एक लाख टिकट बुकिङ

काठमाडौं, २८ असोज । दशैंका लागि राजधानीबाहिर जाने यात्रुले लामो दूरीका एक लाख टिकट अग्रिम बुकिङ गरेका छन् । विभिन्न रुटमा चल्ने लामो दूरीका बसका लागि शनिबारसम्म एक लाख टिकट बुकिङ भएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले १० असोजदेखि गण्डकी अञ्चलबाहेक अन्य क्षेत्रमा चल्ने बसको अग्रिम टिकट बुकिङ खुलाएको थियो ।
महासंघका अनुसार अग्रिम टिकट खुला भएको १७ दिनमा एक लाखले टिकट गरिसकेको तथा एक लाखभन्दा बढी मानिस राजधानीबाहिर गइसकेका छन् । यसपटकको दसैँमा स्थलमार्गमा १० लाख बढी यात्रु हुने व्यवसायीको अनुमान छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डोलनाथ खनालले अहिले पनि अग्रिम टिकट भइरहेको र यसपटक दसैँका लागि तीन लाखले अग्रिम टिकट बुकिङ गर्ने अनुमान रहेको जनाए । उनले २९ असोजदेखि ५ कात्तिकसम्म सबैभन्दा बढी यात्रुको चाप हुने बताए ।
‘लामो दूरीका यात्रुको संख्या यसपटक १० लाख पुग्ने देखिएको छ,’ उनले भने, ‘यसका लागि हालसम्म एक लाख अग्रिम टिकट बुकिङ भइसक्यो बाँकीले यो महिनाभित्र गरिसक्नेछन् ।’ २९ असोजदेखि ५ कात्तिकसम्म लामो दूरीका लागि दैनिक एक हजार ३ सय गाडी सञ्चालन हुने खनालले बताए । विगतभन्दा यस वर्ष यात्रुको चाप बढी हुने अनुमान रहेकाले सवारीको संख्यासमेत बढाइने खनालको भनाइ छ । छोटो दूरीका यात्रुका लागि भने १ कात्तिकपछि मात्र बसको संख्या थपिने उनले जनाए ।
२० देखि पोखरालगायत पृथ्वी राजमार्गका अरू ठाउँमा पनि टिकट खुला भएकाले अहिले यात्रुको घुइँचो बढेको व्यवसायीको भनाइ छ । घटस्थापना नजिकिँदै गरेकाले पनि अहिले टिकट काउन्टरमा यात्रुको चाप बढेको छ । दसँैमा टिकटको मात्र तीन अर्ब बराबरको कारोबार हुने अनुमान व्यवसायीको छ ।
महासंघका कोषाध्यक्ष सरोज सिटौलाले यसपटकको दसैँका लागि तीन अर्ब बराबरको टिकट खरिद–बिक्री हुने बताए । मुलुकको राजनीतिक अवस्थामा सुधार नभए पनि विगतको जस्तो द्वन्द्वको अवस्था नरहेकाले राजधानी र विदेशमा रहेका मानिसको आवत–जावत बढी हुने उनले जनाए । ‘यस वर्ष दसैँमा तीन अर्बको कारोबार हुने अनुमान गरेका छौँ,’ सिटौलाले भने, ‘देश/विदेश र लामो तथा छोटो दूरीमा ३० लाख यात्रु रहने
देखिएको छ ।’
लामो दूरीका लागि अहिलेसम्म ७५ प्रतिशत अग्रिम टिकट भइसकेको र टिकट बुकिङ भएकामध्ये २० हजारभन्दा बढीले रकम बुझाउन वाँकी रहेको उनले बताए । अग्रिम टिकट गरेका यात्रुमध्ये २५ प्रतिशतले राजधानी छाडेको व्यवसायीको भनाइ छ ।
सिटौलाले दसँैमा राजधानीबाहिर जाने यात्रुलाई ध्यानमा राखेर सवारीसाधनको व्यवस्था मिलाउन महासंघले सबै यातायात व्यवसायीलाई निर्देशन दिएको बताए । आवश्यकताअनुसार नयाँ र थप गाडीको व्यवस्था हुने भएकाले विगतजस्तो यात्रुले समस्या झेल्नु नपर्ने उनको तर्क छ । तर, सम्बन्धित बुकिङकाउन्टरबाट मात्र टिकट काट्न यात्रुलाई महासंघले आग्रह गरेको छ ।
महासंघले अग्रिम टिकट बुकिङका लागि राजधानीको गोंगबुस्थित नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशालालगायत क्षेत्रमा व्यवस्था गरेको जनाएको छ । सो स्थानमा परिचयपत्र भएका आधिकारिक कर्मचारीबाट मात्र टिकट खरिद गर्न महासंघले यात्रुलाई अपिलसमेत गरेको छ ।
यस्तै, यात्रुको बढी चाप हुने स्थान कलंकी, नयाँ बसपार्क, कोटेश्वरलगायत क्षेत्रमा ट्राफिक प्रहरीको सहयोगमा हेल्प डेक्स स्थापना गरेको छ भने टिकट काउन्टरमा ट्राफिक प्रहरीले समेत निगरानी बढाएको जनाएको छ । ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका ३२ वटै ट्राफिक प्रहरी पोस्टमा नागरिक सहायता कक्ष स्थापना गरिएको जनाएको छ ।

प्रतिक्रिया