बहादुरीपूर्वक खेल्दै इतिहास रच्यो नेपालले

काठमाडौं, २७ असोज । अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पार्दै नेपाल शुक्रबार ‘एसियाली क्रिकेट काउन्सिल ट्रफी एलिट कप–२०१२/१३’ प्रतियोगिताको संयुक्त विजेता बनेको छ । एकसमय उपाधि विजयको अत्यन्त नजिक पुगे पनि नेपाल अन्तिम बलमा दुई रन लिन नसक्दा युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध फाइनल ‘टाइ’ मा समाप्त गर्न बाध्य हुनुपरेको हो । यसअघिको संस्करणमा नेपाल फाइनलमा अफगानिस्तानविरुद्ध पराजित भएको थियो । डिफेन्डिङ च्याम्पियन अफगानिस्तानलाई युएईले सेमिफाइनलमा पराजित गरेको थियो ।
टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले २४१ रनको विजय लक्ष्य पाएको थियो । उक्त लक्ष्य हासिल गर्ने क्रममा नेपाललाई अन्तिम ओभरमा १२ रन चाहिएको थियो र क्रिजमा थिए शरद भेषवाकर र शक्ति गौचन । स्ट्राइकिङमा रहेका शक्तिले पहिलो बलमा कुनै रन बनाउन सकेनन् । दोस्रो र तेस्रो बलमा एक–एक रन बन्यो । चौथो बलमा शक्तिले छक्का प्रहार गरेर लक्ष्यलाई नजिक्याए । अन्तिम दुई बलमा चार रन आवश्यक थियो । पाँचौँ बलमा उनले २ रन लिए । अब अन्तिम बलमा विजयका लागि २ रन चाहिएको थियो, जसन नेपालको ब्याटिङस्तर हेर्दा सामान्यजस्तै थियो । अन्तिम बललाई शक्तिले लङअफ क्षेत्रतिर प्रहार गरेर दुई रन लिन दौडिए । एक रन पूरा गरे तर दोस्रो रन लिने प्रयासमा उनी रनआउट हुन पुगे ।
यसरी एसियाली क्रिकेट काउन्सिल ट्रफी एलिट कपमा पहिलोपटक फाइनल ‘टाइ’ मा समाप्त भयो । नेपाल उपाधि जितको ढोकामै पुगेर पनि संघार नाघ्न सकेन र सहविजेतामा चित्त बुझाउन बाध्य भयो । यससँगै नेपाली टोलीले प्रमाणित पनि गरीदियो– पछिल्लो समय मलेसियामा भएको डिजिन फोरको उपाधि जित्दा नेपाली क्रिकेटरहरूले गरेको प्रदर्शन कुनै ‘फ्लुक’ थिएन । टोलीमा स्तरीय क्रिकेट खेल्ने  क्षमता छ, अनि क्रिकेटको एसोसिएट सदस्यतारूपी फलामे ढोका नाघ्न सक्ने पर्याप्त प्रतिभा पनि छ ।
एसिसी ट्रफी एलिट कप प्रतियोगिता अवधिभरि नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ सबै क्षेत्रमा दमदार प्रदर्शन गर्‍यो । समूह चरणमा एकपटक कुवेतसित बाहेक खेलेका अन्य सबै पाँच खेलमा अपराजित रहयो । युएईले पनि प्रतियोगितामा केवल एक हारको सामना गरेको थियो, जुन समूह चरणमा उसले नेपालविरुद्ध व्यहोरेको थियो ।
प्रतियोगितामा नेपालले आफूलाई आइसिसीका उदीयमान सदस्यहरूभन्दा सबैभन्दा सशक्त रूपमा प्रस्तुत गर्‍यो । सबै खेलाडीले उल्लेखनीय प्रदर्शन गरे । खासगरी कप्तान पारस खड्काको अलराउन्ड प्रदर्शनलाई अनिल मण्डल, ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलले ब्याटिङतर्फ जोडदार साथ दिए । बलिङमा शक्ति गौचनले फेरि एकपटक आफ्नो बलियो छाप छाड्ने क्रममा गत डिभिजन फोरको प्रदर्शन केवल संयोग थिएन भन्ने प्रमाणित गरे । । पारस टुर्नामेन्टका प्लेयर अफ दि सिरिज पनि भए ।
एसियाली क्रिकेट काउन्सिल(एसिसी) ट्रफी एलिट कप एसिसीको सबैभन्दा ठूलो प्रतियोगिता हो । यो नेपालले खेलेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता पनि हो । सन् १९९६ देखि यस प्रतियोगितामा सहभागी हुन थालेको नेपाल अहिलेसम्म यसको विजेता भने बन्न सकेको थिएन, तापनि यसपटक भने सहविजेता बन्न सफल भयो । सिनियर लेभल क्रिकेटमा नेपालको यो नै अहिलेसम्मको ठूलो उपलब्धि हो ।
एसिसी ट्रफीमा मात्र होइन, एसिसीका अन्य प्रमुख सिनयर प्रतियोगितामा पनि नेपाल उपाधिविहीन नै रहँदै आएको थियो । चारपटक एसिसी यु–१९ को उपाधि जित्नुका साथै यु–१६ बाहेक एसिसीका अन्य सबै उमेरस्तरका प्रतियोगिताको उपाधि जितेर लामो समयदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा ठूलो सम्भावना देखाएको नेपाल सिनियर क्रिकेटमा राम्रो प्रदर्शन गर्न नसकेपछि ठूला अवसरबाट वञ्चित हुँदै आएको हो ।
आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन फोरमा विजेता बन्दै डिभिजन थ्रीमा उक्लिएर नेपाली सिनियर टोली सन् २०१५ को एकदिवसीय विश्वकप खेल्ने अभियानमा कायम रहेपछि भने नयाँ सम्भावनाका क्षितिज उघ्रेका छन् ।

प्रतिक्रिया