इलाम, २८ असोज । भारतको पञ्जाव प्रान्तस्थित चण्डीगडमा एक नेटवर्किङ्ग कम्पनीमा काम गर्ने १९ नेपाली कामदारलाई प्रहरीले आज इलामबाट पक्राउ गरेको छ ।
चण्डीगडमा सञ्चालित डाईनामिक बेनिफिसियल एकर्ड प्रालि (डीबीए) कम्पनीमा काम गर्ने नेपाली कामदारलाई तमु होटल एण्ड गेस्ट हाउसबाट पक्राउ गरिएको हो ।
माई भग्वती बृद्धाश्रमका बृद्धबृद्धा र रासहल बाल अनाथलयलाई आर्थिक सहयोग गर्ने भन्दै कार्यक्रमको तयारी गरिरहेका बेला उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा मोरङ्ग पथरीका विमल दाहाल, इमानसिंह आङ्देम्बे, चन्द्रकला राई, उर्लाबारीका सञ्जय दुलाल, रोजश शाह, दिनेश परियार, केबी गुरुङ्ग, हसन्दहका भेषराज आचार्य, विराटनगरका यादव परियार छन् ।
झापा अनारमनीका अभिलाष शाह, होमप्रसाद आचार्य, तोपगाछीकी उर्मिला राई, पञ्जु राई, पारस सुब्बा, दमकका तुलसी कुमाल, सुवास न्यौपाने, धरानका धनबहादुर गुरुङ्ग, इलाम इभाङ्गका प्रवीण लिम्बू र टेकवीर वान्तवालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालमा नेटवर्किङ्ग कारेबार गर्ने कुनै अनुमति नभएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक गणेश बाँस्तोलाले बताए ।
उनीहरुले बृद्धाश्रम बाल अनाथलयलाई ५१ हजार रुपियाँका दरले सहयोग गर्ने तयारी गरेका थिए । उनीहरुले कुनै पनि संस्थाको प्रतिनिधिको रुपमा नभई आफूहरुले व्यक्तिगत रुपमा बृद्धाश्रम र अनाथलयलाई सहयोग गर्ने बताएका छन् ।
यसअघि सोही समूहले विराटनगरस्थित माईती नेपाललाई पनि दुई लाख रुपियाँ सहयोग गरेको थिए ।
प्रतिक्रिया