म्याच “टाई” भएपछि नेपाल र युएई सहविजेता


काठमाडौं, २७ असोज । मध्यक्रमका ब्याट्सम्यानहरू नियमित अन्तरमा आउट भएपछि नेपाल जितनजिक पुगेर पनि एसिसी ट्रफी एलिट कपको सहविजेतामा सीमित हुनुपरेको छ । शक्ति गौचनले अन्तिम ओभरमा छक्का प्रहार नगरेको भए नेपाल अझ तेस्रोपटक उपविजेतामै सीमित हुनुपर्ने थियो ।
४४.५ ओभरमा २००–५ को स्थितिमा पुगेर नेपाल विजयतर्फ लम्किएको थियो । तर, आशा गरिएका पृथु बाँस्कोटा, विनोद भण्डारी र वसन्त रेग्मी सस्तैमा समेटिएपछि ४७.१ ओभरमा नेपाल २२२–८ को स्थितिमा पुग्यो । लगातार बलमा वसन्त र विनोद आउट भए । पृथु र वसन्त समान दुई रनमा आउट भए भने विनोद बल नै सामना नगरी आउट भए ।
अन्तिम ओभरमा जितका लागि नेपाललाई १२ रनको आवश्यकता थियो तर पहिलो तीन बलमा दुई रन मात्र जोडेको नेपालका लागि शक्तिले चौथो बलमा छक्का र पाँचौँ बलमा दुई रन जोडेर खेललाई नेपालको पक्षमा मोडेका थिए । तर, छैटौँ बलमा जितका लागि दुई रन आवश्यक रहँदा लङअफमा बल प्रहार गरेका शक्ति विजयी रन लिने क्रममा रनआउट भएका थिए ।
पहिलो विकेटका लागि २१.५ ओभरमा ९४ रनको साझेदारी गर्दै नेपालले उपाधिका लागि बलियो दाबेदारी प्रस्तुत गरेको थियो । तर, दुवै प्रारम्भिक ब्याट्सम्यान करिब सँगसँगै आउट भएपछि नेपालले कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लबीच तेस्रो विकेटका लागि भएको ५९ रनको साझेदारी कुर्नुपरेको थियो । दोस्रो विकेटका रूपमा आउट हुनुअघि ओपनर सुभास खकुरेलले अर्धशतकीय इनिङ खेल्दै ५५ रन जोडे भने अर्का ओपनर अनिल मण्डल अर्धशतक बनाउनबाट ६ रनले चुके । युएईविरुद्ध समूह चरणमा उनले अर्धशतक बनाएका थिए । ३२ रन बनाएका मल्ल र ३१ रन बनाएका खड्का लगभग सँगै आउट भएपछि नेपाल ३६.३ ओभरमा १६५–४ को स्थितिमा पुगेको थियो, यद्यपि जितका लागि यो योगफल निकै बलियो आधार भइसकेको थियो । अन्तिम समयसम्म राम्रो खेलेका सरद भेषवाकरले एक चौका र दुई छक्कासहित ३८ रन जोडे । उनले पाँचौँ विकेटका लागि प्रदीप ऐरी (१६) सग ३२ रनको साझेदारी गरेका थिए । ६ म्याचमा २ सय ९१ रन जोड्नुका साथै नौ विकेट लिएका नेपाली कप्तान खड्का म्यान अफ दि सिरिज भए । पारस प्रतियोगितामा सबैभन्दा बढी रन जोड्ने खेलाडी भए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्न पठाइएको युएईका लागि छैटौँ नम्बरमा खेल्न आएका सकिब अलीको शतकीय इनिङमा घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ४१ रन जोडेको थियो । १०१ रनको योगदान गरेका अलीले कुनै समय ७०–४ को स्थितिमा रहेको टोलीलाई कप्तान खुर्रम खानसँग ८७ रनको साझेदारी गरी उद्धार गरेका थिए । खुर्रमले ६१ रन जोडे । इनिङको अन्तिम बलमा वसन्त रेग्मीलाई चौका प्रहार गर्दै सकिबले सतक पूरा गरेका थिए । कुनै समय २४–३ को स्थितिमा पुगेको युएईका लागि खुर्रमले तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका हारुन इफ्तिकारसँग ४६ रनको साझेदारी गर्दै तत्कालीन संकट टार्ने प्रयास गरेका थिए । बलिङतर्फ नेपालका शक्ति गौचनले तीन विकेट लिए । उनी १५ विकेट लिएर प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडी भए ।
शक्तिका अतिरिक्त सञ्जम रेग्मीले ५५ रन खर्चेर एक विकेट लिए भने युएईका दुई खेलाडी रनआउट भएका थिए ।
ब्याटिङ र बलिङ दुवैमा नेपाल अगाडि

