स्नातक चारवर्षे, स्नातकोत्तरमा सेमेस्टर प्रणाली

काठमाडौं, २८ असोज । त्रिभुवन विश्वविद्यालयले यस शैक्षिक सत्रदेखि चारवर्षे स्नातक र स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरेको छ । त्रिविले सबै स्नातक तहलाई चारवर्षे बनाउने योजनाअनुसार यस वर्ष विज्ञान संकाय, मानविकी संकायको ललितकला विषयमा चारवर्षे कोर्स र स्नातकोत्तरमा सेमेस्टर प्रणाली सुरु गरेको हो ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार कोर्स बनाउन र पढाइको स्तर बढाउन चारवर्षे र सेमेस्टर प्रणाली लागू गरिएको त्रिविका रजिस्ट्रार चन्द्रमणि पौडेलले बताए । त्रिविले एक वर्षअघि सबै संकायलाई चारवर्षे पाठयक्रम बनाउने निर्देशन थियो । तर, यो वर्ष विज्ञान संकाय र ललितकला विभागले मात्रै पाठयक्रम तयार पारेपछि अन्य यी दुईमा मात्रै लागू गरिएको हो । त्रिविले प्रमाणपत्र तह हटाएपछि अन्तर्राष्ट्रिय मापदण्डअनुसार ६ वर्ष विश्वविद्यालयको कोर्स बनाउन चारवर्षे कोर्स सुरु गरेको हो । रजिस्ट्रार पौडेलले अर्को शैक्षिक सत्रदेखि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा पनि चारवर्षे कोर्स सुरु हुने बताए । यसअघि त्रिविले कानुन, कृषि तथा वन, इन्जिनियरिङ तथा चिकित्सा, व्यवस्थापनमा बिबिए र टेक्निकल विषयमा चार तथा पाँचवर्षे कोर्स सञ्चालन गरिसकेको छ ।
विज्ञान संकायका सहायक डिन सुमनलाल श्रेष्ठले चारवर्षे विज्ञान संकाय सैद्धान्तिक र व्यावहारिक हुने बताए । चारवर्षे कोर्स २ हजार पूर्णांकको विज्ञान विषय भौतिक, रसायन, जीव र गणित हुने बताइएको छ । प्रत्येक वर्ष विद्यार्थीले ५ सय पूर्णांकका दरले अध्ययन गर्नेछन् । यसअघि विद्यार्थीले १४ सय पूर्णांकको ती विषय पढाइ हुने गथ्र्याे ।
चारवर्षे कोर्समा विद्यार्थीले दुई मेजर विषय छनोट गर्न पाउने भएका छन् । सहायक डिन श्रेष्ठले नयाँ कोर्सअनुसार विद्यार्थीले भौतिक तथा रसायन दुवैमा स्नातक पढ्ने पाउने व्यवस्था रहेको बताए । ‘पहिले गर्दा स्नातकोत्तरमा विद्यार्थी जुन विषयमा स्नातक पास गर्‍यो त्यही विषय पढ्नुपर्ने अनिवार्य थियो,’ उनले भने, ‘अहिले भने दुईमध्ये एकमा गर्न पाउनेछन् ।’ अघिल्लो तीन वर्ष कोर्समा एउटा विषय मात्र लिएर स्नातक अध्ययन गर्न पाइन्थ्यो । ७ विषयको पाठयक्रम तयार भइसकेको छ भने माइक्रो बायोलोजी, बोटनी र हाइड्रोलोजी तथा मेट्रोलोजीको भने तयार हुन बाँकी छ । पहिलो र दोस्रो वर्षमा भिन्नता नरहे पनि तेस्रो र चौथो वर्षमा भने केही व्यावहारिक कार्यक्रम थपिएको सहायक डिन श्रेष्ठको भनाइ छ । उनका अनुसार विज्ञान संकायलाई व्यावहारिक बनाउन प्रोजेक्टवर्क, फिल्ड रिसर्च र इन्टर डिसिपनरीजस्ता कार्यक्रम थपिएको छ । विद्यार्थीले प्रथम वर्षमा पहिलेकै ४५० पूर्णांक र थप ५० पूर्णांकको साइन्टिफिक कम्युनिकेसन पढ्नेछन् ।
यसैगरी, दोस्रो वर्ष पनि ५० पूर्णांकको अपलाइड स्टाटिक्स विषय थपिएको छ । विद्यार्थी तेस्रो वर्षमा मात्र कुनै दुई विषय छनोट गर्न पाउनेछन् । तेस्रो वर्षमा छनोट गरिएका विषय २/२ सय पूर्णांकका दरले पढ्नुपर्ने छ । ती विषयमा ५०/५० पूर्णांक प्रयोगात्मक हुनेछ । यसैगरी, ५० पूर्णांकको रिसर्च मेथोलोजी र ५० पूर्णांकको आफूले रोजेको विषयमाइन्टर डिसिपिनरी गर्नुपर्ने छ ।

प्रतिक्रिया