गाउँलेले बनाए चौकी

नेपालगन्ज : द्वन्द्वकालमा क्षतिग्रस्त बनेका प्रहरी चौकी र पोस्ट नबनाउँदा प्रहरी गाउँ जान नसकेका बेला शमशेरगन्जको हवल्दारपुरका स्थानीयले अस्थायी प्रहरी चौकी भवन निर्माणमा जुटेका छन् ।
चार कोठाको पक्की भवनको निर्माणको काम अहिले धमाधम भइरहेको छ । गाउँलेले आर्थिकदेखि श्रमदान सहयोगसमेत दिएका छन्् । नेपालगन्ज–कोहलपुर सडकखण्डमा पर्ने गाउँमा विभिन्न आपराधिक घटना बढेपछि गाउँलेले प्रहरी चौकी राख्न माग गरेका थिए ।
तर आफ्नै भौतिक संरचना नहुँदा प्रहरी प्रतीक्षालयमा बसेर डयुटी गर्न बाध्य थिए । प्रहरीको समस्यालाई आफूहरूको समस्या ठानेर भवन निर्माणको काममा सहयोग पुर्‍याएको स्थानीय व्यापारी महेन्द्र रानाले बताए ।
‘हाम्रो सुरक्षा गर्नेको पीरमर्का हामीले नबुझे कसले बुझ्ने,’ रानाले भने, ‘सरकारले बजेट दिएर भवन निर्माण हुन्जेलसम्म त धेरै अपराध भइसकेका हुन्छन् ।’ गाउँमा केही घटना भए कि त कोहलपुर वा नेपालगन्जबाट प्रहरी पुग्दा ढिलो भइसकेको हुन्थ्यो ।
स्थानीय ममता केसीले प्रहरीको घर भए मात्र आफूहरूको घर सुरक्षित हुने भएर सहयोग गरेको बताइन् । उनले भनिन्, ‘पहिला प्रहरीको त घर हुनुपर्‍यो अनि पो हाम्रो सुरक्षा हुन्छ ।’ प्रहरी चौकी भवन निर्माणका लागि स्थानीय रामगोपाल यादवको संयोजकत्वमा भवन निर्माण समितिसमेत गठन गरिएको छ । (सौस)

प्रतिक्रिया