इलाम एक्सप्रेस

प्रकृतिको अनुपम दृश्य † अरूले उछिन्छन् कि जस्तै गरी सानासाना भएर बसिरहेजस्ता लाग्ने चियाका मुना † कुहिरो र चिया बगानबीच बसिरहेका छाप्राजस्ता लाग्ने साना घरहरू † काठमाडौंबाट निकै लामो यात्रा तय गरेर ‘इलामेली ट्राभल्स’ लेखिएको बसमा चियाबगानको बीचमा थपक्क बसेको इलाम पुग्दा मौसमजस्तै मन पनि चिसो भएको थियो । त्यतै उडिरहने भुँइकुहिरो र चियाका पातमा कतै अल्झिएको थियो मन । यो मेरो पहिलो इलाम–यात्रा थियो । सानैदेखि सुनिएको यहाँको भौगोलिक सुन्दरताबारे भएको कुतूहल त्यसबेला शान्त भयो, जब हामी शान्त र भिरालो परेको बारीको पाटामा, चियाका बोट आफ्नो गर्भमा बोकेर चुपचाप बसिरहेको इलामेली चिया बगानमा पस्यौँ ।
म इलाम पुग्नुसँग एउटा कार्यक्रम जोडिएको थियो– चेसको अन्तर्राष्ट्रिय टुर्नामेन्ट । नेपालमा भएको सर्वाधिक पुरस्कार राशिको चेस प्रतियोगितालाई अन्तर्राष्ट्रिय जगत्ले कसरी हेर्छ ? नेपाली खेलाडीको प्रदर्शन कस्तो रहला ? यी प्रश्नले काठमान्डौँदेखि इलामसम्मै यात्रा गरे ।
बीचबाटैमा बसमा थुप्रैखाले यान्त्रिक समस्या देखिँदै थियो । बसको यात्रा यति झन्झटिलो भयो कि हामी सबैले लामो यात्राबाट दिक्क मानिसकेका थियौँ । काठमाडौं छाडेको भोलिपल्ट साँझ पर्नै लाग्दा मात्रै इलाम बजार टेकियो । मैले थुप्रैखाले फरक अनुभव गरेँ– इलाम सहर र काठमाडौंमा । सूर्य डुब्दै गर्दा आकाशमा देखिएको वैजनी रंगनै यताको फरक लाग्ने । एक/दुई दिन काठमाडौं छोडेर बाहिर हिँड्दा सबैको एउटै प्रश्न सामना गर्नुपर्छ– तपाईं यहाँ पहिलोपल्ट हो ? ए बाबा † कत्ति उत्तर दिनु ? पहिलोपल्ट त हो नि † नभए यति उत्सुक भएर बिरानोजस्तै कोही आउटसाइडर डुलिन्थ्यो †
केही मीठा र तीता अनुभव बटुलियो, इलाम यात्रामा । थुप्रै इलामेलीसँग संगत भयो, जसलाई प्रतिनिधि पात्र बनाउँदा एउटा साझा निष्कर्ष निस्कन्छ– ‘इलाम, भद्र र अनुशासित सहर हो ।’ इलामे सहरमा एउटा नयाँ खबर थियो– प्लास्टिकको झोलामुक्त सहर र धुम्रपान निषेधित क्षेत्र † मेरो सातदिने इलामेली साँझहरू चेसमय बने ।
०००
मैले ‘अफिसियट’ गरेको रामप्रसाद मेमोरियल बुद्धिचाल प्रतियोगिताको आयोजक संस्था थिए– गजुरमुखी चेस क्लब र इलाम जिल्ला बुद्धिचाल संघ । इलामकै सु–परिचित गजुरमुखी निमार्ण सेवाका पूर्वप्रमुख रामप्रसाद गौतमको निधन भएको ६ महिनाअघि हो । उनकै स्मृतिमा भएको चेस प्रतियोगिताका लागि रुसी ग्रान्डमास्टर अलेक्जेन्डर फोमिनी त्यहाँ पुगेका थिए । साथमा अस्ट्रेलियाका अन्तर्राष्ट्रिय मास्टर अलेक्जेन्डर वल पनि थिए । प्रतियोगिता मैले सोचेभन्दा भव्य भयो ।
