वरिष्ठ संगीतकार रञ्जित गजमेरको भाग्य कुनै बेला दु:खको मसीले कोरिएजस्तै थियो । सप्तरंगी सपनाहरू सजाइने उमेरमा उनले कम्ती सास्ती खेप्नु परेन । परिवारमा अंसबन्डाको खिचलो सुरू भएपछि गजमेरले जन्मथलो दार्जिलिङ माया मारे । दुई दूधेछोरी काखी च्यापेर उनी नेपाल पसे ।
‘सुखमा दिएको सुनभन्दा दु:खमा पाएको नुन ठूलो’, यस्तै लाग्दो रहेछ गजमेरलाई । दु:खमा पाएको नुन कहिल्यै बिर्संदा रहेनछन्, अझै सम्झिरहेछन् उनी । ओत मार्ने छानो नपाएपछि काठमाडौं निकै समय भौँतारियो गजमेर परिवार । उनीहरूको यो छटपटी नोर्बु योञ्जनले देखे । उनले न्युरोडको गल्लिबाटै गजमेर परिवारलाई डोर्याएर आफ्नो घर पुर्याएछन् । ‘त्यस्तो मान्छे र क्षण मैले कसरी भुल्नु’, वरिष्ठ संगीतकार गजमेर सम्झिए, ‘दु:खपर्दाको एक गाँस पनि लाखै हुन्छ । उनले त मलाई घर नै दिए ।’ अहिले गजमेर बलिउड नगरी मुम्बईमा स्थापित भइसकेका छन् । विशाल फाँटजस्तो हृदय र मानवतावादी नेपाली दाजुभाइको यादले सताउँदा बेलाबखत नेपाल पस्छन् उनी, अनि दुई–चार दिन बसेर मुम्बई फर्किन्छन् ।
१९४१ अक्टोबर ३ मा जन्मिएका गजमेर नेपाल पस्नुअघि नै दार्जिलिङमा चल्तीका संगीतकार बनीसकेका थिए । ‘भिनाजु हीराकुमार सिंह तबला सिकाउनु हुन्थ्यो, उहाँसँगै सिकेँ, गजमेरले भने, ‘उहाँले नै मेरो रुची देखेर कलकत्ताका उस्ताद करमतुल्ला खानसँग सिक्न पठाउनुभयो ।’ नेपाल पस्नुअघि उनी साथी शरण प्रधानमार्फत अम्बर गुरुङको सम्पर्कमा पुगँे । गुरुङले उनीहरूलाई आफ्नो आर्ट एकेडेमीको सदस्यका रूपमा काम दिएछन् । ‘अनि त के †’ गजमेरले भने, ‘पछि त अरुणा लामा, सरण प्रधान, गोपाल योञ्जन, कर्म योञ्जन, जितेन बर्देवा, गगन गुरुङ, इन्द्रकुमार गजमेरहरू पनि त्यहीँ गीत–संगीत सिक्न आउँथे ।’
संगीतयात्राले भर्खरै रफ्तार लिँदै थियो । गजमेरको पारिवारिक जीवनमा ब्रेक लाग्न थाल्यो । बुबा लक्ष्मणसिंह गजमेरको अवसानपछि आमा मनमाया र दाजुभाउजूले धानेको घरबार भागबन्डा गर्नुपर्ने बिन्दुमा पुग्यो । ‘काका–बाबाका दाजुभाइहरूसँग मनमुटावको अवस्था भयो’ संगीत साधक गजमेरले सम्झिए, ‘मलाई त्यो ठीक लागेन, श्रीमती र दुई छोरी च्यापेर नेपाल पसेको थिएँ ।’
राजधानी पस्नेबित्तिकै कुसुमे रुमाल र सम्झना फिल्ममा संगीत दिएका उनले मुम्बई पुगेपछि पनि नेपाली संगीतसँगको नाता तोडेनन् । ‘त्यतिबेला अहिलेको जस्तो रेकर्डिङ स्टुडियो थिएन’, उनले भने, ‘गीत–संगीतको एउटै थलो रेडियो नेपाल मात्रै थियो ।’
उनका दुवै छोरी अहिले काठमाडौंमै छन् । निर्देशक तुलसी घिमिरे र उनका भाइ ओमप्रकाशले गजमेरका दुबै छोरी भारती र प्रितीलाई विवाह गरेका हुन् । छोरा सत्यजित मुम्बईमै बस्छन् । २३ वर्षको उमेरमा काठमाडौं पस्दा उनका दिन सजिला थिएनन् । ओत दिने आफन्त कोही थिएन । संगीतले परिवार पाल्न धौ–धौ भइरहेका बेला उनका दु:खका साथी बने, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, पिटर कार्थक र लक्ष्मण तिवारी । लक्ष्मणले उनलाई हालको पुरानो वानेश्वरस्थित तत्कालीन न्यू मोडेल स्कुलमा अंग्रेजी पढाउने काम दिलाइदिए । ‘त्यो गुन कहिल्यै बिर्सन्न’ भन्छन् गजमेर ।
