कवि, निबन्धकार तथा यात्रा लेखक भीष्म उप्रेतीको नयाँ पुस्तक रत्न पुस्तक भण्डारले बजारमा ल्याएको छ– ‘एक पटक टोकियो ।’ यात्रा गर्नु, यात्रा साहित्य पढ्नु र लेख्नु उप्रेतीको रुचिको विषय हो । त्यही रुचिले उनलाई यो पुस्तक लेख्न सुर्याएको हो । यात्रामा हिँडिरहँदा उनको कवि हृदय पुलकित हुन्छ र यात्रा वर्णनमा कवितामय भाषा प्रवाहित हुन थाल्छ । उनी गद्यलेखकभन्दा कवि हुन् भन्ने कुरा उनले नेपाल प्रज्ञा प्रतिष्ठानबाट आयोजित राष्ट्रिय कविता महोत्सव ०५० मा प्रथम पुरस्कार पाएका थिए भन्ने कुराले नै पुष्टि गर्छ ।
पुस्तककै एउटा प्रसंगबाट अगाडि बढौँ ।
‘तपाईं सधैँ कविता लेख्नुहुन्छ ?’ एउटा प्रश्न ।
‘अहँ, लेख्दिनँ ।’ जवाफ ।
‘किन ?’
‘प्रत्येक दिन अनुभूति मिसिएर विचार आउँदैन ।’
‘हो, कविता सधैँ तपाईंकहाँ आउँदैन । तर, कविता नआएको बेलामा तपाईं किन कविताकहाँ जानुहुन्न ?’
(म किन कविताकहाँ जान्नँ ? बलजफ्ती लेखेको कवितामा प्राण हुँदैन, मैले जानेको त यत्ति हो ।’)
‘कविता आउँदैन भने तपाईं जानुस् र लिएर आउनुस् । विचारको सिर्जना वा अन्य सिर्जनात्मक कला पनि यस्तै हो । यसो गर्नुपर्छ ।’
यी कुरा ‘आइडिया म्याराथन सिस्टम’ का सार हुन् र यसलाई उप्रेतीको प्रस्तुत पुस्तकको आधारस्तम्भ मान्दा फरक पर्दैन । जापानी नागरिक ताकेओ शानले आविष्कार गरेको आइडिया म्याराथन भनेको नयाँनयाँ र सिर्जनात्मक आइडियालाई समाउने वा हासिल गर्ने र त्यसलाई विचारका रूपमा विकास गरी कागजमा उतार्ने प्रणाली हो रहेछ । यसका लागि पाँच पाइला छन्– एक, हरेक दिन कम्तीमा एक आइडियाबारे सोच्ने । दुई, यसलाई नोटबुकमा उतार्ने । तीन, उक्त आइडियालाई जहाँ सम्भव हुन्छ त्यहाँ प्रयोग गरेर हेर्ने । चार, आफूले सोचेको आइडियाबारे परिवार, साथी र सहकर्मीबीच छलफल गर्ने । र पाँच, सर्वोत्तम आइडियालाई जीवनमा प्रयोगमा ल्याउने ।
उप्रेतीले ताकेओ शानलाई उद्धृत गर्दै भनेका छन्, ‘आइडिया भनेको सपनाजस्तै हो । तिनलाई सोच्ने बित्तिकै समातिएन भने स्मृतिबाट हराएर जान्छन् । जबर्जस्ती पक्रेर राखियो नै भने पनि तिनलाई व्यवस्थित गर्न कठिनाइ पर्छ । त्यसैले आइडियालाई समाउन र व्यवस्थित गर्न प्रणालीको विकास गर्नुपर्छ ।’
