सचिनलाई अस्ट्रेलियाली सम्मान

नयाँदिल्ली, १ कात्तिक । अस्ट्रेलियाले कीर्तिमानी भारतीय क्रिकेटर सचिन तेन्दुलकरलाई प्रतिष्ठित सरकारी सम्मान ‘अर्डर अफ अस्ट्रेलिया’बाट सम्मान गर्ने भएको छ । भारत भ्रमणका क्रममा रहेकी अस्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्डले नयाँदिल्लीस्थित क्रिकेट क्लिनिकमा जानेक्रममा उक्त जानकारी दिएकी हुन् । केही समयपछि नै भारत भ्रमण गर्ने अस्ट्रेलियाली मन्त्रिपरिषद् सदस्य सिमोन क्रिआनले सोही क्रममा तेन्दुलकरलाई उक्त अवार्ड प्रदान गर्ने बताइएको छ । यो अवार्ड प्राप्त गर्ने सचिन चौथो गैरअस्ट्रेलियन क्रिकेटर हुन् ।
‘सचिनलाई अर्डर अफ अस्ट्रेलिया’को सदस्यता (एम) दिन पाउँदा निकै खुसी लागिरहेको छ,’ गिलार्डले भनिन्, ‘यो विशेष अवार्ड हो किनभने गैरअस्ट्रेलियाली मात्र होइन, अस्ट्रेलियाली नागरिकले पनि यो अवार्ड विरलै पाउने गर्छन् ।’ सचिनजस्ता लामो समयदेखि लगातार खेलिरहेका ठूला खेलाडीलाई सम्मान गर्न पाउँदा समग्र अस्ट्रेलिया खुसी भएको गिलार्डले बताइन् । अस्ट्रेलियाविरुद्ध सबैभन्दा बढी खेल्ने क्रिकेटर हुन सचिन । ज्याक हब्सपछि उनी अस्ट्रेलियाविरुद्ध सबैभन्दा बढी टेस्ट रन बनाउने खेलाडी हुन् ।
पछिल्लोपटक यो अवार्डबाट वेस्ट इन्डिजका महान् क्रिकेटर ब्रायन लारा सन् २००९ मा सम्मानित भएका थिए । अस्ट्रेलिया र क्यारेबियनबीच सद्भाव, मित्रता र क्रिकेटको माध्यमद्वारा स्पोर्टसम्यानसिप प्रवद्र्धन गरेबापत लारालाई उक्त सम्मान प्रदान गरिएको थियो । सन् २००३ मा वेस्ट इन्डिजकै सर गर्फिल्ड सोबर्सले पनि सन् २००३ मा यो सम्मान प्राप्त गरेका थिए । खेलाडीका रूपमा क्रिकेटमा योगदान र युवा खेलाडीलाई प्राथमिकता दिएको विषयमा अस्ट्रेलियाले सोबर्सलाई उक्त सम्मान गर्ने निर्णय गरेको थियो । पछि सोबर्सले विवाहका कारण अस्ट्रेलियाको नागरिकता लिएका थिए ।
अहिलेसम्म करिब २० अस्ट्रेलियाली क्रिकेटरले यो सम्मान प्राप्त गरेका छन् । सर डोनाल्ड ब्रेडम्यान, एलन बोर्डर, स्टिभ वाघ, मार्क वाघ, मार्क टेलर, एडम गिलक्रिस्ट, ग्लेन म्याग्राथ, म्याथ्यु हेडेन, डेनिस लिली, म्याक वाकर, बब सिम्पसन, कैथ मिलर, जस्टिन लेंगर, बिल लरी, रिकी पोन्टिङ, पिटर बर्ज, रन आर्चर, एलन डेभिडसन, डिन जोन्स र बेलिदा क्लार्कलगायत अस्ट्रेलियाली क्रिकेटरले यो अवार्ड हात पारेका थिए । एजेन्सी

प्रतिक्रिया