दैलेख, २९ असोज । कर्णालीलाई जोड्न जुम्ला जाने वैकल्पिक सडक बन्ने भएको छ । कर्णाली राजमार्गलाई दैलेख सदरमुकाम, महाबु हँदै कालिकोटको चिलखायाबाट जुम्ला जोड्ने वैकल्पिक ट्रयाक सञ्चालनमा ल्याउन लागिएको हो ।
वैकल्पिक मार्ग सञ्चालन भएमा हाल सञ्चालनमा आएको कर्णाली राजमार्गभन्दा ४३ किलोमिटर छोटो पर्ने प्राविधिक अध्ययनले देखाएको छ । कर्णालीलाई जोड्न दैलेख सदरमुकामबाट महाबु ट्रयाक खोल्ने कार्य अन्तिमचरणमा पुगेको छ । यो सडकलाई विस्तार र व्यवस्थित गरेमा कर्णाली जोड्ने सबैभन्दा छोटो सडक हुने निर्माणमा संलग्न इन्जिनियर शालिकराम पौडेलले बताए । ‘हिमालको पेँmदबाट यो सडक विस्तार भएकाले नै भविष्यमा यो सडक नै बढी प्रयोगमा आउनेछ,’ उनले भने, छोटो र सजिलो भएकाले कर्णाली जोड्ने यो नै राम्रो मार्ग हो ।’ अहिले प्रयोगमा आएको सुर्खेत–जुम्ला सडकखण्ड दुई सय ३२ किलोमिटर छ । नयाँ बन्ने सडकको एक सय ८९ किलोमिटर हुने बताइएको छ ।
दातृ निकायको सहयोगमा ९ वर्षदेखि वैकल्पिक मार्ग निर्माण गर्न थालिएको हो । कर्णाली राजमार्गमा ठूलाठूला दुर्घटना भइरहेको समयमा यो सडक सञ्चालनमा आए यात्रुलाई निकै राहत हुने दैलेखका पूर्वजिविस सभापति टेकबहादुर खाँणले बताए । ‘यो सडक सञ्चालनमा आए कर्णाली जाने यात्रुलाई समय र खर्च दुवै बचत हुन्छ,’ उनले भने । महाबु सडक जिल्लाकै पहिलो प्राथमिकतामा रहेको स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालले बताए । यो सडक सर्वेक्षण भइरहेको र स्तरवृद्धिको काम सुरु गर्न लागिएको उनको भनाइ छ । समुद्री सतहबाट चार हजार
एक सय ६८ मिटर उचाइमा रहेको महाबु हिमालबाट कर्णाली प्रवेश गर्न सकिने भएकाले पर्यटकका लागि पनि उपयुक्त हुने प्राविधिकहरू बताउँछन् । सडक निर्माणका लागि हालसम्म ९ करोड रुपियाँभन्दा बढी खर्च भइसकेको बताइएको छ ।
प्रतिक्रिया