“धेरै बाठो भए आफैँ समाप्त हुन्छन्”

विराटनगर, २९ असोज । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपति डा. रामवरण यादव धेरै बाठो भएमा आफै सकिने चेतावनी दिएका छन् । राष्ट्रपतिलाई अन्तरिम संविधान, ०६३ ले सक्रिय हुने अधिकार नदिएको उनको जिकिर छ ।

महोत्तरीको फुल्काहाको मुसहर बस्तीमा बसेर काठमाडौं फर्कनका लागि आइतबार विराटनगर आएका प्रधानमन्त्री भट्टराईले सञ्चारकर्मीहरूसँग कुरा गर्दै अन्तरिम संविधानको भावनाविपरीत गएर सरकारलाई निर्देशन दिने अधिकार राष्ट्रपतिलाई नभएको बताए । उनले भने, ‘दलहरूबीचको कुरालाई आफ्नो खेल्ने अवसरका रूपमा राष्ट्रपतिले नलिए हुन्छ ।’ राष्ट्रपति डा. यादव चुप लाग्नु नै बेस हुने भट्टराईको भनाइ थियो । प्रधानमन्त्री भट्टराईले राष्ट्रपतिको पछिल्लो भनाइबारे आफूले पनि पत्रपत्रिकामा पढेको र राष्ट्रपतिको भनाइले गम्भीर बनाएको बताउँदै यसबारे दलहरूसँग छलफल र परामर्श गर्ने जानकारी दिए ।
प्रधानमन्त्री भट्टराईले राष्ट्रपति कुनै पनि हालतमा सक्रिय हुन नसक्ने पनि बताए । उनले सरकारको बर्खिलाप नगर्न चेतावनी दिए । ‘असोज मसान्तसम्ममा सहमति भएन भने राष्ट्रपतिले के चाहिँ गर्दारहेछन्, म पनि हेर्छु,’ उनले भने, ‘हैसियतविनाका राष्ट्रपतिले उफ्रिएर र कराएर केही पनि हुनेवाला छैन ।’ अन्तरिम संविधानले राष्ट्रपतिलाई सक्रिय हुन नदिएको उनको जिकिर छ । ‘अन्तरिम संविधानको कुन धारा प्रयोग गरेर राष्ट्रपतिले सक्रिय हुने संकेत गरेका हुन्, त्यो बुझ्न बाँकी छ,’ उनले भने ।
प्रधानमन्त्री भट्टराईले निर्वाचन गराउने तथा निर्वाचनको मिति तोक्ने अधिकार सरकार र दलहरूको भएकाले यस विषयमा राष्ट्रपतिले निर्देशन दिन उचित नहुने बताए । यसबारे राष्ट्रपतिलाई पहिले नै सुझाइसकिएको उनको भनाइ छ । राष्ट्रपति संविधानको संरक्षक एवं पालक मात्र भएकाले दलहरूबीच सहमति कायम गराउनेतर्फ लाग्नुको साटो बांगाटेढा कुरा नगर्न उनले सुझाव दिए । उनले लोकतन्त्रमा दलहरूले गल्ती गरे दलहरूलाई दण्डित गर्ने अधिकार जनतालाई मात्र भएकाले जनताले गरेको निर्णय र निर्देशनलाई मात्र आफूहरूले स्वीकार गर्ने बताए ।
प्याकेजमा सहमति भए आफू प्रधानमन्त्री पद त्याग्न तयार रहेको दोहोर्‍याउँदै उनले वर्तमान सरकारमा नेपाली कांग्रेस र एमालेलाई समेत पुन: सहभागी हुन आग्रह गरे । सरकार गठनताका एमाले र कांग्रेस पनि सहभागी भएको भन्दै उनले वर्तमान सरकार राष्ट्रिय सहमतिको सरकार नै भएको दाबी पनि गरे । प्रधानमन्त्री भट्टराईले सहमतिका लागि दलहरू लागिरहेकाले मुलुकले चाँडै निकास पाउने आश्वासन दिए ।
राति मुसहर बस्तीमा, दिउँसो व्यापारीकहाँ
महोत्तरीको फुल्काहा गाविसस्थित मुसहर बस्तीमा शनिबार राति बिताएर आएका प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आइतबार दुई घन्टा विराटनगरका एक उच्च घरानाका व्यवसायीकोमा बिताएका छन् । दिउँसो ४ बजे विराटनगर विमानस्थल हुँदै काठमाडौं जाने भनिएका प्रधानमन्त्री भट्टराई उडान ढिलो भएको भन्दै विराटनगरका व्यवसायी राजेन्द्र राउतको घरमा दुई घन्टा आराम गरेर बसेका हुन् ।
मुसहर बस्तीमा रातभर राम्ररी सुत्नसमेत नपाएको गुनासो गरेका प्रधानमन्त्री भट्टराईले विराटनगर आएर व्यवसायी राउतकोमा दुई घन्टा बिताएका हुन् । आइतबार दिउँसो साढे ३ बजे विराटनगर आइपुगेका प्रधानमन्त्री भट्टराईले दुई घन्टा त्यहाँ बिताएका थिए । प्रधानमन्त्रीले विराटनगर आइपुग्नेबित्तिकै आफू आराम नगरीकन यात्रा गर्न नसक्ने जानकारी गराएको स्रोतले बताए ।
उनले व्यवसायीकोमा आराम गरिरहँदा बाहिर सयौँको संख्यामा सुरक्षाकर्मी परिचालित थिए । सडक र विभिन्न चोकमा बाक्लो संख्यामा उपस्थित प्रहरीले मानिस आवागमनमा समेत कडाइ गरेको थियो । दुई घन्टा आराम गरेका प्रधानमन्त्रीले केही उच्च घरानाका व्यापारी, पार्टी कार्यकर्ता र सञ्चारकर्मीसँग भेटघाट गरेका थिए । व्यवसायी राउत प्रधानमन्त्रीको अध्यक्षतामा बनेको लगानी बोर्डका सदस्य र मोरङ व्यापार संघका सदस्य पनि हुन् । पूर्वाञ्चल उद्योग वाणिज्य संघका उपाध्यक्षसमेत रहेका व्यवसायी राउतलाई केही दिनअघि प्रधानमन्त्रीले पूर्वाञ्चल विश्वविद्यालयका सिनेट सदस्यसमेत बनाएका थिए ।

प्रतिक्रिया