एमाले पुन:स्थापनाको चक्करमा नलाग्ने

काठमाडौं, २८ असोज । एमालेले संविधानसभा पुन:स्थापनाको चक्करमा नलाग्ने निर्णय गर्दै पार्टीका तर्फबाट विघटित संविधानसभामा प्रतिनिधित्व गरेका सदस्यहरूलाई निर्णयविरुद्ध नलाग्न निर्देशन दिएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले विवादित विषय पछि बन्ने संसद् वा जनमत संग्रहबाट समाधान गर्ने गरी नयाँ संविधान जारी गर्ने नयाँ प्रस्ताव गरेका बेला एमालेले संविधानसभा पुन:स्थापनाको विकल्पलाई पुन: अस्वीकार गरेको हो ।
बल्खुस्थित पार्टी मुख्यालयमा शनिबार बसेको स्थायी समिति बैठकले ताजा जनादेशमा गएर राजनीतिक तथा संवैधानिक संकट समाधान गर्ने पार्टीको पुरानो निर्णयमा अडिक रहँदै संविधानसभा पुन:स्थापनाको चक्करमा नलाग्ने निर्णय गरेको हो । ‘संविधानसभा पुन:स्थापनाको जुन पछिल्लो चर्चा चलाइएको छ त्यसको चक्करमा नलाग्ने र ताजा जनादेशमा जाने पहिलेकै निर्णयमा कायम रहने निर्णय भएको छ,’ बैठकपछि वरिष्ठ नेता माधवकुमार नेपालले भने, ‘पार्टीले गरेको निर्णयविपरीत पुन:स्थापनाको पक्षमा हुने कुनै पनि कार्यक्रममा सहभागी नहुन पार्टीका पूर्वसभासद्हरूलाई बैठकले निर्देशित गरेको छ ।’
विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने पूर्वसदस्यले बिहीबार संविधानसभा भवनमै भेला गरी पुन:स्थापनाको पहल गरेका थिए । भेलामा एमालेका पनि केही पूर्वसभासद् सहभागी थिए । पार्टीको निर्णय प्रतिकूल हुने गरी कुनै पनि भेला/बैठकमा गएर संविधानसभा पुन:स्थापनाको पक्षमा नलाग्न र पार्टीको निर्णयका पक्षमा उभिन पनि बैठकले उनीहरूलाई निर्देशन दिएको छ । ‘पार्टीले ताजा जनादेशमा जाने निर्णय गरिसकेपछि पार्टीका हरेक तहका कार्यकर्ताले त्यसैको पक्षमा लाग्नुपर्छ,’ उपाध्यक्ष विद्या भण्डारीले भनिन्, ‘पुन:स्थापनाको पक्षमा भएका भेलाहरूमा अनधिकृत रूपमा नजान पूर्वसभासद्लाई पार्टीले निर्देशन दिएको छ ।’
चियापान १४ कात्तिकमा
यस्तै, बडादसैँ, तिहार, नेपाल सम्बत्, छठ तथा इद् उल ज्जोहाको अवसरमा पार्टीका तर्फबाट अध्यक्षले गर्दै आएको शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम १४ कात्तिकमा आयोजना गर्ने निर्णय एमालेले गरेको छ । पार्टी केन्द्रीय सचिवालयको शनिबार बसेको बैठकले कोजाग्रत पूर्णिमाको भोलिपल्ट १४ कात्तिकमा जलपान समारोह आयोजना गर्ने निर्णय गरेको हो । १८ वर्षअघि पार्टीका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले पार्टीका तर्फबाट जलपान समारोह आयोजना गर्ने सुरुआत गरिएको थियो ।
१४ कात्तिकमा मध्याह्न १२ बजे सुरु हुने जलपान समारोहमा कूटनीतिक नियोगका प्रतिनिधि, राजनीतिक दलका नेताहरू, सामाजिक जीवनका विशिष्ट व्यक्तित्व, निजामती तथा जंगीसेवाका राष्ट्रसेवक कर्मचारी, बुद्धिजीवी, उद्यमी–व्यवसायी, सञ्चारकर्मी, पार्टी कार्यकर्ता र आमनागरिकलाई आमन्त्रण गरिएको पार्टी सचिव विष्णु पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पार्टी त्यागेका ९ नेताको सदस्यता खारेज

स्थायी समिति बैठकले पार्टी त्यागेका उपाध्यक्ष अशोक राईसहित केन्द्रीय कमिटीका ६ नेता र ३ पूर्वसभासदलाई पार्टीको साधारण सदस्यवाट निश्कासन गरेको छ । पार्टीको साधारण सदस्यवाट निश्कासित हुनेमा पूर्वउपाध्यक्ष अशोक राई, पोलिटब्युरोका वैकल्पिक सदस्य विजय सुब्बा, केन्द्रीय सदस्य रकम चेम्जोङ, राजेन्द्र श्रेष्ठ, बीरबहादुर लामा र बैकल्पिक केन्द्रीय सदस्य अजम्बर राई काङ्माङ छन् । यस्तै विघटित संविधानसभामा एमालेवाट प्रतिनिधित्व गरेका पूर्वसभासद्हरू रिजवान अन्सारी, मंगलसिद्धि मानन्धर र पासाङ शेर्पाको पनि साधारण सदस्यबाट निश्काशित भएका छन् ।
‘पार्टी त्यागेको घोषणा गरेका नौ जनाको नाम पार्टीको साधारण सदस्यको अभिलेखवाट हटाउने निर्णय भएको छ,’ उपाध्यक्ष भण्डारीले सौर्यसँग भनिन्, ‘पार्टीको काममा फर्कन चाहनेलाई पार्टीले पूर्ववत जिम्मेवारी दिने पनि निर्णय भएको छ ।’ १८ असोजमा एक कार्यक्रम गरी संघीयताबारे असन्तुष्ट रहेका अग्रगामी विचार समूहका राईसहित केन्द्रीय कमिटीका ६ नेता र अन्य कार्यकर्ताले पार्टी त्यागेको घोषणा गरेका थिए ।
राईसहितका ६ नेता र ५ सय १७ जना जिल्लास्तरीय कार्यकर्ताले पार्टी त्यागेको घोषणा गरिएकोप्रति बैठकमा समीक्षा भएको थियो । ५ सय १७ कार्यकर्ताले पार्टी त्यागेको भनिए पनि त्यसमा सत्यता नभएको ठहर बैठकले गरेको छ । भेलामा उपस्थित जोसुकै भए पनि पार्टी त्याग्नेको नामका रूपमा प्रचारित गरिएको एमालेको विश्लेषण छ । कति जनाले पार्टी त्याग गरेको भन्ने विषयमा छानविन गर्ने र पार्टी त्यागेकालाई पनि फर्काउन पार्टी केन्द्रित हुने निर्णय बैठकले गरेको छ ।
‘अहिले नौ जनाको पार्टी सदस्यता खारेज गर्ने निर्णय भएको छ, बाँकीले पार्टी त्यागेका हुन् कि होइनन् छानविन गरेर निश्कर्षमा पुग्ने कुरा भएको छ,’ वरिष्ठ नेता नेपालले बैठकपछि भने ।

प्रतिक्रिया