पुन:स्थापनाका लागि पूर्वसभासद्को सक्रियता

काठमाडौं, २६  असोज । राजनीतिक दलहरूले नयाँ चुनावमा जाने सहमतिबाट पछि हट्ने संकेत गरेपछि संविधानसभा पुन:स्थापना पक्षधर पूर्वसभासद् पुन: छलफलमा जुटेका छन् । विघटित संविधानसभा भवनमा बिहीबार बसेको पुन:स्थापना पक्षधर एमाओवादी, कांग्रेस, एमालेलगायत दुई दर्जन दलका पूर्वसभासद्को भेलाले पुन:स्थापना नै उत्तम विकल्प भएको निष्कर्ष निकालेका छन् ।
‘पुन:स्थापनाबाहेक कुनै पनि विकल्पबाट राजनीतिक निकास निस्कँदैन भन्नेमा हामी अधिकांश सभासद् एकमत छौँ,’ कांग्रेसका पूर्वसभासद् मोहनप्रसाद पाण्डेले भने, ‘निर्वाचनमा जान पनि पुन:स्थापना नै गर्नुपर्छ । कार्यकारिणीबाट संविधान संशोधन गरे ठूलो राजनीतिक संकट निस्कन्छ ।’
पुन:स्थापनाविरोधी अभिव्यक्ति मुलुकको हितमा नभएको पाण्डेले बताए । नयाँ संविधानका विवादित विषयमा सहमति जुटाई पुन:स्थापनामा जानु उत्तम विकल्प भन्नेमा अधिकांशको एकमत रहेको जानकारी उनले गराए ।
उनका अनुसार प्रमुख दलका शीर्ष नेतालाई बोलाइए पनि उनीहरू भेलामा सहभागी भएनन्  विघटित संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई प्रमुख अतिथि बनाएर छलफल गर्ने भनिए पनि उपाध्यक्ष पूर्णकुमारी सुवेदी मात्र उपस्थित भइन् ।
छलफलपछि एमालेका पूर्वसभासद् भीम आचार्यले संविधानसभा निर्वाचनमा जान पनि पुन:स्थापना जरुरी भएको बताए । सहमतिको सरकारका लागि पनि संसद् चाहिने भन्दै आचार्यले भने, ‘बाहिर मात्र सरकार हट्नुपर्‍यो भनेर रोइकराइ र आन्दोलन गर्छौं मात्र भनेर हुँदैन । सविधानसभा पुन:स्थापना गरी सरकार बदल्नुपर्छ । संविधान संशोधन गरी निर्वाचनमा जानुपर्छ ।’
एमाओवादीबाट छुट्टिएको
नेकपा–माओवादीसमेत आºनो दललाई छुट्टै पार्टीको मान्यता दिइए पुन:स्थापनाको पक्षमा उभिने भएको छ । पार्टी प्रवक्ता एवं पूर्वसभासद् पम्फा भुसालले संविधानसभा पुन:स्थापना भए १४ जेठपछि बनेका नयाँ पार्टीलाई छुट्टै राजनीतिक दलको मान्यता दिनुपर्ने बताइन् ।
उनीहरूले विघटित संविधानसभाका बहुमत सदस्य पुन:स्थापनाको पक्षमा रहेको उल्लेख गर्दै दसैँपछि दुईतिहाइ पुर्‍याउने दाबी गरेका छन् । भेलामा सहभागीले पुन:स्थापनाको विकल्प नभएको भन्दै यसका लागि शीर्ष नेतृत्वलाई दबाब दिनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया