादी स्वास्थ्यसेवाले कुनै व्यक्ति र समाजमा परिवर्तन आउँदैन । त्यसैले, अरू स्वास्थ्यसंस्था भन्दा फरक गर्ने प्रयासमा हामी छौँ ।
बिरामीको उपचार गर्दैमा समाज, देश परिवर्तन हुँदैन । स्वास्थ्यको माध्यमबाट चेतना फैलाउनुपर्छ, उनीहरूलाई सामाजिक, राजनीतिक रूपमा बलियो बनाउनुपर्छ । ताकि स्वास्थ्यसेवा पाउनु आफ्नो अधिकार हो भन्ने मानसिकता विकास होस् । ताकि यससम्बन्धी व्यवस्था गर्न सरकारलाई दबाब परोस् ।
मोडललाई व्यापारिक दृष्टिबाट सधैँ मुक्त राख्ने प्रयास गरेका छौँ । पैसा नपाएसम्म कसैको उपचारै सुरु नगर्ने काम हामी गर्दैनौँ । गरिब भएकै कारण मोडल अस्पतालमा कसैको ज्यान जानु हुँदैन भन्नेमा सचेत छौँ । आकस्मिक कक्षमा कुनै बिरामीले मेरो कोही छैन, पैसा पनि छैन भन्छ भने उसलाई त्यत्तिकै फर्काउन गरेका छैनौँ ।
त्यसो त आफू स्वास्थ्यमन्त्री हुँदा मैले जे गरौँला भन्ने योजना बनाएको थिएँ, त्यो हुन सकेन । नेपालको अस्थिर सरकार काम गर्न चाहनेलाई मुख्य समस्या हो । सरकारमा जानेले सबैभन्दा पहिला अनुकूलको मान्छेलाई सरुवा–बढुवा गर्नतिर लाग्छ । मैले आफ्नो क्षेत्रमा त्यो परम्परालाई रोकेँ । देखिने गरी केही भएन, सुधारका केही प्रयास गर्दागर्दै बाहिर निस्कनुपर्‍यो ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया