सुदूरपश्चिम विश्वविद्यालयले कक्षा सञ्चालन गर्ने

कैलाली, १ कात्तिक। सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले मंसिरको दोस्रो साताबाट कक्षा सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले मानविकी, व्यवस्थापन, शिक्षा र विज्ञान संकायमा भर्ना खोल्ने तयारी गरेको हो ।

विश्वविद्यालय स्थापनापछि पहिलोपटक विश्वविद्यालयका पदाधिकारीले भर्ना प्रक्रिया र कक्षा सञ्चालनबारे तयारी भइरहेको बताएका हुन् ।
कक्षा सञ्चालनको पूर्वतयारीस्वरूप बिएड, बिएससी, बिबिएस, बिए, एमबिएस, एमए, एमएससी र एमएडको पाठ्यक्रम तयार भइसकेको विश्वविद्यालयका उपकुलपति डा. जयराज अवस्थीले बताए । उनका अनुसार कक्षा सञ्चालका लागि सिद्धनाथ बहुमुखी क्याम्पस र सिद्धनाथ विज्ञान क्याम्पसलाई विश्वविद्यालयमा गाभ्ने प्रक्रियाबारे छलफल भइरहेको छ ।
‘यस वर्ष स्नातक तह पहिलो वर्षका लागि भर्ना भएका सबै विद्यार्थीलाई सुदूरपश्चिम विश्वविद्यालयकै पाठ्यक्रम पढाउने गरी प्रक्रिया अगाडि बढाइएको छ,’ उपकुलपति अवस्थीले भने, ‘त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तह पहिलो वर्ष अध्ययन गरिसकेकाको हकमा त्रिविकै पाठ्यक्रमअनुसार पढाइन्छ ।’ त्रिभुवन विश्वविद्यालयअन्तर्गत बहुमुखी र विज्ञान क्याम्पसमा पढाइ भइरहेका विषयहरू तत्काललाई सञ्चालन गरिने उपकुलपति अवस्थीले बताए ।
नयाँ कार्यक्रमका रूपमा बिबिएको कक्षासमेत सञ्चालन गरिनेछ, उपकुलपति अवस्थीले भने, ‘पाँच वर्षभित्रै कम्प्युटर साइन्स, सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङलगायतका कक्षा विश्वविद्यालयले सञ्चालन गर्नेछ ।’
विश्वविद्यालयमा विभिन्न संकायमा डिनसमेत नियुक्त भइसकेका छन् । डिन नियुक्तिमा ढिलाइ भएकाले अर्काे वर्ष मात्र इन्जिनियरिङ, ल, नेचुरल रिसोर्स संकायका डिन नियुक्त गरी पठनपाठन हुने विश्वविद्यालयले जनाएको छ । त्रिभुवन विश्वविद्यालयको ढिपीले गर्दा बहुमुखी र विज्ञान क्याम्पस विश्वविद्यालयमा मर्ज गर्ने कुरामा ढिलाइ भइरहेको उपकुलपति अवस्थीले बताए । उनका अनुसार त्रिविले आफ्नो सम्पत्ति कुनै पनि हालतमा नदिने भन्दै ढिपी गरिरहेको छ । बहुमुखी र विज्ञान क्याम्पस अहिले त्रिभुवन विश्वविद्यालयअन्तर्गत छन् ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालय सभाको बैठकले आर्थिक, कर्मचारी संगठन, शैक्षिक प्रशासन नियमावली तयार गरेर स्वीकृत गरिसकेको विश्वविद्यालयका रजिस्टार डा. हेमराज पन्तले बताए । यस्तै, सरकारसँग विश्वविद्यालय सञ्चालनका लागि चालु आर्थिक वर्ष ०६९/७० मा २८ करोड रुपियाँको बजेट माग गरिएको छ । ‘पूर्ण बजेट नआउँदा बजेट मिल्ने अवस्था छैन,’ विश्वविद्यालयका उपकुलपति डा. अवस्थीले भने, ‘बजेट दिन ढिलाई भए खर्च गर्न सकिन्छ कि सकिँदैन ?’ बजेट अभावका कारण विश्वविद्यालय सञ्चालमा कुनै समस्या नआउने डा. अवस्थीले बताए ।

एक करोड चन्दा दिएर सभासद्

सुदूरपश्चिम विश्वविद्यालयलाई एक व्यक्तिले एक करोड रुपियाँ चन्दा दिने प्रतिबद्धता जनाएपछि सभासद्मा नियुक्त गरिएको छ । कैलालीका शिवराज पन्तले एक करोड रुपियाँ चन्दा दिने प्रतिबद्धता जनाएका हुन् । पन्तले धनगढीको तारानगरस्थित रहेको ६ कठ्ठा जग्गा बिक्री गरेर विश्वविद्यालयलाई चन्दा दिने बताएको उपकुलपति डा. अवस्थीले बताए । विश्वविद्यालयको ऐनअनुसार सभामा चन्दादाताबाट तीन सभासद् राख्नुपर्ने प्रावधान छ । त्यस्तै यसअघि कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष गणेशदत्त अवस्थीलाई सभासद्मा नियुक्त गरिएको छ ।

प्रतिक्रिया