तस्बिरमा मध्यपश्चिम

काठमाडौं : मध्यपश्चिम क्षेत्रका विभिन्न पक्षलाई समेटेर खिचिएका तस्बिरले दर्शकलाई आकर्षित गरेका छन् । फोटोपत्रकार भरतबन्धु थापाले सुर्खेतमा ती तस्बिर प्रदर्शनी गरेका हुन् । थापाले मध्यपश्चिमका कला, साहित्य, ऐतिहासिक एवं मनोरम दृश्य, ताल, हिमाल तथा जैविक विविधतालाई तस्बिरमा कैद गरेका छन् ।
पर्यटन विकास मञ्च र ग्रिनल्यान्ड फुटबल एकेडेमीको आयोजनामा भएको ‘राष्ट्रिय खेलकुद तथा पर्यटन महोत्सव २०६९’ मा थापाले सात वर्ष लगाएर खिचेका तस्बिरले आगन्तुकको ध्यान तानेका छन् । १५ जिल्लाका ६८ वटा तस्बिर राखिएका छन्, तीमध्ये ६० वटा थापाले खिचेका हुन् । अन्यचाहिँ गोरख विष्ट, लक्ष्मीप्रसाद नाडखुसी, रोशनमान श्रेष्ठ र रमेश जिसीले खिचेका हुन् ।
नेपाली भाषामा पहिलोचोटि लेखिएको दैलेखको दामुपालको अभिलेख, नेपाली भाषाको उद्गम थलो जुम्ला, सबैभन्दा उचाइमा रहेको सदरमुकाम सिमीकोटको खलंगा बजार, जाजरकोटको लोपोन्मुख खुडानाच तथा जाजरकोट दरबार तस्बिरमा समेटिएका छन् । सुर्खेतको काँक्रेविहार, देउती बज्यैको मन्दिर, भगवान् महादेवको जुँगा भएको नेपालकै एक मात्र मूर्ति पनि तस्बिरका रूपमा प्रदर्शनीमा सजिएका छन् ।
आजसम्म सञ्चालन हुने यो प्रदर्शनी सुर्खेत जिल्लामै पहिलोचोटि भएको आयोजक समितिका संयोजक चिन्तामणि पौडेलले बताए । उनले भने, ‘यसले मध्यपश्चिमका पर्यटकीय स्थलबारे प्रचारप्रसार गराउन ठूलो मद्दत पुगेको छ ।’ नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा मध्यपश्चिम संयोजक सूर्यमणि गौतम, संगीतकार चेतन सापकोटा, पूर्वसभासद् नरबहादुर विष्ट र गायक जेबी टुहुरेले संयुक्त रूपमा प्रदर्शनी उद्घाटन गरेका थिए । (सौस)

प्रतिक्रिया