सोचेजति सहज छैन सामाजिक परिवर्तन

विराटनगरको एक कुनामा बस्ने आशादेवी लामा एउटा सर्वसाधारण परिवारकी सदस्य हुन् । बिहान–बेलुकाको छाक टार्न बनीबुतो गर्नुपर्ने सामान्य परिवारकी वृद्धमाता गत वर्ष भदौ ८ गते आफ्नै झुपडीमा निर्वाध पिटिइन् । कारण बोक्सीको अभियोग लगाइयो उनीमाथि । ८४ वर्षको अशक्त शरीर त्यहीमाथि उनलाई तीनतीन जनाले निर्वाध पिटे, वूढ्यौलीका गन्न सकिने शिरका कपाल उखेलिए र चाउरिएको वृद्धगाला रगत जमेर राता भए । ८० बर्षकी दारेचोक चितवनकी दिलमाया खड्कामाथि पनि उस्तै आरोप लाग्यो बोक्सी । उनी माथि पनि उस्तै पिटाइ भयो । २७ वर्षीया तनहुँकी माया बिकलाई आफ्नै घर धनीले निर्घात पिटे । उनका घाँटी, टाउको र पाखुरामा ठूला–ठूला चोट बोकेर हाल अस्पतालमा समाजको चर्तिकला हेरिरहेकी छीन् । उनीमाथिको आरोप थियो दलित भएर उपल्लो जातको पानी छोएको । कालीकोटका मानवीर सुनारलाई चाहिँ स्थानीय शाही खानदानले यस संसारबाटै अन्त्य गराइदिए । आरोप थियो ठूलो जातका मान्छेको चुलो छोइदिएको । यसै वर्ष मात्र बाराकी ६० वर्षीय फूलमझरी यादवलाई बोक्सी कै निहुँमा निर्घात पिटियो । देशकै राजधानीमा आफन्तबाटै बोक्सीको आरोपमा पिटाइसहित आँखा गुमाइन् सुनिता पुडासैनीले । सुनिताले बोक्सी भएकै कारण बच्चा जन्माउन सकिनन् रे † सुनिताका आँखा फुटाइए । समाजमा आफ्नै सहोदरहरू उनीमाथि खनिए ।
युग परिवर्तनको क्रममा छ, सत्य हो । समय परिवर्तनशील हुन्छ, सत्य हो । तर, समयसँगै मानवीय संवेदनामा परिवर्तन आउन सक्दैन । समयले समाजलाई परिवर्तन त गर्ला तर समाजको रूपान्तरण गर्न त मानिसको सोच र दृष्टिकोणमा नै पूरै परिवर्तन गर्न सक्नुपर्छ र मात्र समाजको परिवर्तन हुनसक्छ । हाम्रो समाजमा परिवर्तन आएको पटक्कै छैन । बरु, समाजमा मध्ययुगिन संस्कार झन् बिकराल बन्दै गएको पुष्टी हुन्छ– मानवीरको हत्या, आशादेवी, दिलमाया, मायाका अन्तर पीडाले, फूलझरीको यातना र सुनिताको आँखा गुमाइले । मानवीर, माया वि.क., आशादेवी, दिलमाया, फूलझरी तथा सुनिता समाजका अत्यन्तै गरिब परिवारका सदस्य हुन् र उहाँहरूलाई यातना दिने चाहिँ समाजको परिवर्तन चाहने २०–५० का युवा समुदाय हुन् । वास्तवमा समाज परिवर्तन गर्न यिनै युवाहरूको आवश्यकता छ । सामाजिक रूपान्तरणका लागि कम्मर कसेका छौँ भन्ने नेपालका राजनीतिक पार्टीका लागि एउटा गतिलो झापड लागेको छ यी घटनाले । अचम्म त यसमा छ, यत्रो १० बर्षसम्म माओवादीले सामाजिक रूपान्तरणका लागि आन्दोलन गरे तर समाज जस्ताको तस्तै छ । माओवादी आन्दोलनको उर्भरभूमि कर्णालीमा पनि सामाजिक रूपान्तरणका लागि सिन्को पनि भाँचिएको छैन । कर्णाली त के राजधानी नै आधुनिक समाजमा रूपान्तरण हुन सकेको छैन । वृद्धाहरूका आँखाबाट झरेका अविरल आँसुका भेलले पूरै नेपालको सिँचाइ गरिसक्दा पनि बोक्सीको आरोपमा नेपाली आमाहरू पिटिन छोडेका छैनन्, दलितका नाममा पिटिन छाडेका छैनन् । आशादेवीजस्ता धेरै आमाहरू छन् जो समाजमा बिना कसुरको लान्छना लगाएर पिटिएका, मरणीदेवीदेखि आशादेवी र मानवीरदेखि माया बिक तथा सुनिता पुडासैनीसम्म आइपुग्दा समाजका धेरै आमाहरूले बोक्सीको आरोपमा पिटाइ खाइसकेका छन् अनि दलितको नाममा ज्यान गुमाएका छन् पिटाइ खाएका छन्  । किन पिटिन्छन् आमाहरू ? शरीरले संसारलाई छोड्नै आँटेका यी नेपाली आमालाई बोक्सीको आरोप लगाउँदै पिट्दै जाँदा कति सामाजिक परिवर्तन हुन्छ ? किन पिटिन्छन् दलितहरू ? दलित हुनु नै उपल्लो जातका मान्छेको पिटाइ खानका लागि हो ? खोइ सामाजिक रूपान्तरण ? खोइ जातीय मुक्तिको नारा ? खोइ समानता ?
