उच्चस्तरीय टोलीद्वारा छानबिन सुरु

जनकपुर, २७ असोज । धनुषामा गरिबको आर्थिक स्तर उकास्नका लागि सञ्चालित गरिबी निवारण कोषको रकम अनियमितता भएको खुलासा भएपछि छानबिन सुरु भएको छ । छानबिनका लागि जनकपुर आएका उच्चस्तरीय टोलीले शुक्रबारबाट छानबिनको काम सुरु गरेको हो ।
छानबिनका क्रममा टोलीले लोहना गाविसस्थित पासवान वस्तीको सल्हेश सामुदायिक संस्थामा पुगेका थिए । समुदायका व्यक्तिहरूसँग रकम अनियमितताका विषयमा सोधपुछ गरेको टोलीका सदस्य एवं गरिबी निवारण कोषका बोर्ड सदस्य  दुर्गा न्यौपानेले जानकारी दिए । उनले छानबिनका क्रममा अनियमितता भएको पाइए जुनसुकै संस्थालाई कारबाही प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।
धनुषाको गैरसरकारी संस्था फेथ नेपालले गरिबी निवारणका लागि आएको लाखौँ रकम अनियमितता गरेको तथ्य बाहिर आएपछि राजधानीबाट उच्चस्तरीय अनुसन्धान टोली जनकपुर आएको हो । बुधबार राति जनकपुर आइपुगेका टोलीले बिहीबार धनुषाका राजनीतिक संयन्त्रका पदाधिकारी, सिडिओ, एलडिओलगायत सरोकारवालालाई अनियमितता सम्बन्धमा जानकारी गराएका थिए ।

प्रतिक्रिया