परीक्षा रद्द नगर्न आदेश

काठमाडौं : सर्वोच्च अदालतले शैक्षिक जनशक्ति केन्द्रका कार्यकारी निर्देशक सूर्य गौतमकी पत्नी इन्दिरा ढकाल र पूर्वशिक्षासचिव रामस्वरूप सिन्हाको छोरी अन्तिमा कुमारीको परीक्षा रद्द नगर्न लोकसेवा आयोगको नाममा अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश प्रकाशचन्द्र वस्तीको एकल इजलासले सोमबार लोकसेवा आयोगलाई ढकाल र सिन्हाको परीक्षा रद्द गर्ने निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो ।
लोकसेवा आयोगले गौतम र सिन्हले नियमविपरीत आफ्नै श्रीमती तथा छोरीको कापी जाँचेर पास गरेको पाएको भन्दै शिक्षा सेवा, शिक्षा प्रशासन समूहअन्तर्गत विद्यालय निरीक्षकमा पास भएको दुवैको परीक्षा रद्द गरेको थियो । आयोगको परीक्षा रद्द गर्ने निणर्यले आफूलाई अन्याय भएको भन्दै गौतमकी पत्नी ढकालले सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन् ।
सर्वोच्चले थप छलफलका लागि दुवै पक्षलाई आगामी १९ कात्तिकमा बोलाएको छ । लोकसेवा आयोग कार्यसञ्चालन निर्देशिका ०६७ को अनुसूची १९ को उत्तरपुस्तिका परीक्षण गरी पठाउने अनुरोधपत्रको बुँदा नं. ८ मा परीक्षणकर्ताको कुनै नातेदारले परीक्षा दिएको भए सिलबन्दी रूपमै उत्तरपुस्तिका परीक्षण नगरी फिर्ता गर्नुपर्ने उल्लेख छ । (सौस)

प्रतिक्रिया