‘चेस पनि खेल हन्छ ?’ भन्ने उपबुज्रुक काठमाडौंमा धेरै छन् । पूर्वी पहाड इलाममा यसको वास्तविक स्वरूप थाहा नहुने धेरै थिए । अन्तर्राष्ट्रिय टाइटलवाला खेलाडीको उपस्थितिमा प्रतियोगिता आयोजना भएपछि धेरैलाई यसले आकर्षित गर्‍यो । सायद सबैभन्दा धेरै दर्शकले हेरेको चेस प्रतियोगिता पनि थियो, त्यो । खेल हेर्न आएकालाई पालो गरेर हेर्न दिनुपर्ने स्थिति पनि आयो । यसले संकेत गथ्र्यो कुनै पनि रूपमा प्रतियोगितामा संलग्न हँुदा देखिएका दर्शकमध्ये सबैभन्दा अनुशासित कोही थिए भने ती इलामेली नै थिए ।
प्रतियोगिताको हल काठमाडौंको भन्दा फरक थियो । पाँचवटा भिन्न कोठा थिए । हामी सातजना ‘आर्बिटर’को टोली थियो । प्रमुख आर्बिटर व्यवस्थापनमा व्यस्त । अर्का सहकर्मी कम्प्युटरमा । बाँकी पाँचैजना हलमा थियाँै । यो व्यस्तताबीच प्रत्येक हलमा हाम्रो साथमा स्वयंसेवक थिए । ती स्वयंसवेककै उपस्थितीले निर्णायक समूहलाई कार्यक्रम सञ्चालन गर्न धेरै सहज भयो ।
कार्यक्रम सकिनु एक दिनअघि सांस्कृतिक कार्यक्रमको आयोजना भयो । काठमाडौंबाट गएका हामीले सोच्यौँ– यी २० वर्षे ठेट्नाको समूहले गरेको सांस्कृतिक कार्यक्रम के गतिलो होला र ? अहिलेका लड्काले पप र रक गीत भन्ने गरिएको दुई चार रंग न ढंगको बेताले गीत बजाउलान् । लड्कालड्की उफ्रेलान् † तर, अनुमान गरेभन्दा ठीक उल्टो भयो, २० वर्षे लक्का जवानले सञ्चालन गरेको कार्यक्रम साँच्चै भव्य थियो । दुई घन्टासम्म ध्यानमग्न बुद्धझैँ शान्त बसेर हेर्न सकिने कार्यक्रम † कमसेकम सांस्कृतिक प्रदूषणले देशका अन्य युवालाई झंै इलामे युवालाई छोइसकेको रहेनछ ।
दिनभरिको काम सकेर निस्कँदा रात झ्याप्पै बत्ती निभेको अँध्यारो हुन्थ्यो । सबै चिया पसल बन्द भइसकेका हुन्थे । चहलपहल केही हुन्नथ्यो । इलाम आठै बजे निदाउँथ्यो । तर, उता मेरो काठमान्डू रातैभरि जाग्छ, यान्त्रिक छ– काठमान्डू । इलामलाई काठमान्डूको रंगले छोइसकेको रहेनछ ।
मदिरा र मांस नेपाली आत्मीयताका लागि चिनिने वस्तु भइसके । तर, यता ललिपप, दुर्खुवा र चियाको इलामेली आतिथ्य भिन्न रह्यो । भद्र इलामेलीमाझ केही अपुग थियो भने होटलवालाले ग्राहकसँग गर्ने व्यवहार । उनीहरू सोच्थे कि यिनीहरू फोकटमा हामीकहाँ बसेका छन् । एक दिन एउटा नमिठो घटना भयो । हामी बसेको होटल ‘न्यु पोखरेली’मा बिहान बाथरुममा पानी बन्द भयो । प्रतियोगिता हलमा पुग्ने छुट्टै हतारो थियो । किचेनमा गएर ब्रस गर्न होटलले अनुमति दिएन, न पानीको व्यवस्था नै गर्न सक्यो † निर्णायक समूह पानी आउने होटलमा पुगेर आफूलाई तयार गर्न बाध्य भयो । धेरैको प्रतिक्रिया रह्यो– इलाम जति भद्र छ होटलवालाको व्यवहार धेरै अभद्र ।

प्रतिक्रिया