महाकाल्य रूपं सहित सदैव
क्रोधोन्मत्ता पूर्ण सदैव रूपं
सर्वो सतांपूर्ण मदेव तुल्यं
एकोपि सूर्य भगवान सदैवं
यो श्लोक भगवान कृष्णको मुखबाट निस्केको श्लोक हो । भगवान् त्यस्ता व्यक्तित्व हुन् जसले साधनामा सिद्धि प्राप्त गरेका छन् । म कृष्णलाई भगवान मान्दछु, तपाईंहरू पनि मान्नुहोस् । तर, भगवान्को तात्पर्य, जोसँग पूर्णज्ञान र चेतना छ ती भगवान् हुन् । किनभने ब्रह्म आफू भित्र छन् भने ईश्वर हो यदि छैनन् भने राक्षस हो । दुवै छैन भने ऊ मनुष्य हो । सामान्य जीव हो, जो घुमफिर गर्छ, मरेर जान्छ ।
यस श्लोकको माध्यमबाट भगवान् कृष्णका उपदेशबारे बताइरहेको छु, भगवान् कृष्णको व्याख्या गर्दैछु, उनको व्यक्तित्व कस्तो थियो ? किन उनी भगवान् कहलाए ? जत्तिको दु:ख उनले देखे–भोगे, तपार्इंहरूले भोगेकै छैन । उनको जीवनमा सुख भन्ने चिज मिल्दै मिलेन । उनी कारागारमा पैदा भए, पिता वासुदेव एवं देवकीको गर्भबाट जन्मे, जसकहाँ जन्म लिए उनीहरूका साथमा चार घन्टा पनि बस्न पाएनन् । नन्द–यशोदा कहाँ रहनुपर्यो, आफ्ना माता–पितासँग बस्न पाएनन् । जब, चार घन्टाका मात्र थिए उनलाई उठाएर वासुदेवले यशोदाको घरमा पुर्याइदिए । आमाको सुख कस्तो हुन्छ, बाबुको सुख कस्तो हुन्छ उनले देख्नै पाएनन् । विना माता–पिताको पुत्र कस्तो हुन्छ, त्यो कुरा भगवान् कृष्णका रूपमा तपाईंहरू हेर्नुहोस् । जेलमा जन्मेको होस्, बुबाआमा नेलमा जकडिएको होऊन्, चारैतिर सत्रु नै सत्रु होउन्, यो भन्दा ठूलो दु:खको कुरा त अरू कुनै हुनै सक्दैन । यशोदाको घरमा जब उनी छ महिनाका बालक थिए पुतना आएर उनलाई मार्ने प्रयास गरी । दूधमा विष मिलाएर समाप्त गर्ने प्रयत्न भयो– केवल छ महिनाको बालकलाई । उनी जिउँदै रहन सके तर, बकासुर आयो, कैयौँ राक्षस आए, कालियानाग आयो– सबैले एउटै काम गरे उनलाई समाप्त गर्ने, खत्तम गर्ने भनेर ।
त्यसपछि उनी मथुरा गए । यसलाई समाप्त गर्नुपर्छ, जिउँदो राख्नु हुन्न, किनभने यो यस्तो व्यक्ति हो जो अत्यन्त तागतवान, क्षमतावान छ, एक व्यक्ति नै अठार अक्षोहिणी सेना बराबर छ भनेर जरासन्धले सिध्याउने प्रयत्न गर्यो । यस श्लोकमा यही बताइएको छ कि एउटा सूर्य नै काफी छ । भगवान कृष्णका जीवनमा यति धेरै दु:ख थियो तर उनी त्यसबाट परास्त भएनन् । बस, उनले निश्चय गरे मैले आफ्नो जीवनमा केही यस्तो काम गरेर जानुपर्छ जसले गर्दा आउने पीँढिले मलाई याद गरोस् । उनले त्यस्तै गरे । कृष्ण हामी–तपार्इंहरू जस्तै थिए तर उनले अठोट गरे– म कुनै यस्तो ग्रन्थ लेख्ने छु, जसबाट भविष्यको पिँढीले सम्झिरहनेछ । र, गीता जस्तो ग्रन्थ, स्वयंमा अद्वितीय छ । हुनत घेरण्ड संहिता पनि थियो अष्टाबक्र गीता त थुप्रैले लेखेका हुन् । गीताको मतलब हो, जसलाई ज्यादै सुन्दर तरिकाले गाउन सकियोस् ।
गीयते स: गीता ।।
जसलाई मीठो तरिकाले गाउन सकिन्छ, पढ्न सकिन्छ त्यो गीता हो । गीता पूर्णरूपले गेय छ, त्यसलाई गाउनाले जुन आनन्द आउँछ, त्यो आफँै भित्र पनि उत्रिन्छ । हामीले गीता पढेका छौँ । गाएका छैनौँ । गीताको अर्थ हो गायन । कृष्णले गीता लेखे, अष्टाबक्रले लेखे घेरण्डले लेखे । कुनै एक जनाले मात्र होइन थोरैमा पचास ऋषिले गीता लेखे । सबैमा एक सुन्दर व्याख्या गरिएको छ । गीतामा कर्मयोगको व्याख्या छ– कर्म गर्दैरहनुपर्दछ जे जस्तो बन्छ, अद्वितीय बन्छ । एउटै उद्देश्य हो कृष्णको– कौरव पाण्डव लड्छन् भने लडुन् मलाई आफ्नो जीवनमा सफलता पाउनुपर्छ । यहाँ मथुरामा काम चलेन भने द्वारिका गएर बसौँला तर गर्ने त्यही हो जुन स्वयंमा अद्वितीय हुनेछ ।
अनुवाद : शिव ढकाल
मन्त्र–तन्त्र–यन्त्र विज्ञान पत्रिकाबाट
प्रतिक्रिया