नयाँ स्कुलमा आज अर्पणको पहिलो दिन । बुबाको जागिर सरुवा भएका कारण उसले पहिलेको स्कुल छाड्नुपरेको थियो । अर्पण बिहानै उठ्यो, नित्यकर्म सक्यो । उसलाई नयाँ स्कुल कस्तो होला, साथीहरू कस्ता होलान् भन्ने लागिरहेको थियो । त्यत्तिकैमा आमाले खाना खान बोलाउनु भयो । खाना खाएर स्कुल जान तयार भयो । आमाले टिफिन बक्स दिँदै भन्नुभयो, ‘बाबु बाहिरको खानेकुरा नखाऊ है रोग लाग्छ ।’ अर्पणले पनि हस् भन्दै टिफिन बक्स लिएर हिँड्यो । स्कुल पुग्दा सबै साथी कक्षामा पसिसकेका रहेछन् । ऊ पनि कक्षातिर लाग्यो । ‘ओहो † कति धेरै साथी’, मनमनै सोच्यो र दोस्रो बेन्चमा गएर बस्यो । सँगैको साथीसँग परिचय गर्यो । उसको नाम दिपु रहेछ । सर आउनुभयो । हाजिर गर्नुभयो र नेपाली पढाउन थाल्नुभयो । साह्रै राम्रोसँग पढाउनुभयो । अर्पणलाई रमाइलो लाग्यो । ४ पिरियडसम्म पढेपछि खाजा खाने समयको घन्टी लाग्यो । सबै साथीहरू बाहिर निस्के । ऊ पनि टिफिन बक्स बोकेर निस्कियो ।
उसले हात धोयो र चौरमा रहेको रूखमुनि बसेर खाजा खान थाल्यो । आमाले हलुवा र पुरी बनाइदिनुभएको रहेछ । तर, अरू विद्यार्थी त सबै क्यान्टिनमा गएर पो खाजा खाँदा रहेछन् । कोही चाउमिन, कोही म:म:, कोही समोसा । उसलाई अचम्म लाग्यो । मनमनै सोच्यो, ‘किन घरबाट खाजा ल्याएर नखाएका होलान् ।’ यत्तिकैमा पछाडिबाट एउटाले भन्यो, ‘हेर न साथी हो, हाम्रो नयाँ साथीले त घरबाट ढिँडो ल्याएर पो खाँदै छ ।’ अर्कोले भन्यो, ‘हाम्रा साथीका बाबुआमाले पैसा जोगाएर संसार किन्न आँटेका होलान् नि †’ सबै गलल हाँसे । उसले पछाडि फर्केर हेर्यो । ऊ त दिपु पो रहेछ । उसलाई नरमाइलो लाग्यो । यत्तिकैमा घन्टी लाग्यो, सबै कक्षातिर लागे । ऊ पनि मन नलागी–नलागी कक्षामा गयो । सरहरू आउनुभयो, पढाउनुभयो, जानुभयो तर उसको दिमागमा केही छिरेन । साथीहरूले गिज्याएको मात्र सम्झिरह्यो । स्कुल छुट्टी भयो । उसले पनि भोलिदेखि घरबाट पैसा ल्याएर क्यान्टिनमा नै खाने निधो गर्यो ।
अर्पण घर पुग्यो । आमा आँगनमै हुनुहुँदो रहेछ । आमाले सोध्नुभयो ‘छोरा, स्कुलको पहिलो दिन कस्तो भयो त ?’ अर्पणले भन्यो, ‘आमा हाम्रो स्कुलमा त सबैजना टिफिन टाइममा क्यान्टिनमा बनाएको खानेकुरा खाँदा रहेछन् । म पनि भोलिबाट पैसा लगेर क्यान्टिनमा नै खाजा खान्छु ।’ आमाले सम्झाउनुभयो, ‘हेर बाबु बाहिरको खानेकुरा खानु हुँदैन । बाहिरका खानेकुराहरू बासी, झिँगा भन्केका हुन्छन्, कुनैमा खान नहुने रङ र अन्य कुरा पनि मिसाइएको हुन्छ, जसले हाम्रो शरीरका साथै मस्तिष्कलाई पनि असर पुर्याउँछ ।’ तर, अर्पणले आमाको कुरा सुनेन । भोलिपल्ट स्कुल जाँदा आमाले बनाएको खाजा लिएन । बरु, खाजा नै खान्न भन्यो । तब, आमाले दराजबाट बीस रुपियाँ झिकेर दिनुभयो । ऊ खुसी हुँदै स्कुल गयो ।
ऊ स्कुल पुग्दा १० बज्न १० मिनेट बाँकी थियो । यतिबेला त सबै विद्यार्थी चौरमा टन्न हुन्थे । आज त कोही थिएनन् । सर–मिसहरू मात्र हुनुहुन्थ्यो । ऊ सरहरूको नजिकै गयो । तब, एक जना सरले उसलाई सोध्नुभयो ‘अर्पण, तिमीले हिजो के खाजा खायौ ?’ अर्पणले भन्यो, ‘सर मैले त आमाले बनाइदिनुभएको हलुवा र पुरी खाएँ ।’ तब, सरले भन्नुभयो, ‘ए त्यसैले त तिमीलाई केही भएनछ । तिम्रा अरू साथीहरूले क्यान्टिनको खाजा खाएछन् । क्यान्टिनको पानी फोहर र खानेकुरा बासी भएका कारण आज सबै बिरामी परेछन्, कोही स्कुल आएनन् । तिमीले जस्तै उनीहरूले पनि आफ्नै घरबाट खाजा ल्याएर खाएका भए यस्तो हुँदैनथ्यो । स्याबास् अर्पण । अब, सबै विद्यार्थी स्कुल आएपछि तिम्रो उदाहरण दिएर घरबाटै खाजा ल्याएर खान लगाउनेछौँ ।’ सबै सर–मिसले हो..हो भन्नुभयो । नयाँ स्कुलमा यति छिट्टै सबैले आफूलाई चिन्ने ठानेर अर्पण खुसी भयो । आमासँग पैसा मागेर आफूले गल्ती गरेको महसुस भयो र घर जानेबित्तिकै आमासँग माफी माग्ने निश्चय गर्यो ।
प्रतिक्रिया