अन्तर्राष्ट्रिय पेनको विश्व कंग्रेसमा भाग लिन सेप्टेम्बर २०१० मा जापानी राजधानी टोकियो पुगेका भीष्मले त्यहाँ अनेक देशका लेखक भेट्छन् र कविहरूसित जम्काभेट गर्छन् । भीष्मले उनीहरू धेरैका कुरा सुने र आफ्ना पनि भने । जापानी मित्रका घरमा बस्न पाएर जापानी जीवनशैलीका केही पक्षबारे नजिकबाट जान्ने अवसर पाए । टोकियो र वरिपरि बसिरहेका कतिपय नेपालीसित पनि भलाकुसारी गर्ने संयोग जुराए । यी सबै कुरालाई पोको पारेर उनले सुकाएका अक्षर–अनुभूतिहरूको बिस्कुनकै अर्को नाम हो– ‘एक पटक टोकियो’ । यसअघि उनका ६ वटा कविता र ६ वटै निबन्ध/यात्रासंस्मरण गरी १२ वटा पुस्तक प्रकाशित भइसकेका छन् ।
सानाठूला गरी विभिन्न दस अध्यायमा समेटिएको ‘एक पटक टोकियो’ मा जापान कतिपल्ट आएका छौ, कविता रात्रिभोज, चिकाय तानिगुचीसँग, हिरोसिमाको बम आक्रमणमा बचेकी कवि, टोकियोमा भेटेको नेपाल, कसरी कवि भयौ त, सगरमाथा अझ अग्लो भयो, नेपाली साथीहरूसँग र ताकेओ शान र आइडिया म्याराथन गरी नौवटा शीर्षकले उप्रेतीको जापानसंस्मरण झल्काउँछन् । अन्तिम परिच्छेद ‘टोकियोमा लेखेका कविताहरू’ मा उनले टोकियो छँदै लेखेका सातवटा कविता छन् । पुस्तक ठूलो पनि छैन, केवल ७३ पृष्ठमै सिंगो किताब सकिन्छ ।
किताब ठयाक्कै भीष्मजस्तै छ– भद्र, शालीन, मितभाषी र चिटिक्क । उनी धेरै लामो बोलेको मन पराउँदैनन्, त्यसैले उनका किताब पनि लामा हुँदैनन् । उनले अहिलेसम्म लेखेका सबै १३ वटै किताबका पृष्ठ जोड्ने हो भने पनि विनोद धितालको ‘योजनगन्धा’ उपन्यासका पृष्ठ जति पुग्दैनन् होला † तर, उप्रेती बेलाबेलामा भावस्पर्शी पंक्तिहरू भने चटनीजस्तै पस्किन सिपालु छन् । टोकियोस्थित कियो प्लाजा होटलमा आयोजित ठूलो कवितागोष्ठीमा उनले आफ्नो कविता सुनाउँछन् । उनी लेख्छन्, ‘कविता वाचनकै बीचमा मेरो नाम उद्घोषकले बोलाएपछि सिंगो सगरमाथा उठेको अनुभूति गर्दै सगर्व उभिएँ र कविता वाचनका लागि अघि बढेँ । मेरो र नेपाली कविताकै लागि यो सर्वाधिक परीक्षाको घडी थियो । जिउ फुलेजस्तो र तातो भएको अनुभूति गरेँ । आफूलाई सकेसम्म नियन्त्रण गर्दै कविताको भावलाई मर्न नदिई निष्फ्रिकीसँग कवितावाचन गरेँ । जब अन्तिम शब्द पढेर टक्क अडिएँ, कसैले चिच्याएको सुनेँ– ‘वाह †’ र, पूजापछिको आरतीजस्तो तालीको ठूलो संगीत सुनेँ ।’
‘एक पटक टोकियो’ मा यात्रासाहित्यका पाठकहरू यात्राको रोमाञ्च र मिठास पाउँदैनन् । बरु, यो किताब कवितामा स्वाद पसेकाहरूले भने पढ्नै पर्ने किसिमको छ । यसमा टोकियो घुमेको र टोकियोले आफूमा पारेको प्रभाव छैन, बरु छ त एक पटक टोकियो पुगेको कुरा । किताब यात्रा–निबन्धभन्दा पनि पेन इन्टरनेसनल कंग्रेसमा सहभागी भएको संस्मरण बढी प्रतीत हुन्छ ।
प्रतिक्रिया