नेपाल र युनाइटेड अरब इमिरेट्स सह–विजेता बनेको एसियन क्रिकेट काउन्सिल ट्रफी एलिट २०१२/१३ को प्रदर्शनका विविध पक्षमा नेपाली खेलाडीको वर्चस्व रहयो । प्लेयर अफ दि सिरिजको उपाधि जितेका कप्तान पारस खड्का टुर्नामेन्टमै सर्वाधिक रन बनाउने ब्याट्सम्यान बने । उनले ६ म्याचको ५ इनिङमा एक नटआउट रहँदै ७२.७५ को औसतले २९१ रन बनाए, जसमा उनको सर्वोच्च व्यक्तिगत स्कोर १०६ रन नटआउट रहयो । १०६.२० स्ट्राइक रेटमा उनले एक शतक र दुई अद्र्धशतक प्रहार गरे । उनले कुल २४ चौका र आठ छक्का पनि प्रहार गरे । अलराउन्ड प्रदर्शन गर्ने क्रममा पारसले ६ म्याचमा ४७.२ ओभर बलिङ पनि गरे जसमा उनले २२२ रन खर्चेर ९ विकेट लिए । धेरै रन बनाउनेको सूचीमा दोस्रो नम्बरमा ओमानका जिसान मक्सुद रहे जसले चार म्याचमा एक शतक र एक अद्र्धशतकसहित २४९ रन बनाए । उनको सर्वोच्च निजी स्कोर १९९ रन रहयो । सर्वोच्च निजी स्कोर १०१ रहेका युएईका सकिब अली २२२ रनसहित तेस्रो स्थानमा रहे । नेपालका ज्ञानेन्द्र मल्ल २१२ रन बनाएर यो सूचीमा छैटौँ स्थानमा र अनिल मण्डल २०० रन बनाएर सातौँ नम्बरमा रहे ।
यसैगरी, शक्ति गौचन सर्वाधिक विकेट लिने खेलाडी बने । उनले ६ म्याचमा कुल ५१.५ ओभर बलिङ गरे, जसमा ९ ओभर मेडन राख्दै उनले १५५ रन खर्चेर १५ विकेट लिए । ३२ रनमा पाँच विकेटको सर्वश्रेष्ठ प्रदर्शनमा रहेका शक्तिको प्रतिविकेट रनऔसत ११.०० रहयो भने इकोनोमी रेट ३.१८ । उनको स्ट्राइकर रेट २०.७ रहयो । शक्तिले समूहचरणमा युएईविरुद्ध गरेको ८.२– १–३२–५ को प्रदर्शन टुर्नामेन्टकै पाँचौँ सर्वश्रेष्ठ बलिङ फिगर पनि हो । शक्तिकै बराबरी ६ म्याच खेलेर १५ विकेट लिनेमा मलेसियाका अनवर रहमान पनि रहे जसले ४८.१ ओभरमा ५ मेडन राख्दै १९१ रन खर्चेका थिए । उनको सर्वश्रेष्ठ प्रदर्शन ५/२७ रहयो । इकोनोमी रेट ३.९६ र प्रतिविकेट रनऔसत १२.७३ रहेका अनवर यसकै आधारमा दोस्रो नम्बरमा परेका हुन् । तेस्रो नम्बरमा युएईका अहमद रजाले १४ विकेट लिए । प्रतिविकेट रनऔसत शक्तिको बेहतर छ । ६ म्याच खेलेर ५४ ओभर २०६ रन खर्चेर १० विकेट लिएका नेपालकै वसन्त रेग्मी पनि धेरै विकेट लिनेको सूचीमा सातौँ स्थानमा रहे ।

