प्रमुख अतिथिलाई भ्याइनभ्याइ

काभ्रे, २८ असोज । बनेपामा शनिबार मात्रै एक दर्जन सहकारीको साधारणसभा भएको छ । असोज मसान्तभित्र साधारणसभा गरिसक्ने अनिवार्य व्यवस्था भएपछि साधारणसभा आयोजना गरिएको हो । बनेपा, पनौती, धुलिखेल, नाला र ग्रामीण भेगमा गरी २५ सहकारीको साधारणसभा सम्पन्न भएको छ । साधारणसभा एकैचोटि परेपछि प्रमुख अतिथिलाई भने भ्याइनभ्याइ भएको थियो ।
बनेपामा ठूलो सहकारीका रूपमा रहेको बनेपा विकासको छैटाँै साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा अध्यक्ष दिलीपकुमार श्रेष्ठले आर्थिक वर्षको अन्त्यसम्ममा १ हजार २४ सेयर सदस्यबाट ३ करोड ३७ लाखको सेयर पुँजी रहेको जानकारी गराए । सचिव सुदेन श्रेष्ठले १४ करोड ९३ लाख ७३ हजार बचत संकलन गरी १३ करोड ६३ लाख ऋण लगानी गरेको जानकारी दिए । कोषाध्यक्ष ज्ञानबहादुर श्रेष्ठ मल्लेपतिले व्यावसायिक उद्देश्यका लागि सहकारीले उल्लेख्य योगदान गरेको बताए ।
त्यसैगरी, हिमाल बचत तथा ऋण सहकारीको पाँचाँै साधारणसभा सकिएको छ । संस्थाले १ करोड ५० लाख रुपियाँको कारोबार गरेको जनाएको छ । १ सय ४० सेयर सदस्य रहेको सहकारीमा संस्थाको सेयर पुँजी १२ लाख ४३ हजार ५ सय छ भने ४७ लाख ऋण लगानी गरी १८ लाख २४ हजार निक्षेप संकलन गरेको छ । सभामा संस्थाका अध्यक्ष देवराज दाहालले वार्षिक कार्यक्रम, सचिव हुद्दराज तिमल्सिनाले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष बद्रीप्रसाद तिमल्सिनाले आर्थिक प्रतिवेदन पेस गरे ।
अन्य सहकारीमा माइक्रो बचत तथा ऋण सहकारीका कोषाध्यक्ष राजकुमार श्रेष्ठले संस्थाको सेयर पुँजी ६६ लाख ५० हजार, बचत १ करोड ६ लाख ५१ हजार, कर्जा लगानी २ करोड ९ लाख ३ हजार लगानी गरी १ करोड २१ लाख २६ हजार असुली गरी ३ लाख ६० हजार नाफा गरेको बताए । सचिव रामचन्द्र भट्टराईले सदस्यको सेवाका लागि विभिन्न प्रकारका बचत तथा ऋणका कार्यक्रम लागू गरेको बताए । संस्थाका अध्यक्ष दिलीपकुमार शाहले विशेष गरी बाहिरी जिल्लाबाट काभ्रे आई बसोवास गरेका व्यक्तिका लागि सहकारीले योगदान पुर्‍याएको बताए ।
बनेपाकै अजना बहुउद्देश्यीय सहकारीको छैटाँै साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा संस्थाले आर्थिक वर्षको अन्त्यसम्ममा १ करोड २६ लाख ४९ हजार सेयर संकलन गरी १ करोड ९६ लाख ३५ हजार निक्षेप संकलन गरेको छ । संस्थाले ३ लाख ९० हजार नाफा गरेको छ भने सेयर सदस्यका लागि विभिन्न बचतका कार्यक्रम सार्वजनिक गरेको छ । साधारणसभामा अध्यक्ष सीताराम श्रेष्ठ, सचिव विष्णुप्रसाद दाहाल, कोषाध्यक्ष बुद्धभक्त रञ्जितलगायतले संस्थाको प्रगति प्रतिवेदन र वार्षिक कार्यक्रम पेस गरे ।
बनेपाकै सम्वृद्धि बचत तथा ऋण सहकारीको चौथो साधारणसभा सम्पन्न भएको छ । आव ०६८/६९ को आय–व्यय तथा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । संस्थाले ६ करोड १८ लाखको कारोबार गरेको छ भने २५ लाख २४ हजार सेयर पुँजी संकलन गरी १ करोड ९७ लाख ३० हजार बचत संकलन गरेको अध्यक्ष साधुराम दाहालले बताए । सभामा सचिव पुष्पराज कोइरालाले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष भीमप्रसाद सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभा गरेका अन्य सहकारीमा पिपुल्स सहकारी, आदर्श आर्थिक विकास सहकारी, क्युपेक बचत तथा ऋण सहकारी र गौरीशंकर बहुउद्देस्यीय सहकारीको पनि १२औँ साधारणसभा सम्पन्न भएको छ । बाँकीका सहकारीमा सहयात्रा, गौरीशंकर नारी चेतना, नालामा टुकुचा जागरणलगायत छन् ।

प्रतिक्रिया