समाजमा रहेका विद्यमान रुढिवादी परम्पराहरूलाई समाजले अझै पनि चिर्न सकेको छैन । आपैँmभित्रको बोक्सी मानसिकताले आशादेवीहरूलाई समाजका व्यक्तिहरूले कुट्न छाडेका छैनन् । हामीबीचमा हुर्केको जातीय भावनाले हामीलाई मुक्त गराउन सकेको छैन । हामी युगको परिवर्तनसँगै एक युगबाट अर्को युगमा आइपुगिसकेका छौँ । तर, आपँैmभित्रको बोक्सी मानसिकतालाई त्यागेर समाजको सामाजिक रूपान्तरणका लागि तयार हुन सकेका छैनौँ । जातीय भेदभावबाट माथि उठेर समाजमा समानताको भावना फैलाउन सकेका छैनौँ ।
आशादेवी, सुनिता त बोक्सी हुँदै होइनन् बोक्सी त तिनीहरू हुन् जसको मानसिकतामा मानविय नाता समेत छैन । बोक्सी त तिनीहरू हुन् जो समाजमा मानिस मानिसकाबीचमा वर्गीय विभाजनको खाका कोर्नमा नै आफ्नो समय खर्चिन्छ । अनि, बोक्सी त तिनीहरू हुन् जसले समाजको रूपान्तरण गर्न कहिल्यै चाहेनन् । मानवीर र माया बिक त दलित हुँदै होइनन् । दलित त तिनीहरू हुुन जो मानवीय नाता र युगको समेत ख्याल गर्न सक्दैनन् । समाजको रूपान्तरण र परिवर्तन शरीरका कपडा छोटो पार्दैमा हुने होइन नकि खुल्ला ठाउँमा गएर भाषण गर्दैमा हुन्छ । समाजमा बसेर समाजका मान्छेहरूको इज्जत गर्न नजान्ने व्यक्ति समाजको परिवर्तनका लागि कहिल्यै पनि इमानदार हुँदैन । त्यसैले अरू अशक्त आमाहरूलाई आफूभित्रको बोक्सीको मानसिकता खन्याएर समाजमा आफ्नो प्रभुत्व जमाउने जो व्यक्ति छ समाजको बोक्सी भनेको उनै हो, जसको बोक्सीत्व मानसिकतालाई समाजले परिवर्तनमा लान अभैँm पनि सकेको छैन । मानिस मानिसका बीचमा जातीय रेखा कोरेर वर्गीय भावनाको विकास गराउने दलितहरूबाट समाजको परिवर्तन सम्भव छैन । तिनै दलितहरू सबै पार्टीहरूमा उपल्लो जातको नारा बोकेर अरूलाई दलित भन्दै सामाजिक रूपान्तरणका नारा उराल्दैछन् । तिनै अछुतबाट समाज हिजोको जस्तै जस्ताको तस्तै छ ।
६० को दशक काटिसकेका एकल महिलाहरू आज बोक्सीको आरोपमा दिनहँु पिटिँदै छन् । कम उमेरका महिलालाई बोक्सीको आरोप हत्तपत्त लगाइँदैन । समाजमा एक्ला बनेका निर्धा महिलाहरू सामाजिक अपहेलना र बोक्सीको आरोपमा पिटिन्छन् । समाजले एक्लाहरूलाई आश्रय दिनुको साटो उल्टो यातना दिँदै आएको छ । त्यसैले युगले परिवर्तन चाहे पनि समाजले युग अनुसारको परिवर्तन दिन चाहेको छैन । समाज परिवर्तनको जिम्मा लिएका व्यक्तिबाटै बोक्सीको आरोप लगाउँदै एकल महिलालाई पिट्दै जाँदा र समाजका गरिब कथित तल्लो जात भनाउँदै आएका व्यक्तिलाई दलित भन्दै जाँदा खै कसरी सामाजिक परिवर्तन आउँछ ? अचम्म चाहिँ के छ भने समाजका एकल वृद्ध महिलालाई बोक्सीको आरोप लगाउँदै पिट्नेहरू चाँही समाजकै २०–५० का महिलाहरू नै रहेका पाइन्छन् । आशादेवीलाई पिट्ने पनि अरू कोही नभएर त्यही समाजकी प्रभादेवी लामा हुन् । मानवीरलाई हत्या गर्ने पनि उही समाजका कथित उपल्लो जात भनिने मानबहादुर शाही र दीपक शाही हुन् भने माया बिकलाई निर्घात पिट्ने पनि उही समाजका अचितकुमार श्रेष्ठ र आराधना श्रेष्ठ हुन् । अनि, सुनितालाई पिट्ने पनि