स्कोरबोर्ड

युएई इनिङ
अब्दुल शकुर क गौचन बो एस रेग्मी २०
अर्शद अली रनआउट (बाँस्कोटा) ०
हारुन इफ्तिखार क ऐरी बो गौचन २४
सइमन अनवर क मल्ल बो गौचन २
खुर्रम खान क खड्का बो गौचन ६१
सकिब अली नटआउट १०१
मोहम्मद आजम रनआउट(बी रेग्मी/खड्का) ७
रोहन मुस्तफा नटआउट २१
अतिरिक्त (वाइड ५) ५
जम्मा (६ विकेट, ५० ओभर) २४१ (४.८२ रन प्रतिओभर)
ब्याटिङ नगर्नेहरू : एएम गुरुगे, एहसान सिल्भा र अहमद रजा
विकेट पतन : १–०, २–२२, ३–२४, ४–७०, ५–१५७, ६–१८०

बलिङ :    ओभर    मेडन    रन    विकेट    रनऔसत
शक्ति गौचन    १०    २    ३६    ३    ३.६०
पारस खड्का    १०    ०    ४६    ०    ४.६०
सन्जम रेग्मी    १०    ०    ५५    १    ५.५०
वसन्त रेग्मी    १०    ०    ५५    ०    ५.५०
पृथु बाँस्कोटा    ४    ०    १८    ०    ४.५०
प्रदीप ऐरी    ६    ०    ३१    ०    ५.१६

नेपाल इनिङ
सुवास खकुरेल क अहमद रजा बो सकिब अली ५५
अनिल मण्डल क खुर्रम खान बो गुरुगे ४४
ज्ञानेन्द्र मल्ल क खुर्रम खान बो अहमद रजा ३२
पारस खड्का क सिल्भा बो अहमद रजा ३१
प्रदीप ऐरी बो सिल्भा १६
शरद भेषवाकर नटआउट ३८
पृथु बाँस्कोटा क सकिब अली बो अर्शद अली २
वसन्त रेग्मी स्टम्प अब्दुल शकुर बो अर्शद अली २
विनोद भण्डारी रनआउट (सकिब अली/अहमद रजा) ०
शक्ति गौचन रनआउट (अहमद रजा) १४
अतिरिक्त (बाई १, लेगबाई २, वाइड ४) ७
जम्मा (९ विकेट, ५० ओभर) २४१ (४.८२ रन प्रतिओभर)
ब्याटिङ नगर्ने : सन्जम रेग्मी
विकेट पतन : १–९४ (मण्डल), २–१०६ (खकुरेल), ३–१६५ (मल्ल), ४– १६५ (खड्का), ५– १९७ (ऐरी), ६– २०० (बाँस्कोटा), ७– २२२ (वसन्त), ८– २२२ (भण्डारी), ९– २४१ (गौचन)

बलिङ :    ओभर    मेडन    रन    विकेट    रनऔसत
एएम गुरुगे    ६    १    ३१    १    ५.१६
एहसान सिल्भा    ९    ०    ४७    १    ५.२२
अर्शद अली    १०    ०    ५०    २    ५.००
खुर्रम खान    १०    ०    ४५    ०    ४.५०
अहमद रजा    १०    १    ४४    २    ४.४०
सकिब अली    ४    ०    १६    १    ४.००
मोहम्मद आजम    १    ०    ५    ०    ५.००

प्रतिक्रिया