कोलाजभित्र : स्कुल र सिनेमा !

०३५/३६ सालताकाको कुरा हो । मेरा दाइदिदीहरू कटारी(उदयपुर)को त्रिवेणी हाइस्कुलमा पढ्थे । मलाई पनि किताब बोकेर स्कुल जान खुबै रहर लाग्थ्यो । चार वर्षको भएपछि अहिलेको नर्सरी भनिने ‘बालबर्ग कक्षा’मा म भर्ना भएँ । सुरु–सुरुमा सिलोट बोकेर स्कुल जान रमाइलै लाग्थ्यो । हाम्रो कक्षामा एकजना मात्रै मास्टरसा’ब थिए । पुड्को कदका ती ‘गुरुजी’ स्कुलभरी सबैका प्रिय थिए । उनी हामीलाई कखरा पढाउँथे । दिनभरी एउटै पाठ पढिरहँदा मलाइ दिक्क लाग्न थाल्यो । कक्षामा बस्न मनलाग्न छाडेपछि म स्कुलबाट भाग्न थालेँ । दिनभरी नपढ्ने साथीहरूसँग तावा खोलाको किनार र जङ्गल छेउछाउ घुम्नु अनि स्कुल छुट्टी हुने बेलामा घर पुग्नु मेरो दिनचर्या बन्न थाल्यो । केही दिनपछि यो कुरा दाइदिदीहरूले थाहा पाए । घरमा कुरा पुग्यो । कडिकडाउ भयो ।
त्यतिबेला कटारीमा बस चल्दैनथ्यो । सामान ढुवानी गर्ने २/३ ओटा ट्रकमा नै मानिसहरू यात्रा गर्थे । बाटो राम्रो थिएन । तावाको बगरैबगर ट्रक गुड्थ्यो । स्कुलबाट भागेका साथीले बगरमा खाल्डो खनी त्यसलाई पटेर र सुकेका बनमाराले थाहा नपाउने गरी छोपिदिन्थे । अनि ट्रक भासिएपछि टाप कस्थे । ऊ बेला कटारीबाट बाङ्गेसाला, चिसापानी हुँदै बल्ल बन्दीपुरको राजमार्गमा पुगिन्थ्यो । कटारी–मिर्चैयाको बाटो बनेकै थिएन । म बुबाको पछि लागेर यसरी धेरै पटक चिसापानी र बन्दीपुर गएको थिएँ । कहिले जनकपुरसम्म पुग्थेँ । परिवारमा सबैभन्दा सानो भएकाले सबैले खुबै माया गर्थे । त्यसैले, मेरो पढाइबारे चिन्तित थिए ।
०३७ सालताका कटारीमा एउटा बोर्डिङ स्कुल खुल्यो । जर्मनीका एक नागरिकले ‘सगरमाथा शिशु सदन र्बोिर्डङ स्कुल’ खोलेका थिए जहाँ तीन कक्षासम्मको पढाइ हुन्थ्यो । एकदिन मलाई ललितादिदीले फकाउनु भयो, ‘बोर्डिङमा सर मिसहरूले खुबै माया गर्छन् । राम्रो ड्रेस लगाउन पाइन्छ । रङ्गीन चित्रहरू भएको किताबहरू पाइन्छ ।’
दिदीको कुराले म प्रभावित भएँ । म फकिएँ । अनि, मलाई नर्सरीमा भर्ना गरियो । बोर्डिङ स्कुलको चारैतिर अग्लो पर्खाल लगाइएको थियो । पालेदाई गेटमा बसेका हुन्थे । भाग्ने चान्स नै थिएन । घरमा पनि ट्युसन पढाउन सर आउँथे । अनि त मन लागे पनि नलागे पनि पढ्नै पर्ने भयो । मेरो पढाइमा मन जान थाल्यो । नसोचेको प्रगति पो गर्न थालेँ । मलाई गणित र अंग्रेजी पढ्न खुबै रमाइलो लाग्थ्यो । मैले तीन कक्षासम्म त्यहाँ पढेँ । तीनमा पुग्दा म कक्षाको प्रथम विद्यार्थी थिएँ ।
