तिमीविना बाँच्न सक्दिनँ

कलाकारितामा सक्रिय भएको ५ वर्षजति भयो । कसैले कलाकारितामा लागेर के पाइस् भन्छ भने मेरो उत्तर एउटै हुन्छ– ‘दर्शक–श्रोताको माया ममता ।’ यो माया पाउनु कलाकारको ठूलो सपना पनि हो । जति पैसा कमाए पनि दर्शकश्रोताको मायाबिना सांगीतिक क्षेत्रमा टिक्न गाह्रै पर्छ कुनै पनि कलाकारलाई ।
पछिल्लो समय फेसबुकले फ्यानहरूसँग नजिकिन सजिलो बनाइदिएको छ । मेरो फेसबुक प्रोफाइलमा ४ देखि ५ हजारको हाराहारीमा फ्रेन्ड छन् । तिनमा केटासाथी बढी छन् । भर्खरै खोलेको फ्यान पेजमा पनि ३–४ सयको हाराहारिमा फ्रेन्ड छन् । फ्यानहरू मसँग च्याट गर्न खोजिरहेका हुन्छन् । तर, अध्ययन र संगीतको व्यस्तताले यतातिर खासै समय दिन पाइरहेको हुन्नँ । मेरो कुनै नयाँ गीत सुन्ने फ्यानहरूले फेसबुकमा बधाई सन्देश पठाइरहेका हुन्छन् । हौसला बढाइदिन्छन् । उनीहरू मेरो गीत र स्वरको खुबै प्रशंसा गर्छन् । चाडपर्वमा पनि शुभकामना सन्देश प्रशस्तै आउँछन् । अहिले दसैँका सन्देशहरूको ओइरो लागेको छ । ती सन्देशले मलाई सांगीतिक क्षेत्रमा केही सफलता प्राप्त गरेजस्तो अनुभूति हुन्छ ।
त्यतो त फ्यानहरू पनि सबै एकै खालका हुँदैनन् । फरकफरक मानसिकताका भेटिन्छन् । कुनै विषयलाई लिएर अति डिस्टर्ब गर्ने स्वभावका पनि हुन्छन् कोहीकोही । कुराकानी गर्‍यो, सिधै फोन नम्बर मागिहाल्छन् । फोन नम्बर दिनु अलि संवेदनशील विषय हो, नदिँदा कतिपय केटा फ्यान रिसाइरहेका हुन्छन् । धनदौलत, सम्पत्तिको रबाफ देखाउँदै प्रेमप्रस्ताव गर्ने पनि कम हुँदैनन् । अनि कसैले चाहिँ नराम्रा उद्देश्य राखेर म्यासेज पठाउँछन् । त्यस्तालाई फ्रेन्ड लिस्टबाटै हटाइदिन्छु । कतियप फ्यानले लेखेका हुन्छन्– म तिमीबिना बाँच्न सक्दिनँ । कलाकार पब्लिक फिगर हुने भएकाले आई लव यू लेखिएका म्यासेजचाहिँ मलाई सामान्य नै लाग्छन् । उनीहरूलाई आई लभ यू टु भनेर फिडब्याक पठाइदिन्छु ।
फ्यानहरूमध्ये तीन वर्षदेखि सम्पर्कमा रहेकी तुलसा लिम्बू मसँग सबैभन्दा नजिक छिन् । उनी पनि सांगीतिक क्षेत्रमा आउन चाहन्छिन् । बेलाबेलामा फोन गर्छिन् । उनीसँग कुराकानी गर्न पाउँदा मलाई खुसी लाग्छ । उनी संगीतबारेका जिज्ञासा सोधिरहेकी हुन्छिन्, म पनि थाहा भएसम्मका सबै कुरा बताइदिन्छु । मेरा गीत उनलाई कन्ठै छन्, नोट मिलाएर गाउँछिन् । वास्तवमा उनी एकदमै राम्रोसँग गाउन सक्छिन् । लाग्छ– उनी सांगीतिक क्षेत्रमा आइन् भने चाँडै लोकप्रिय हुन्छिन् ।
प्रस्तुति : विशाल राई

प्रतिक्रिया