गजमेरले रेडियो नेपालमा गोपाल योञ्जनको गिटार रेट्दारेट्दै रोयल नेपाल एकेडेमी (हालको प्रज्ञा प्रतिष्ठान) खुल्यो । रामशरण दर्नालले कुलपति बालकृष्ण समसँग भेट गराइदिए । गजमेरले तुरुन्तै नियुक्तिपत्र पाएछन् । रेडियो नेपाल, शिक्षक पेसा र प्रज्ञाको जागिर तीनतिर काम थालेपछि उनको दु:खको रेखा बिस्तारै मेटिँदै थियो । यस्तैमा एक बिहान उनका लागि सुनौलो बनेर झुल्कियो । ‘मानिसले धैर्य गुम्न दिनु हुँदैन रहेछ’, गजमेरले भने, ‘म अत्तालिएको भए मनोहरि सिंहसँग भेट हुने थिएन ।’ प्रज्ञामा आयोजना भएको सभामा भारतीय फिल्मी क्षेत्रमा काम गर्ने नेपाली नागरिक सिंह पनि आएका रहेछन् । गजमेरले भने, ‘मैले मुखै खोलेर भनेँ, मलाई पनि त्यहाँ (मुम्बैमा) काम दिलाइदिनुस न ।’ सिंहले सजिलै हुन्छ भनेपछि उनी तीन वर्षको काठमाडौं बसाइ सारेर मुम्बईतिर लागे ।
मनोहरि सिंहले नै उनलाई सुप्रसिद्ध भारतीय संगीतकार आरडी बर्मनसँग भेटाइदिए । त्यसपछि त गजमेरको सांगीतिक यात्राले नसोचेको रफ्तार समात्यो, जिन्दगीले पनि । नेपाली बाँसुरी, बाजा र मादलको धुन मन परेपछि बर्मनले उनलाई आफ्नो टोलीको सदस्य नै बनाएछन् । त्यहाँ पुगेलगत्तै उनले सन् १९७१ मा कान्छा रे कान्छा रे गीतमा संगीत र शब्द गरेछन् । हरे राम हरे कृष्ण फिल्ममा देव आनन्दले खुसी भएर त्यो गीत लिइदिएछन् । ‘अनि त के मेरो तकदिर खुलिहाल्यो’, गजमेर उत्साहित हुन्छन्, ‘त्यसपछि त मैले दुई सय फिल्मका लागि संगीत गरेँ होला ।’
अहिलेको संगीतबजार उत्साहजनक देख्ने वरिष्ठ संगीतकार गजमेर हाल नेपाल–भारतकै सांगीतिक क्षेत्रमा केही विचलन भने आएको ठान्छन् । ‘आइटम सङ्का नाममा नेपाल मात्र होइन, भारतमा पनि बिकृति बढेको छ’ उनले भने, ‘तर, संगीतको महासागरमा यस्ता विषय आपैँm तल बस्छन् ।’ नेपालको सांगीतिक बजार पनि निक्कै विकास भइसकेको देख्ने उनी यहाँका संगीतकारले अझै धेरै कुरा सिक्दै जाने हो भने भविष्य उज्वल रहेको संकेत गर्छन् ।
भारतमै बसेर पनि नेपाली गीतसंगीतको सेवामा लागिपरेका गजमेर तुलसी घिमिरेको बाँसुरी फिल्मदेखि नेपाली चलचित्रसंगीतमा सामेल भएका हुन । पछिल्लोचोटि तुलसी घिमिरेले बनाएका दुई किनारा, दर्पणछाया सम्ममा उनकै संगीत छ । नेपाली भएर नेपालको पहिचान झल्किने गरी भारतीय संगीत क्षेत्रमा नेपाली बाँसुरी, मादल र सारंगीको प्रवेश गराउनुलाई उनी ‘आफ्नो धर्म’ का रूपमा लिन्छन् । त्यसैले उनले अजनबी फिल्मको हम दोनो दो प्रेमी दुनिया छोड चले, हे कान्छा, हे कान्छी † होगा तुमसे प्यारा कौन, सुनो सुनो कसमसेलगायत भारतीय गीतमा नेपाली संगीत सम्मिश्रण गराए । यीलगायत कतिपय गीतमा आफ्नो मेहनत रहे पनि संगीतकारका रूपमा नाम भने आरडी बर्मनको राखिएको उनले बताए । आफ्ना यी कालजयी सिर्जनालाई आधुनिक शैलीमा पुन: रेकर्डिङ गराएर बजारमा ल्याउन चेला अर्जुन नेपालीलाई जिम्मेवारी दिएका रहेछन् गजमेरले ।
लहनाले जुरायो कि, गहिरो गहिरो सागर जस्तो, मनको कुरालाई बाँधी नराख, चिसोचिसो हावालेलगाएत कालजयी नेपाली गीत उनकै सिर्जना हुन् । संगीतकारका रूपमा उनले नेपाल र भारतको सांगीतिक दुनियाँलाई जोड्ने साँघुको कामसमेत गरेका छन् ।
उनको संगीतमा आशा भोसले, उदितनारायण झा, कुमार सानु, अभिजित, साधना सरगम, सञ्जीवनी, कुमार कान्छा, शंकर महादेवन, श्रेया घोषाल, कविता कृष्णमूर्ति, सानलगायतका गायक–गायिकाले आवाज दिएका छन् । नेपालमा पनि नाम चलेका प्राय नयाँ–पुराना गायक–गायिकाले उनको संगीतमा काम गरिसकेका छन् । ‘जिम्मेवार भएर लाग्ने हो भने नेपाली सांगीतिक क्षेत्र उत्कृष्ट बन्ने बाटोमा छ’, छुट्टिँदै गर्दा उनले भने, ‘जो जहाँ बसे पनि दु:ख पर्दा टेकेको माटो र खाएको गाँस भुल्नु हुँदैन ।’ (सौर्य)
प्रतिक्रिया