त्यसपछिको पढाइ त्रिवेणी हाइस्कुलमा भयो । बोर्डिङको पहिलो विद्यार्थी भएकाले पनि सरकारी स्कुलको कोर्स मलाई निकै सजिलो लाग्थ्यो । अनि म कक्षाका उत्कृष्ट विद्यार्थीमा गनिन थालेँ ।
म सानैदेखि सिनेमा भनेपछि हुरुक्क हुन्थेँ । कटारीमा सिनेमा हल थिएन । भिडियो हल भने थियो । कटारी बजारभरीको एक मात्र टेलिभिजनको श्यामश्वेत स्क्रिनमा सिनेमा हेर्न मानिसहरू खचाखच हुन्थे । एकजना ओखलढुंगाका लाहुरे दाइले भिडियो हल सञ्चालन गरेका थिए । हल त के भनौ । दिउँस मुस्किलले पचास जना अट्ने अँध्यारो कोठा थियो । अलि पछि ‘शुभकामना लज’को खुला कौसीमा पनि रात्री भिडियो हल खुल्यो । जहाँ तीनदेखि पाँच रुपियाँसम्मको टिकट काटेर सिनेमा हेर्न पाइन्थ्यो ।
यसरी मैले त्यो बेला हेरेको पहिलो फिल्म थियो,  ‘कर्मा’ । मलाई सिनेमामा चिल्लो तालु भएका खतरनाक भिलेन डाक्टर डनको अनुहार बाहेक कसैको सम्झना रहेन त्यो बेला । म बोर्डिङ स्कुल पढ्दाकै कुरा हो,  पढाइमा जान्ने थिएँ नै तर सिनेमा हेर्न औधी मनपर्ने । सबै नबुझे पनि हिरो–भिलेनले फाइट खेलेको र हिरोहिरोइन नाचेको खुबै मन पथ्र्यो । छिमेकी रमेश श्रेष्ठदाइ थिए भिडियो हलका गेटकिपर । उनको सान बेग्लै हुन्थ्यो । पैसा बिना कोही छिर्न पाउँदैनथे । मलाई सिनेमा हेर्न कहिल्यै पैसाको खाँचो हुँदैनथ्यो । कटारीमा हाम्रो खुबै चलेको पसल थियो । पसलबाट म चाहेजति पैसा झिक्थेँ । कसैले थाहा पाउँदैनथे । दुई/तीनमा पढ्दा नै ऊ बेलाको कुबेरको नामी पसलमा मेरो उधारो चल्थ्यो । साथीहरूलाई लगेर खुवाउँथे । यो कुरा थाहा पाएर त्यहाँ काम गर्ने शत्रुघनदाईलाई बुबाले सातो लिनु भयो । त्यसपछि मेरो खाता बन्द भयो ।
म बिदाको दिन सधैँजसो सिनेमा हेर्न जान्थेँ । पैसा तिरेरै हेरिन्थ्यो फिल्म । तर, गेटकिपर रमेश दाइ भने बेलुकी आएर मेरा बालाई पोल लगाइदिने गर्दा रहेछन्, ‘काका † कृष्णभाइ बिग्रिने भयो । खुबै सिनेमा हेर्न थाल्या छ है ।’ अनि घर आएपछि बुबाको केरकार सुरु हुन्थ्यो । कहिलेकाहिँ कुटाइ पनि खाइन्थ्यो ।
भिडियो हलमा एउटै सिनेमा एक हप्तासम्म चल्थ्यो । साँझ सिनेमाको प्रचार गथ्र्यो, सारे नाम गरेको केटाले । यसरी प्रचारगर्दा उसले सिनेमा सित्तैमा हेर्न पाउँथ्यो र २/४ रुपियाँ पनि । सारे अलि ठूलो भएपछि कटारीबाट हरायो । सुनियो ऊ पैसा कमाउन दिल्ली गयो रे † तर, ऊ फर्किएर कहिल्यै आएको थाहा पाइनँ । त्यसपछि सारेको सानोभाइले सिनेमाको प्रचार गर्न थाल्यो ।
एकदिन ऊ कराउँदै बजार घुमिरहेको थियो, ‘चलिरहेछ धर्मेन्द्रको लोहा † खतरनाक एक्सन र काटमारले भरपुर फिलिम लोहा †’
