काभ्रे, १ कात्तिक । आर्थिक तथा सामाजिक परिवर्तनका लागि मेरुदण्ड मान्दै आएको सहकारीलाई व्यस्थापन गर्न सहकारी विभागले छुट्टै ऐन बनाउने भएको छ ।
राष्ट्रिय सहकारी विकास बोर्डका सदस्यसचिव नेत्र न्यौपानेले नेपालकै नमुना दुग्ध उत्पादक सहकारी सेतीदेवीको १२औँ वार्षिक साधारणसभाको उद्घाटनका अवसरमा सहकारीे प्रवद्र्धनका लागि नीतिगत रूपमै ऐन बनाएर कार्यान्वयन गर्ने बताए । सहकारीले बचत र ऋणको कारोबारभन्दा पनि व्यावसायिक र उत्पादनकमूलक कार्यमा लगानी गर्नुपर्ने न्यौपानेले बताए । वार्षिक आठ लाख लिटर दुग्ध बिक्रीवितरण गरी व्यावसायिक पशुपालनका लागि कृषकलाई प्रोत्साहन गर्दै आएको सो सहकारीले गत आर्थिक वर्षको अन्त्यसम्म ६ करोडको कारोबार गरेको छ । दुग्ध बिक्रीबाट तीन करोड ६८ लाख ३१ हजार रुपियाँ आम्दानी गरी सात लाख ८९ हजार मुनाफा आर्जन गरेको अध्यक्ष टीकावल्भव सापकोटाले बताए । संस्थामा ५३ लाख ४३ हजारको सेयर पुँजी र एक करोड १५ लाख ५४ हजारको निक्षेप संकलन रहेको छ । सहकारीले साधारणसभामा वर्षभरि सबैभन्दा धेरै दुग्ध बिक्री गर्ने कृषक रघुनाथ कोइरालालाई सम्मान गरेको थियो । कोइरालाले नौ हजार एक सय ३९ लिटर दुग्ध बिक्री गरेको थियो ।
सहकारीले संस्थाका वृद्ध सदस्य, सेयर सदस्यका उत्कृष्ट छोराछोरी, अपांग र कर्मचारीलाई सम्मान गरेको हो । पाँच सय ८६ कृषकले दुग्ध बिक्री गर्दै आएको सो सहकारीको उद्घाटन कार्यक्रममा दुग्ध विकास संस्थानका महाप्रबन्धक सियारामप्रसाद सिंहले नेपालमा दुग्ध र दुग्धजन्य पदार्थको अभाव भएकाले व्यावासायिक पशुपालनमा जोड दिनुपर्ने बताए । सोही सभामा संस्थानका प्राविधिक विकास प्रमुख गंगा तिमल्सिना, दुग्ध चिस्यान केन्द्र बनेपाका प्रमुख नरेश जोशी, जिल्ला सहकारी संघका अध्यक्ष शुभ अधिकारी, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका कोषाध्यक्ष दीपक पौड्याल, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण बडाललगायत वक्ताले नेपालमा दुग्ध व्यवसायलाई व्यावसायिक बनाउन राज्यले प्राथमिकतामा राख्नुपर्ने बताए ।
मंगलबार नै दक्षिण एसियाको मापदण्डअनुसार कारोबार गरी केही साताअघि मात्रै पुरस्कृत भएको बुडोल सामुदायिक साकोसको १३ वार्षिक साधारणसभा नेफस्कुनका केन्द्रीय उपाध्यक्ष ऋषिराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । सहकारीमा आर्थिक वर्षको अन्त्यमा सेयर पुँजी दुई करोड ६० लाख, ६६ हजार र बचत हिसाब १५ करोड ५९ लाख ३४ हजार रहेको छ । संस्थाको खुद नाफामा ६२ लाख ३० हजारमा जगेडा कोषमा २५ प्रतिशत, सेयर लाभांश कोषमा ३२ लाख ७० हजार बाँडफाँड गरेको प्रबन्धक विवेक ठकुरीले जानकारी दिए ।
साधारणसभामा संस्थाका कोषाध्यक्ष ध्रुवबहादुर भुजेलले आर्थिक प्रतिवेदन, सचिव भैरव केसीले वार्षिक प्रतिवेदन र अध्यक्ष रामहरि केसीले संस्थाको वार्षिक कार्यक्रम र आगामी वर्षको कार्यक्रमका बारेमा जानकारी गराएका थिए । लेखा समितिका संयोजक वासुदेव शर्मा रिमालले संस्थाको लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा जिल्ला बचत संघका उपाध्यक्ष इन्द्रप्रसाद अधिकारी, जिल्ला सहकारी संघका रामहरि बुढाथोकी, नेफस्कुनका पूर्वकार्यकारी अधिकृत कुबेर निरौला, लक्ष्मी महिला बचतका अध्यक्ष तीर्थमाया प्रधान, उपाध्यक्ष पुण्यवती घलेले सहकारीले सदस्यलाई व्यावसायिक बनाउन भूमिका खेल्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया