बोक्सीको आरोपमा निर्घात कुटपिट

गुल्मी, २८ असोज । बोक्सीको आरोपमा गुल्मी जिल्लाको पराल्मी गाविसमा दाईले भाई/बुहारीलाई निर्घात कुटपिट गरेका छन् ।
पराल्मी–७, रातामाटाका भोजबहादुर बिश्वकर्मा र उनकी पत्नी लक्ष्मीलाई उनकै दाई र भाउजुले कुटपिट गरेका हुन् । भोजबहादुरकै दाई किसान र भाउजु शशिकलाले उनीहरुलाई निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ ।
भोजबहादुर र उनकी पत्नी लक्ष्मीलाई गाउँलेले बर्षौं देखि बोक्सीको आरोपमा मानसिक यातना दिँदै आएको पीडित लक्ष्मीको गुनासो छ । ‘कुटपिट गर्न गाउँले उल्टेर आए पनि जेठाजु र जेठानी दिदीले मात्रै कुटपिट गरे,’ लक्ष्मीले भनिन् ।
कुटपिटबाट गम्भीर घाईते भोजबहादुरको जिल्ला अस्पताल तम्घासमा उपचार हुन नसकेपछि पाल्पा पठाईएको अस्पतालले जनाएको छ ।
भोजबहादुरको टाउकोमा चोट लागेको छ । लक्ष्मीको हातमा पनि गम्भीर चोट लागेका छन् ।
पीडितहरुले न्याय माग गरेर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक राजकुमार बैदबारले जानकारी दिए ।

प्रतिक्रिया