लोहाको चर्चा जो कोहीको मुखमा सुनिन्थ्यो । मलाई लाग्यो,  ओहो † लोहा त हेर्न जानै पर्ने भयो । फेरि, लोहामा धर्मेन्द्र, शत्रुघन सिन्हाको तस्बिर भएको टिसर्ट बजारमा केही युवाले लगाएर घुमेको देखेको थिएँ । ‘फिलिम खुबै राम्रो छ ।’ घर अगाडि सैलुन खोलेर बसेका प्रकाश ठाकुरले भने ।
मैले ‘लोहा’ सिनेमा हेरेँ । एकपटक होइन पटक–पटक । गजबले नै प्रभावित भएँ । बुबालाई रोइकराई गरेर लहानबाट ‘लोहा’को पोस्टरअंकित टिसर्ट मगाउन लगाएँ । पहँेलो टिसर्ट लगाएर बजार एक फन्को लगाएँ । शत्रुघन, रामतार र कालेबाबुलगायत साथी जिल्ल परे । साथीहरूमाझ मेरो सान बढ्यो ।
त्यसैबेला कटारीको माथिल्लो चोक कान्छीबजारमा सिनेमा हल खुल्यो । बाँसले बारेर बनाइएको सिनेमा हलमा मैले पहिलो पटक नेपाली फिल्म ‘माइतीघर’ हेरँे । ओहो † बडेमानको पर्दामा ब्ल्याक एण्ड ह्वाइट सिनेमा ‘माइतीघर’ पनि भयंकरै कलरफूल लाग्यो । सोचेँ, फिलिम हेर्नु ठूलो पर्दामा पो त † तर, बर्खामा पानी चुहिएर अनि जेनेरेटरले साह्रै दु:ख दिएर हल मालिकले हल बन्द गरे । अनि फेरि सुरु भयो भिडियो हलको यात्रा ।
मैले अभिताभ बच्चनको ‘मर्द’ दसौँ पटक हेरेँ । मिथुन चक्रवर्तीको ‘डान्स–डान्स’ पनि दोहोर्‍याइ, तेहेर्‍याइ हेरियो । जति हेरे पनि चित्तै नबुझ्ने । कस्तो होला ?
प्रकाश ठाकुरको सैलुनमा अभिताभ, मिथुन र धर्मेन्द्रका पोस्टरहरू प्रसस्त थिए । बुबा बेलाबेलामा दाह्री काट्न सैलुनमा जानुहुन्थ्यो । म पनि पछि लागेर जान्थँे । अनि, आफूलाई मन परेको हिरोको पोस्टर देखाउँदै भन्थँे, ‘बा † मलाई त्यो चाहियो ।’
बुबा प्रकाश ठाकुरतिर हेर्थे । प्रकाश ठाकुर जबरजस्ती ओठमा मुस्कान ल्याउँदै मैले देखाएको पोस्टर मन नलागी–नलागी झिकेर दिन्थे । म घरमा ल्याएर त्यो पोस्टर राख्थेँ । ज्यादै मनपरेको टास्थेँ ।
फिलिमको सोखिन भए पनि पढाइमा अब्बल भएकाले र घरको सबैभन्दा कान्छो सदस्य भएकाले पनि म सबैबाट पुलपुलिएको थिएँ । प्रिय पनि थिएँ । कटारीमा सानैदेखि नेवारी, हिन्दी र नेपाली नाटकहरू हेरेर हुर्किएकोले नाटकसँग पनि नजिक थिएँ । रामलीला र सर्कसहरू पनि खुबै हेरेकाले यी बाट प्रभावित थिएँ । यसले पनि मलाई रंगक्षेत्रमा लाग्न मोह जगायो । सायद, त्यसैले पनि मैले ०५९ सालमा ‘नेसनल स्टुडियो अफ फिल्म कलेज’बाट फिल्म डाइरेक्शनमा डिप्लोमा गरेँ । रंगमञ्चमा बढी व्यस्त भएपनि सिनेमामा थोरै तर राम्रो काम गर्ने सपनाको अंकुर यथावतै छ  †

प्रतिक्रिया