उपत्यका भित्रका १० विद्यालयमा विद्यार्थी शून्य

काठमाडौं, २७ असोज । सरकारी विद्यालयको गुणस्तर घट्दै जान थालेपछि विद्यार्थी पनि रित्तिँदै गएका छन् । काठमाडौं उपत्यकाका १० सरकारी विद्यालयमा विद्यार्थी संख्या यस शैक्षिक सत्रदेखि शून्यमा झरेको छ ।
काठमाडौंको एक माविसहित ४ र भक्तपुरको ३ निमाविसहित ६ विद्यालयमा यो शैक्षिक सत्रमा एकजना विद्यार्थी पनि भर्ना भएनन् । विद्यार्थी भर्ना शून्य भएपछि शिक्षा कार्यालयले ती विद्यालयका शिक्षकलाई अन्यत्र खटाएको छ । विद्यालय रेखदेख गर्न भने एकजना रुँगालु शिक्षक राखिएको छ । जिल्ला शिक्षा कार्यालयले विद्यार्थी नभएका यस्ता विद्यालयलाई खारेजी प्रक्रियामा लगेको शिक्षा अधिकारीले जानकारी दिए ।
काठमाडौं जिल्ला शिक्षा अधिकारी वैकुण्ठ अर्यालका अनुसार काठमाडौंको नन्दी ग्रामगणेश मावि मातातीर्थ, वनदेवी प्रावि थानकोट, चुनदेवी प्रावि भीमढुंगा र विद्याश्रम प्रावि कीर्तिपुरमा विद्यार्थी भर्ना संख्या शून्य भएको हो । यसैगरी, भक्तपुरको बालबोध शान्ति निमावि भक्तपुर,

चण्डेश्वरी निमावि भक्तपुर, नाटेश्वरी निमावि छालिङ, कृष्ण प्रावि सुडाल, दक्षिणकाली प्रावि ताहथली, मनकामना प्रावि छालिङमा पनि भर्ना संख्या शून्य रहेको भक्तपुरका जिल्ला शिक्षा अधिकारी दीपक काºलेले बताए । ललितपुर जिल्लाको केही विद्यालयमा पनि विद्यार्थी संख्या न्यून रहेको जिल्ला शिक्षा अधिकारी मनकाजी श्रेष्ठको भनाइ छ । भर्ना संख्या शून्य भएको विद्यालय खोजिरहेको उनी बताउँछन् ।
बालबोध शान्ति निमावि भक्तपुरका प्रधानाध्यापक सूर्यबहादुर फोजुले विद्यार्थीका लागि पर्याप्त मात्रामा खुला ठाउा नभएकाले विद्यार्थी रित्तिएको प्रतिक्रिया दिए । विद्यालय बन्द हुने हल्लाका कारण पनि अभिभावकले विद्यार्थी भर्ना नगरेको उनको भनाइ छ । ‘विद्यालयमा विद्यार्थी नभएपछि गत वर्ष भर्ना अभियान थालियो,’ उनले भने, ‘बन्द भएको विद्यालयमा के भर्ना गराउनु भनेर अभिभावकले विद्यार्थी भर्ना गराएनन् ।’
गत शैक्षिक सत्रमा अभिभावकलाई विद्यार्थी भर्ना गराउने विषयमा कन्भिन्स गराउनै नसकेको उनले अनुभव सुनाए । २००६ सालमा स्थापित विद्यालयमा अघिल्लो शैक्षिक सत्रदेखि विद्यार्थी छैनन् । तीनजना शिक्षक रहेको विद्यालयमा एक शिक्षिकाले  बालशिक्षा कक्षालाई सहयोग गर्दै आएकी छन् भने दुईजना विद्यालयमा त्यत्तिकै बसेर दिन काट्छन् ।
चण्डेश्वरी निमावि भक्तपुर पठनपाठन नभएपछि जीर्ण अवस्थामा रहेको छ । विद्यालयका डेस्क–बेन्च थन्क्याएर राखिएका छन् । विद्यालयका पियन श्यामबहादुर बोहराले सबै विद्यार्थी निजीतिर गएपछि शून्य भएको बताए । ०१६ सालमा स्थापित चण्डेश्वरीमा दुई वर्षदेखि विद्यार्थी छैनन् । अहिले सो विद्यालयमा पाँचजना विद्यार्थीले बालशिक्षा कार्यक्रम अध्ययन गरिरहेका छन् । ‘पुराना विद्यार्थीलाई मार्कसिट र सर्टिफिकेट दिने काम मात्र भएको छ,’ बोहराले  भने, ‘कहिलेकाहीँ जिल्ला शिक्षा कार्यालयबाट बोलाए जान्छौँ ।’ अहिले विद्यालयमा एकजना शिक्षक र एकजना पियन मात्र छन् ।
समुदायको सहकार्यमा विद्यालयलाई खारेजी प्रक्रियामा लगिएको छ । भक्तपुरका जिशिअ काºलेले भने, ‘एक वर्ष कक्षा स्थगन गर्छाैं, त्यसपछि विद्यालयको खारेजी हुन्छ ।’ शिक्षा कार्यालयले ती विद्यालयमा कक्षा स्थगन गरेको छ । काठमाडौंमा भने स्थानीयवासीले विद्यार्थी आउँछन् कि भनेकाले तुरुन्तै खारेज नगरेको जिशिअ अर्यालले बताए । तीन वर्षदेखि सरकारी विद्यालयमा विद्यार्थी घट्दै गइरहेको उनको भनाइ छ ।
सरकारी विद्यालयको प्रत्येक कक्षामा ५० जना विद्यार्थी हुनुपर्ने अनिवार्य सरकारी व्यवस्था छ । तर, काठमाडौंको ५० विद्यालयमा २० देखि २५ जना मात्रै विद्यार्थी रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । यसैगरी, भक्तपुरका १४ विद्यालयमा १० भन्दा कम विद्यार्थी छन् । ती विद्यालयमा अहिले दुईदेखि तीनजना शिक्षक कार्यरत छन् ।
गत वर्ष पनि काठमाडौं जिल्लाका ६ वटा विद्यालयमा विद्यार्थी संख्या शून्य थियो । चुनदेवी प्रावि कीर्तिपुर, कालिका प्रावि थानकोट, सरस्वती प्रावि थानकोट, कागेश्वरी प्रावि गागलभेदी, इन्द्र प्रावि स्युचाटार र नवशिक्षा प्रावि लगनमा विद्यार्थी संख्या शून्य थियो । कालिका प्राविलाई भने मंगलोदय मावि थानकोटमा गाभिएको जिल्ला शिक्षा कार्यालय काठमाडौंले जनाएको छ । सरकारी विद्यालयको शैक्षिक गुणस्तर खस्केकाले विद्यार्थी निजीतिर आकर्षित भएको शिक्षाविद् बताउँछन् । शिक्षाविद् मनप्रसाद वाग्लेले सरकारी विद्यालयको गुणस्तर खस्किएकाले विद्यार्थी भर्ना न्यून भएको बताए । विद्यार्थी रित्तिनुमा शिक्षक दोषी रहेको उनको भनाइ छ । काठमाडौंमा अहिले दुई सय ९६ सरकारी र एक हजार एक सय ६७ निजी विद्यालय छन् ।

प्रतिक्रिया