अरू कोही नभएर उनकै सहोदर भाइ बहिनी ज्ञानेन्द्र तथा खोमकुमारी हुन् । दारेचोक चितवनकी दिलमाया खड्कालाई बोक्सीको आरोप लगाएर मरणासन्न अवस्था भइन्जेल पिटेपछि उही समाजले एक लाख २५ हजार सहयोगसहित दोसल्ला ओढाएर सम्मान त गर्‍यो । मानवीरको हत्यापछि भएको चर्को विरोधले मानवीरको परिवारलाई सरकारले १० लाख सहयोग दिने निर्णय गर्‍यो । अनि माया बिकलाई पिट्नेलाई कारवाही गर्ने भन्यो । बिराटनगरकी आशादेवीलाई पनि सम्मान सहित क्षतिपूर्ति त दिइएला तर उनले भन्ने गरेको प्रसंगलाई भने समाजले कहिले उत्तर देला अनि सुनितालाई पनि सरकार उपचार त गरिदेला तर उनी जस्तै समाजमा बोक्सीको नाममा पिटिने महिलाहरूलाई कहिले मुक्ति दिने हो । मलाई लाग्छ यदि उनलाई समाजले सम्मान गर्‍यो भने उनीहरूले यति मात्र भन्ने छन्– हामी माफी त दिउँला तर यो क्रम कहिलेसम्म रहिरहने ? यो प्रश्नको उत्तर समाजले कहिले देला र कहिलेदेखि एकल वृद्धा आमाहरूले भयरहित वातावरणमा बाँच्ने ? दलितको आरोपमा कतिन्जेल पिटाइ खाइरहने ? हामीले कहिलेसम्म नयाँ युगको दैलोमा आमाको आँसु हेरिरहने ? जबसम्म समाजले यसको उत्तर खोज्दैन तबसम्म समाजमा आमाहरू बोक्सी र दलितको आरोपमा पिटिन छोड्ने छैनन् ।
राजनीतिक परिवर्तन जत्तिको सहज छैन सामाजिक परिवर्तन । समाजमा रहेका परम्परावादी सोचलाई आधुनिकीकरण गर्न धेरै जटिल छ । मध्य युगदेखि समाजमा जरा गाडेर बसेका सामाजिक कुसंस्कारलाई परिवर्तन गराउन त्यत्ति सजिलो छैन । फेरि, जबसम्म परम्परावादी सोचमा परिवर्तन आउँदैन तबसम्म समाजको रूपान्तरण पनि हुन सक्दैन । राजनीतिक चेतना जगाउन जति सजिलो छ तर त्यत्ति नै कठिन छ सामाजिक चेतना जगाउन । आपसी सम्मानको भावनाको विकास जवसम्म हुँदैन तबसम्म समाजमा विद्यमान रहेको वर्गीय चरित्रले ठाउँ लिइरहन्छ । जबसम्म वर्गीय चरित्रको हावी रहन्छ यस्ता आरोप प्रत्यारोपको क्रम पनि रोकिँदैन । यदि, यो क्रम रोकिएन भने आशादेवीहरू अभैँm पनि पिटिन वाध्य हुनेछन् र मानवीरहरू मर्न वाध्य हुनेछन् । नेपाली समाजमा दबिएर रहेको रुढीवादी सोचले अवसर पाउने वित्तिकै व्यवहारिक जीवनमा प्रवेश गरिहाल्छ । त्यसैले पनि राजनीतिक परिवर्तन जस्तो सहज भने हुन्न सामाजिक परिवर्तन ।
यो गणतन्त्रको दैलामा आमाहरूको आँसु देख्नु भनेको नेपाली समाजका लागि कम चुनौती भने होइन । होला, यस समाजले उनीहरू समक्ष माफी मागेर एउटा कपडाले शरीर छोपिदिएर अखबारका पानामा दोसल्ला ओडाएको दलित त पस्केला तर आमाहरूका मनभित्र पुगेको चोटलाई कदापी पनि छोप्न सक्ने छैन । होला, आमाहरूले माफी त दिनुहोला तर आमाहरूको अन्तरआत्माले मागेको उत्तर समाजले दिन सक्दैन । यो क्रम हिजो आशादेवी र मरणीदेवी पिटिँदा पनि थियो, अस्ति सरस्वतीलाई पिट्दा पनि थियो र आज माया बिकलाई पिट्दा, मानवीर सुनारलाई मार्दा र सुनिता पुडासैनीको आँखा फुटाउँदा पनि रहिरहेको छ । र, भोली अरू देवीहरू पिटिँदा र अरू वीरहरू मारिँदा पनि रहिरहनेछ । खै, कहिले हुन्छ सामाजिक परिवर्तन ?

प्रतिक्रिया