प्राचार्यद्वारा पाँच लाख हिनामिना

जाजरकोट, २८ असोज । पूर्वी जाजरकोटको लहँ–४, खाल्लाचौरस्थित भानुभक्त उच्चमाध्यामिक विद्यालयका प्राचार्य मोहनबहादुर खड्काले विद्यालयको पाँच लाख रुपियाँ हिनामिना गरेको पाइएको छ ।
नेपाल बैंक लिमिटेड जाजरकोट शाखामा विद्यालयको चल्ती हिसाब नम्बर ३०५ मा रहेको रकममध्ये करिब पाँच लाख रुपियाँ हिनामिना गरेको विद्यालयले जनाएको छ । विद्यालयको खातामा साढे पाँच लाख रुपियाँभन्दा बढी रकम हुनुपर्नेमा २७ हजार पाँच सय १८ रुपियाँ मात्र रहेको शिक्षक डिल्लुप्रसाद न्यौपानेले जानकारी दिए । विद्यालयको खातामा रहेको आन्तरिक स्रोतको रकम खड्काले हिनामिना गरेको शिक्षकले बताए । ‘विद्यालयको खातामा रहेको साढे पाँच लाख रुपियाँमध्ये ३१ भदौसम्मको बैंक स्टेटमेन्टमा २७ हजार पाँच सय १८ रुपियाँ मात्रै छ,’ शिक्षक न्यौपानेले भने ।
२३ असोजमा बसेको विद्यालय व्यवस्थापन समितिको बैठकमा हिसाबकिताब देखाउनभन्दा तीन वर्षदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएका खड्काले सुरुमा खातामा छ भनेर ढाँटेका थिए तर आफूहरूले खातामा भएको रकमबारे जानकारी दिँदै ताकेता गरेपछि ब्याजमा लगाएको भनेर पन्छिन खोजेको शिक्षकले न्यौपानेले बताए ।
प्रधानाध्यापक खड्काले पनि विद्यालयको रकम निकालेर खर्च गरेको घुमाउरो पाराले स्विकारेका छन् । ‘बैंकमा राखिरहँदा विद्यालयलाई कुनै फाइदा नहुने भएकाले पैसा निकालेर ब्याजमा लगाएको छु । मैले रकम हिनामिना गरेको छैन ।’ प्रधानाध्यापक खड्काको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘विद्यालयको रकम बाहिर निकालेर कुनै गल्ती गरेको छैन ।’ विद्यालय व्यवस्थापन समितिले भने आफूसँग कुनै सल्लाह नगरी मनपरी रूपमा प्रधानाध्यापक खड्काले रकम निकालेको जनाएको छ । विद्यालयमा करिब दुई वर्षदेखि लेखापरीक्षणसमेत नगरिएको विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष भरत रावलले जानकारी दिए ।
प्रधानाध्यापक खड्का अस्थायी शिक्षक हुन् । स्नातक मात्र पास गरेका उनले अहिले विद्यालयमा प्राचार्यको समेत जिम्मेवारी सम्हाल्दै आएका छन् । अधिकांश समय विद्यालयमा हाजिर नहुने उनी वर्षेबिदापछि विद्यालयमा दुईदिन मात्र हाजिर भएको विद्यालयले जनाएको छ । शिक्षक खड्काले यसअघि पनि विद्यालयमा १४ दिन हाजिर भएर चार महिनाको तलब खाएको बताइएको छ । प्रधानाध्यापक भएदेखि नै कसैलाई थाहै नदिएर विद्यालयको खातामा रहेको रकम निकालेर खड्काले दुरुपयोग गरेको शिक्षकहरूले बताए ।
उनले गाउँ विकास समिति, जिल्ला विकास समितिलगायत विभिन्न संघसंस्था र व्यक्तिले दिएको रकमको कुनै हिसाबकिताब नराखेको पाइएको छ । ‘विद्यालयको वार्षिकोत्वसको समयमा उठेको रकमको पनि प्रधानाध्यापक खड्काले विद्यालयको नाममा जम्मा नगरेर खल्तीमा हाल्ने गरेका छन्,’ अर्का शिक्षक हरिश गौतमले भने, ‘हिसाब माग्दा उल्टै किन हिसाब चाहियो तँ को होस् भन्दै धम्क्याउनुहुन्छ ।’
शिक्षा अधिकारी गिरमान थापाले विद्यालयको रकम हिनामिना गरेको देखिए प्रधानाध्यापक खड्कालाई कारबाही हुने बताए । उनले विद्यालयको रकम ब्याजमा लगाउन नपाइने पनि जानकारी दिए । ‘सार्वजनिक सम्पत्ति निजी सम्पत्तिको रूपमा प्रयोग गरे अख्तियारको दुरुपयोग गरेको ठहरिन्छ ।’ जिशिअ थापाले भने, ‘यदि त्यसो हो भने यथार्थ बुझेर कारबाहीको प्रक्रिया अगाडि बढ्छ ।’ विद्यालयको रकम निकालेर खड्काले नेपालगन्जमा घरसमेत निर्माण गरेको स्थानीय प्रकाश पन्तको आरोप छ ।

फरक आस्थाका कारण पूर्वाग्रह
प्रधानाध्यापक खड्काले फरक आस्था भएका विद्यार्थी र अभिभावकलाई फरक किसिमको व्यवहार गर्दै आएको स्थानीय प्रकाश पन्तले बताए । उनी तत्कालीन एकीकृत नेकपा (माओवादी) निकट शिक्षकको संगठन अखिल नेपाल शिक्षक संगठनको उपाध्यक्ष थिए भने अहिले माओवादी फुटेपछि संस्थापन पक्षको शिक्षक संगठनको जिल्ला सम्मेलन आयोजक समितिका संयोजक हुन् ।
उनी सबैभन्दा पहिले राप्रपासम्बद्ध भए पनि त्यसपछि एमाले, माओवादी, फेरि एमाले हुँदै पुन: एकीकृत माओवादीमा प्रवेश गरेका व्यक्ति हुन् । सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेका खड्काले आफैले पढाएका विद्यार्थीको प्रयोगात्मक परीक्षामा ‘टिपेक्स’ लगाएर फेलसमेत गरेका छन् । कक्षा १२ को प्रयोगात्मक परीक्षामा विषयगत शिक्षकले दिएको अंक खड्काले टिपेक्स लगाएर मेटाएपछि विद्यार्थी विष्णु रावल अनुत्तीर्ण भएका छन् । उच्चमाध्यमिक शिक्षा परिषद्को क्षेत्रीय कार्यालय नेपालगन्जले प्रयोगात्मक परीक्षामा टिपेक्स लगाएर पठाएका कारण नम्बर दिन नसकिएको विद्यालयलाई लिखित जानकारी गराइसकेको छ ।
विद्यार्थी रावलले खड्कालाई कारबाहीको माग गर्दै सिडिओ कार्यालय र जिल्ला शिक्षा कार्यालय जाजरकोटमा उजुरी दिएका छन् । एक महिनाअघि उजुरी दिए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको पीडित रावलले गुनासो गरे । एकीकृत माओवादीनिकट शिक्षक भएकै कारण उनीमाथि कारबाही हुन ढिलाइ भइरहेको विद्यार्थी रावलको दाबी छ । खड्काले राजनीतिक आडमा मनपरी काम गरेको स्थानीय अभिभावकको गुनासो छ तर जिशिअ थापाले कुनै दल, संगठन वा संस्थामा आबद्ध हुँदैमा कोही पनि कानुनी कारबाहीबाट मुक्त हुन नसक्ने बताए ।

प्रतिक्रिया